सचिवालयका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठक प्रभावित
संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको थियो। तर कर्मचारी आन्दोलनमा उत्रिएपछि मध्याह्नसम्म पनि बैठक बस्न सकेको छैन।
सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक बस्न नसकेको प्रवक्ता एकराज गिरीले बताए। अहिले कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भइरहेको छ।
आन्दोलनरत कर्मचारीसँग सहमतिको प्रयास भइरहेको उनले बताए। कर्मचारीसँगको वार्ता सकिएपछि प्रतिनिधि सभाको बैठक शुरू हुने गिरीको भनाइ छ।
विभिन्न सेवा र सुधारका माग राखी सचिवालयका कर्मचारी २० दिनदेखि आन्दोलन गरिरहेका छन्। उनीहरूले अतिरिक्त समयमा गरेको कामको सेवासुविधा पाउनुपर्ने लगायत ११ वटा माग राखेका छन्।