दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा
घरेलु टोली वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
विश्वकपको ‘सुपर-८’ अन्तर्गत सोमबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको छ। वर्षाका कारण १७ ओभरमा घटाइएको खेलमा १२३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर नतीजा आफ्नो पक्षमा पारेको हो।
दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिक क्लासेनले २२, मार्को जानसेनले २१, एडेन मारक्रमले १८ र क्विन्टन डीककले १२ रन बनाए। वेस्ट इन्डिजका लागि रोस्टन चेसले तीन, आन्द्रे रसेल र अल्जारी जोसेपले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन बनाए।
त्यस्तै, काइल मेयर्सले ३५, आन्द्रे रसेलले १५ र अल्जारी जोसेपले ११ रन बनाए। दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले तीन, मार्को जानसेन, एडेन मारक्रम, केशव महाराज र कागिसो रबाडाले एक-एक विकेट लिए।
योसँगै समूह २ बाट दक्षिण अफ्रिका तीनै खेल जितेर ६ अंक सहित शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै, गए राति भएको खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।
अब समूह १ बाट भने चारै टोली सेमिफाइनलको प्रतिस्पर्धामा छन्। समूहको शीर्षस्थानमा रहेको भारतको चार अंक छ भने अस्ट्रेलिया र अफगानिस्तानको दुई-दुई अंक छ। त्यस्तै, बाङ्लादेशले अंक जोड्न सकेको छैन।
आज राति ८:१५ बजे भारत र अस्ट्रेलियाले तथा मंगलबार बिहान ६:१५ बजे अफगानिस्तान र बाङ्लादेशले प्रतिस्पर्धा गर्नेछन्।