मेलम्चीको बाढीले अस्थायी पुल बगायो
गए राति मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ।
बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताए। २०७८ सालको बाढीले पुल बगाएको थियो। त्यो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।
मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो। पुल बगाएसँगै आवतजावत अवरुद्ध भएको मेयर तामाङले बताए।
पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ। मेलम्ची नगरपालिकाका मेयर तामाङका अनुसार वर्षा शुरू भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको छ। अब ह्युमपाइप झिकेर सुरक्षित राखिने उनले बताए।