‘मूर्खमण्डली’ को मारमा परेका ज्ञानमणि गुरु
नेपालको इतिहास लेखनमा ज्ञानमणि नेपालको विशिष्ट योगदान भए पनि उहाँको उचित मूल्यांकन र कदर भएको पाइँदैन।
दिनेशराज पन्त
नेपालको इतिहासलाई प्रामाणिक बाटोमा डोर्याउन अनवरत साधना गरेका एक महत्त्वपूर्ण साधक हुनुहुन्थ्यो, ज्ञानमणि नेपाल। उहाँले नेपालको इतिहासका विविध पक्षमा प्रकाश पार्नुभयो। इतिहास अन्वेषणमा उहाँको यति लगाव थियो, अस्पतालमा उपचाररत रहँदा मृत्यु हुनुभन्दा एक दिनअघि पनि ‘मलाई घर लग, किताब पूरा गर्नु छ’ भन्नुभएको उहाँका जेठा छोरा सन्तोषमणि नेपाल र उहाँका भाइ एकमणि नेपालबाट सुनेको थिएँ। त्यस्तो सिकिस्त बिरामी अवस्थामा पनि इतिहास लेखनप्रति उहाँको चासो देखेर डाक्टरहरू समेत अचम्मित थिए रे।
उहाँ मेरा गुरुस्थानीय हुनुहुन्छ। म ज्ञानमणि गुरु नै भन्छु, उहाँलाई। उहाँमा सबैसँग मिल्न सक्ने गुण थियो। उहाँसँग मेरो पारिवारिक भावको सम्बन्ध थियो। उहाँको डेरामा पटक पटक पुगेको थिएँ।
ज्ञानमणि गुरु मूल सामग्रीमै केन्द्रित रहेर इतिहासको परिशीलन गर्नुहुन्थ्यो। इतिहासको साथसाथै भाषा, साहित्य र संस्कृति जस्ता विषयमा पनि उहाँले कलम चलाउनुभयो। विशेषतः इतिहास विधा उहाँको रुचिको विषय भएकाले भाषा, साहित्य र संस्कृतिमा काम गर्दा पनि तिनका मूल दस्तावेजसम्म पुगेर रौंचिरा केलाएर अध्ययन गरी प्रस्तुत गर्ने उहाँको बानी थियो।
उहाँको भाषाशैली पनि एकदम सरल र सरस छ। उदाहरणका रूपमा उहाँको पुस्तक नेपालको महाभारतलाई लिन सकिन्छ। यो पुस्तक ऐतिहासिक हिसाबले त महत्त्वपूर्ण छँदै छ, तथ्यमा आधारित हुने इतिहास जस्तो विषयलाई साधारण पाठकले समेत बुझ्ने गरी सरल र सरस रूपमा लेख्नु उहाँको विशिष्टता हो।
गुरुकुल शिक्षा
मेरा पिताजी नयराज पन्तले काठमाडौंमा गुरुकुलीय पद्धति अनुसार पढाउने संस्कृत पाठशाला स्थापना गर्नुभएको थियो। यसको नाम भने राख्नुभएको थिएन। ज्ञानमणि गुरुले यही पाठशालामा शिक्षा लिनुभयो। उहाँ मेरा पिताजीको सम्पर्कमा आउन विभिन्न संयोगले काम गरेको थियो।
ज्ञानमणि गुरुका हजुरबुबा पण्डित वैयाकरण नेपाल र पिताजी पण्डित भानुभक्त नेपाल हुनुहुन्थ्यो। हजुरबुबा आफ्नो समयमा भोजपुरतिर कहलिएका पण्डित हुनुहुन्थ्यो। ज्ञानमणि गुरुले मध्यमा तह सरहको शिक्षा घरमै प्राप्त गर्नुभएको थियो। सम्भवतः उहाँले आफ्ना पिताजीबाटै केही ज्ञान प्राप्त गर्नुभयो। पछि आफ्ना मामा जयदेव अधिकारीसँग पढ्नुभयो।
जयदेव मेरा पिताजी नयराज पन्तको मध्यमा तह पढ्दाका सहपाठी र साथी हुनुहुँदो रहेछ। भोजपुरबाट काठमाडौं आएर धेरै पढ्ने ज्ञानमणि गुरुको विचार थियो। जयदेवसँग मेरा पिताजीको सम्बन्धले उहाँलाई पाठशालाको सम्पर्कमा ल्यायो।
त्यस्तै, मेरा पिताजीका साथी लक्ष्मीप्रसाद पोखरेल स्कूल स्थापना गर्ने लगायत शैक्षिक काममा क्रियाशील हुनुहुन्थ्यो। उहाँको कारणले पनि ज्ञानमणि गुरु मेरा पिताजीको सम्पर्कमा आउनुभयो र पछि श्रेष्ठ चेलाहरूमध्ये पर्नुभयो।
ज्ञानमणि गुरुले मेरा पिताजीको पाठशालामा पढे पनि उहाँ संशोधन-मण्डलमा चाहिं किन अटाउनुभएन त भन्ने प्रश्न उठ्न सक्छ। संशोधन-मण्डलका संस्थापक मेरा पिताजी र ज्ञानमणि गुरुबीच सद्भाव नभएर त्यसो भएको होइन। उहाँहरूबीच राम्रै सम्बन्ध थियो। राम्रो सम्बन्ध भएका चेलाहरूमध्येमै पर्नुहुन्छ उहाँ। गुरु र चेलाबीच इतिहासका विषयमा छलफल र विमर्श पछिसम्म पनि भइरह्यो। तर संशोधन-मण्डल स्थापना हुँदा ज्ञानमणि गुरु काठमाडौंमा नहुनुभएका कारण उहाँ यसमा छुट्नुभएको हो।
उहाँले गुरुकुलीय पाठशालामा विसं २००४ देखि २०१२ सम्म पढ्नुभयो। पढाइ पूरा गरे लगत्तै भोजपुर फर्किनुभयो। त्यहाँ पिताजीकै जस्तो गुरुकुलीय पद्धतिमा पढाउने पाठशाला खोलेर बस्नुभयो। त्यही किसिमको पाठशाला भोलानाथ पौडेल गुरुले ललितपुरको लुभुमा चलाउनुभएको थियो।
संशोधन-मण्डलले इतिहास संशोधनका रूपमा विसं २००९ असोज ५ गते काम शुरू गरेको हो। तर शुरूमा यसको पनि नाम राखिएको थिएन। यो अरूले नै जुराइदिएको नाम हो। धेरैले इतिहास संशोधन-मण्डल भनेपछि यही नाम रहन गयो। विसं २०१८ मा संशोधन-मण्डल नामकरण गरी २०२० मा संस्था दर्ता भयो। त्यस वेला ज्ञानमणि गुरु काठमाडौंमा हुनुहुन्नथ्यो। यस संस्थाले पञ्चांग, व्याकरण, ज्योतिष, गणित, संस्कृति लगायत विविध विषयमा काम गरे पनि बढी चाहिं इतिहासमै जोडियो।
पिताजीका अरू चेलाभन्दा उहाँसँग मेरो कम संगत भयो। किनभने म ६ वर्षको छँदा विसं २०१२ मा ज्ञानमणि गुरु भोजपुर फर्किसक्नुभएको थियो। पछि विसं २०१४/१५ तिर उहाँ एक पटक काठमाडौं आउनुभएको सम्झना हुन्छ। त्यसपछि एकै चोटि विसं २०३३ मा आउनुभयो।
ज्ञानमणि गुरुले भोजपुरमै संस्कृत पाठशाला मात्र चलाउनुभएन, इतिहास विकास समिति नामक संस्था पनि स्थापना गर्नुभएको थियो। यस संस्थाबाट केही किताब प्रकाशन भएका छन्। पछिल्लो कालमा उहाँको हजुरबुबाको नाममा वैयाकरण नेपाल स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको थियो।
अनुसन्धानमा सहयोग
ज्ञानमणि गुरुलाई खोज अन्वेषणका क्रममा कतिपय अवस्थामा सामग्री उपलब्ध गराएर मैले सहयोग गरें। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)मा काम गर्दा उहाँले उदयानन्द अर्ज्यालको पृथ्वीन्द्रोदय महाकाव्यबारे अध्ययन गर्नुभयो। त्यस सम्बन्धी व्याख्या सहितको किताब प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशन गर्नुभयो। त्यो कृति खोज्न मैले पनि सहयोग गरेको थिएँ। त्यो महाकाव्य परराष्ट्र मन्त्रालयमा भेटिएको थियो। त्यही मौकामा मन्त्रालयमा मैले साढे दुई लाख दस्तावेज पढ्ने मौका पाएँ।
ऐतिहासिकहरूले एउटै विषयमा पनि आआफ्नो ढंगले अनुसन्धान गरिरहेका हुन्छन्। अनुसन्धान भइसकेका विषयमा पनि पछिका विद्वान्ले अनुसन्धान गर्छन्। त्यस क्रममा थप तथ्य प्राप्त हुन सक्छ। नयाँ भेटिएका तथ्यले पहिले लेखिएका लेख या कृतिको खण्डन गर्छन्। ज्ञानमणि गुरुका इतिहास लेखनप्रति पनि मेरा खण्डन नभएका हैनन्। मेरै किताबप्रति पनि मेरा विमति छन्। उदाहरणका लागि मैले विसं २०३७ देखि गोरखाको इतिहास लेख्न शुरू गरें। विसं २०४१ देखि २०५० सम्ममा यसका चार भाग प्रकाशन भएका छन्। यसै विषयमा अरू विद्वान्हरूले पनि नयाँ नयाँ अनुसन्धान गरिरहनुभएको छ। यसबाट फरक फरक तथ्य र तर्क आएका छन्। जसका कारण मेरै किताबमा पनि अहिले मेरो विमति छ।
पत्रपत्रिकामा आएका लेखमा इतिहासको कुरा त्रुटि देखें भने त्यो लेख थप पढ्न म सक्दिनँ। कतिपय अवस्थामा खण्डन पनि गर्दै आएको छु, नागरिक दैनिक मार्फत। एउटा गलत तथ्यले हजारौं मानिसलाई भ्रममा पार्छ भन्ने मलाई लाग्छ।
संशोधन-मण्डलको पद्धति भनेकै प्रमाणका आधारमा लेख्ने हो। ज्ञानमणि गुरुले पनि प्रमाणकै आधारमा लेख्नुभयो। उहाँले मूल प्रमाण हेरेर पनि कहिलेकाहीं आफ्नो अशुद्धि नस्विकार्ने गरेको अनुभव मलाई हुन्छ, जुन उहाँको भूलवशको त्रुटि हुन सक्छ। मूलतः पद्धतिमै जाने हुनाले उहाँका लेखनमा कम त्रुटि भेटिन्छन्।
इतिहास लेखनमा योगदान
नेपालको इतिहास लेखनमा ज्ञानमणि गुरुको महत्त्वपूर्ण स्थान छ। विशेषतः लिच्छविकालदेखि शाहकालसम्मका इतिहासमा उहाँले कलम चलाउनुभएको छ। नेपालको पूर्वमध्यकालको इतिहास, नेपाल-भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष, नेपालको महाभारत, नेपाल निरुपण लगायत उहाँका कृति प्रख्यात छन्। प्रमाणलाई जोड दिएर लेख्ने हुनाले उहाँका कृति आधिकारिक छन्। जुनसुकै इतिहासकारले लेखे पनि नेपालको इतिहासको मूल प्रमाण एउटै हुने भएकाले व्याख्यामा मात्र फरक पर्ने हो, तथ्यमा फरक हुँदैन।
उहाँले नेपालको इतिहास मात्र होइन कि, संस्कृत वाङ्मयमा पनि उत्तिकै योगदान गर्नुभएको छ। भैरवानन्द (नाटकः जयस्थिति मल्ल), महिरावणवध (नाटकः जयत) लगायत किताबको अनुवाद र व्याख्या गर्नुभएको छ। त्यस्तै, नेपाली साहित्य र वाङ्मयमा पनि धेरै कृति लेख्नुभएको छ। आफ्ना हजुरबुबाका किताब पनि सम्पादन र प्रकाशन गर्नुभएको छ।
उहाँले नेपाल राष्ट्रको नाम कसरी रह्यो भन्नेबारे ऐतिहासिक तर्कका आधारमा प्रमाण सहित लेख्नुभयो। विसं २०४० मा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट छापिएको किताब नेपाल निरुक्तमा नेपाल शब्दको व्युत्पत्तिबारे ज्यादै प्रामाणिक ढंगबाट तथ्य, प्रमाण पेश गर्नुभएको छ। उहाँले लेखेको यस विषयमा पछिका केही विद्वान्ले थप प्रमाणको खोजी गरे पनि अहिलेसम्मको अनुसन्धानले उहाँले पेश गरेको मूल तथ्यमा फरक पार्न सकेको छैन।
नेपाल निरुक्त उहाँले ठूलो परिश्रम गरेर लेख्नुभएको हो। उहाँलाई श्रेय त दिइएको छ, तर दिनुपर्ने जति दिइएको छैन जस्तो लाग्छ। हाम्रो देशमा आफूभन्दा फरक दायरामा बसेर काम गर्नेहरूलाई त्यति महत्त्व नदिने प्रवृत्ति छ। संशोधन-मण्डलको पद्धतिका मानिसलाई त झनै गनिंदैन। उहाँलाई जुन तहको कदर गरिनुपर्थ्यो, त्यस रूपमा उचित मूल्यांकन र सम्मान भएन। उहाँ ‘मूर्खमण्डली’ को मारमा पर्नुभयो।
ज्ञानमणि गुरुको बहुआयामिक व्यक्तित्व थियो। नेपालको मात्र होइन, उहाँले सिक्किमको इतिहासमा पनि काम गर्नुभयो। उहाँको सुखिमको इतिहास किताब प्रख्यात छ। इतिहासमा उहाँले धेरै काम गर्नुभएको छ। उहाँका अप्रकाशित कृतिहरू पनि प्रकाशन गर्नुपर्छ।
(ऐतिहासिक पन्तसँग गोविन्द न्यौपानेले गरेको कुराकानीमा आधारित।)
यो पनि पढ्नुहोस् :