जसपा, नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले असार ९ गतेदेखि नै लागू हुने गरी सरकारलाई दिएको समर्थन लिएको बताइन्। पार्टीको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको काफ्लेको भनाइ छ।
आजैदेखि जसपा, नेपाल प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको उनले जानकारी दिइन्। जसपा, नेपालबाट चार सांसद निर्वाचित भएका थिए। सांसद भण्डारी लाल अहिर र आदेश अग्रवालले अशोक राईको नेतृत्वमा नयाँ बनेको जसपा रोजेका छन्। अहिर कृषिमन्त्री छन्।
जसपा, नेपालसँग भने दुई सांसद छन्। उसले समर्थन फिर्ता लिए पनि सरकारलाई असर पर्दैन।