तरीका मिल्यो भने पूरै अवधि प्रधानमन्त्री बसिन्छ : दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई हटाउन सजिलो नभएको र तरीका मिलेमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।
काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नेकपा (माओवादी केन्द्र)सँग जादूमय संख्या भएको जिकिर गरे। विभिन्न कारणले संसद्मा माओवादीको जादूमय नम्बर भएको बताउँदै दाहालले भने, “थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादूवाला नम्बर छ। त्यो जादूले अनेक गरेर मिलाइहाल्छ।”
२७५ सदस्यीय प्रतिनिधि सभामा माओवादीको ३२ सीट छ। नेपाली कांग्रेसको ८८ र नेकपा (एमाले)को ७९ सीट छ। तेस्रो ठूलो दलका रूपमा रहेको माओवादीले कांग्रेस र एमालेको जुन गठबन्धनमा गयो, त्यतैतिर सरकार बनाउन बहुमत पुग्न अवस्था छ। दाहालले त्यसैलाई जादूवाला नम्बर भनेका हुन्।
महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको जिकिर गरे। “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदै छ रे भनेर दुविधा उत्पन्न गराउने कोशिश भएको देख्छु, तर हामीलाई हटाउन सजिलो छैन,” दाहालले भने।
आफू प्रधानमन्त्री भएको दिनदेखि नै धेरै दिन टिक्दैन भनेर हल्ला गरिएको स्मरण गराए। आफूले पनि पटक पटक धेरै दिन बस्न दिंदैनन् भनेको उल्लेख गरे।
“जति दिन बसिन्छ, सामाजिक न्यायका निम्ति काम गर्ने हो। जति दिन बसिन्छ, समृद्धिका निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो। तर म बसेकै छु,” प्रधानमन्त्री दाहालले थपे, “मैले जे देखेको छु, सबै परिस्थिति। तरीका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन।”
तथापि आफू राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति जहिल्यै इमानदार रहेको उनको भनाइ थियो। भ्रष्टाचार विरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको दाहालले बताए।