प्रधानमन्त्रीलाई मन्त्रीले पनि टेर्दैनन् : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रीले पनि टेर्न छाडेको बताएका छन्।
काठमाडौं ६ ‘क’ को कांग्रेस क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालले सरकारलाई सम्हाल्न नसकेको जिकिर गरे। “कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले पनि प्रधानमन्त्रीलाई टेर्दैन,” थापाले उदाहरण दिंदै भने, “प्रधानमन्त्रीले संसद्मा बोल्दा मन्त्री आउँदैन। उपप्रधानमन्त्री आउँदैन। मन्त्रीले खल्तीबाट राजीनामा दिऊँ भनेर थर्काउँछ।”
प्रधानमन्त्री दाहालको हालत राम्रो नभएको उनको भनाइ थियो। “लुते प्रधानमन्त्रीले कसरी सम्हाल्छ?” थापाले भने, “मन्त्री र मुख्यमन्त्रीले टेर्दैनन्।”
अहिले सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्रीलाई थर्काउने गरेको थापाको भनाइ थियो। उनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको उदाहरण दिए।
भौतिक पूर्वाधारमन्त्री महासेठले बजेट निर्माणका वेला थर्काएर आफ्नो क्षेत्रमा योजना पारेको उनको भनाइ थियो। “बाले त्यस्तै मन्त्री पठाउनुभएको छ। बालाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने,” महामन्त्री थापाले थपे, “भौतिकमन्त्री अर्थ मन्त्रालयमा ‘ग्याङ’ लिएर जानुभएको छ। राति गएर २५ अर्ब आफ्नो क्षेत्रमा हाल्नुभएको छ।”
सत्तारूढ गठबन्धनमा रहेका दलले नै सरकारको जिम्मा लिन नसकेको उनको भनाइ थियो। जसले गर्दा प्रधानमन्त्री दाहालले गुनासो मात्रै गरिरहेको थापाले जिकिर गरे। “एमालेले यो सरकारको जिम्मा लिंदैन। घन्टीले पनि लिंदैन,” उनले भने, “यो वेलामा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने हो, तर अहिले आफै गनगन गरेको छ, रोएको छ।”
अहिले कांग्रेस सरकार फेरबदलमा नलग्ने बताए। आउँदो चुनावसम्म कांग्रेस सरकारमा जान नहुने थापाको भनाइ थियो।