एकीकृत समाजवादीको महाधिवेशनका लागि १८ सय प्रतिनिधि छनोट
नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट भएका छन्।
यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट प्रतिनिधि छानिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले बताइन्। महाधिवेशनका लागि एक हजार ८४९ प्रतिनिधिको व्यवस्था गरिएको भए पनि केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले ४९ प्रतिनिधि छनोट गर्न बाँकी छ।
अधिकांश स्थानमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएको पन्तले बताइन्। केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको उनको भनाइ छ।
महाधिवेशन आयोजक समितिका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करीब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन्। यसअघि केन्द्रीय नेता पनि चुनिएर आउनपर्ने निर्णय गरिएको थियो। पछि संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो।
छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधिको मनोनयन गरिने एकीकृत समाजवादीले जनाएको छ।
नेकपा (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। संघीय संसद्मा १० र राष्ट्रिय सभामा आठ सदस्य रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ।