गाउँ आएको बाटो : नोस्टाल्जिक मन र मस्तिष्क
रिसलाई आफूभित्रै बुन्ने, सुन्दर फिपीबाट हुने कमाइको कल्पनामा रमाउने बुज्झकी माइलाले आफ्नो जीवनको क्षतिमा माध्यम बनेको बाटोमा गुड्ने बस चढेर किन गाउँ छोड्यो?
गाउँ आएको बाटो बन्दै छ भन्ने सुन्दा नवीन सुब्बाद्वारा निर्देशित गुडबाई काठमाडौंलाई जस्तै पर्खिनुपर्ने त हैन भन्ने लागेको थियो। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शनी गरिएको भए पनि म निश्चिन्त हुन सकेकी थिइन। ‘प्रिमियर शो’ पश्चात् पनि यो सिनेमा हेर्न जाने मेरा अन्य साथी, नातेदारसँगै घरीघरी हलमा पुगें, लेख्न सकिनँ।
जति पटक हेरे पनि यसले ‘प्रिमियर शो’ मा हेर्दाको अनुभूतिलाई बदलेन। सिनेमामा आफ्नो आप्पालाई ‘म त एकै दिनमा पुगिदिन्छु’ भन्ने बिन्द्रे धरान नपुगे जस्तै सिनेमा तेस्रो सातामा जाँदासम्म पनि मैले ‘केही’ लेख्नै सकिनँ।
एकछिन दुगुरे जस्तो हो?
बिन्द्रेले धरान कुदेर एकै दिन पुग्छु भन्दा माइला राई प्रश्न गर्छ, ‘एकछिन दुगुरे जस्तो हो?’
त्यो लवज मैले पहिलो चोटि सामाजिक सञ्जालमा व्यापक गराइएको ‘ट्रेलर’ मा सुनें। पापालाई सम्झें। त्यो आवाज, त्यो शैली, त्यो मिठास त म र मेरा पापाको कुराकानीको पो हो त! कल्पना नै सही, मेरो मन त्यो मिठास भेट्न काँचका पर्दामा देखिएका ती बाटाहरूमा दौडिरह्यो।
दौडेको मन बाल्यकालमा हरेक वर्ष भाइसँग पुस-माघको हिउँदे बिदा बिताउने कोटाचुङको वरडाँडामा रहेको मावली कोमाको घर पुग्यो। गाउँ चाहिं भोजपुरको छिनामखु, हाल टेम्केमैयुङ गाउँपालिका-२।
बर्सेनि एक महीना मास्तिर मुनबालामा काकालाई खबर गरेर हाम्रो घर हेर्न जान्थें। गाउँकै दाँवले दिदीसँग दाउराको झिक्रा टिप्न जान्थें, धारामा गाग्रीसँगै ढुनमुनिंदै तल्लो कान्लामा लडे पनि पानी बोक्ने रहर गर्थें। उनलाई नुहाउन-लुगा धुन रिट्ठा कुट्न सघाउँथें।
कान्छा देमाका छोराहरू मास्तिरबाट आउँथे। भाइ टोली सुन्तला टिप्दै, माटोको गुरे बनाउँदै, गीत गुनगुनाउँदै वरडाँडा वरिपरि खेल्थ्यो। म बाटाको चिहानमा पल्टेर उनीहरूको गोठाला हुन्थे। आफूले पक्रेको भ्यागुताको खुट्टा चोयाको छेस्काले काटिदिंदा उनीहरूलाई लखेट्थें। त्यतिखेर बिन्द्रे र उसका साथीको शैलीमा नै म आफ्नो भाइसँग लड्थें।
गाउँको विद्यालयमा हिउँदे बिदा हुँदैनथ्यो। त्यसैले कोमाले हामी दुवैलाई मास्तिर देवीथान डाँडाको त्रिभुवन धर्मोदय विद्यालयमा पठाउनुहुन्थ्यो। म दिदीकै कक्षामा गएर बस्थें। बिन्द्रेको स्कूलको मास्टर जस्तै त्यहाँका केही मास्टर पनि ‘यो पढ्दै गर्नू’ भन्दै कक्षाबाट फुत्त निस्केर जानुहुन्थ्यो।
दयाहाङ राई उर्फ माइला राईको त्यो एक लवजले बाल्यकालका ती सबै क्षणलाई ब्युँताइदियो।
के पो खोज्दै छौं को?
दोस्रो, स्थानीय चुनाव ताका म ४८ घन्टाका लागि गाउँ गएकी थिएँ। सदरमुकामस्थित विमानस्थलबाट भाइ शिवजीको बाइकमा गाउँ पुगें। २२ वर्षअघिको समयमा हात समात्दै गाउँको उकालो-ओरालो-गोरेटो छिचोल्न मद्दत गर्ने भाइले भन्यो, “नानौ, बाटोले निकै सजिलो त तपाईंहरूलाई पनि भयो। तपाईंको हिंडाइले त राति मात्र घर पुग्नुहुन्थ्यो।’
गाउँमा मेरा मावली दिमाहरूभन्दा पनि जेठो वरको रूखको जरा उधिनेर दुई फुस्रे बाटाहरू बनेका रहेछन्। “यही हो विकास,” आमा फिस्स हाँस्नुभयो।
मेरो गाउँको कम्तीमा पनि पाँचपुस्ते चर्तिकला देखेको त्यो अजंगको वरको रूख र दक्षिण कोरियाले ऐतिहासिक-सांस्कृतिक धरोहर मान्दै संरक्षण गरेको रूखको उमेर करीब करीब उस्तै हो। तर त्यो धुलाम्मे बाटो खन्दा जर्जर भएको वरको रूख अब कति समय पो बाँच्ला?
आमाले सदरमुकाम-छिनामखु-पहाडी राजमार्गमा जोडिने बाटाको विस्तार हुँदा श्याम मामाजीको चिहान नरहेको बताउनुभयो। बाटो बन्दा मामाजीको चिहानलाई बेवास्ता गर्ने आफ्नैहरूसँग मन मर्यो।
आमा र म छिनामखुको कोयू राईले पुज्ने साकेला थानमा चढाउने पानी ल्याउने दह हेर्न गयौं। दह सुकेर सिमेन्टको धारा मात्र थियो। यहाँसम्म दह थियो भन्ने ठाउँबाट नै बाटो जान्छ।
मेरो घर जाने उकालो शुरू गर्ने ठूलो ढुंगा अझै रहेछ। वर्षौंअघि त्यही ढुंगाछेउ म अडिंदा शिवजी माइलाले ‘नानौ, काठमाडौंकोहरू बिजुली विना अँधेरोमा हिंड्नु सक्दैन कि नि? हाम्रो त जूनै हो बत्ती’ भन्दै हातले तानेर हुरुरु तल झारेको थियो।
बाटो बनाउने, बाटो विस्तार गर्ने भएपछि सांस्कृतिक, आर्थिक र पर्यावरणसँग जोडेर केही वर्षयता लिखित, मौखिक बहस, भौतिक झडप, धरपकड, सार्वजनिक चासोका मुद्दाहरू काठमाडौं लगायत स्थानमा भइरहेका छन्। यी सबका कुरूपता, पीडा र प्रतिरोधलाई फिल्मले कसरी उठान गरेछ भनेर हेर्ने उत्सुकता जाग्यो। त्यो उत्सुकता ‘ट्रेलर’ मा देखाइएको हतुवा-भोजपुर बाटोको एक ‘लङ शट’ ले जगाएको थियो।
कथावस्तुले उठान गरेका आदिवासी जनजातिको पारम्परिक सीपको अवमूल्यन र तिनको ज्ञानको क्षय, शैक्षिक वातावरण, वर्गीय समीकरण, बसाइँसराइ आदि मुद्दा गाउँमा बाटो जानुअघि पनि थिए। बाटो पुगिसकेपछि यी सबैको जालो के कति कारणले झनै बलियो भयो भन्ने विषयमा बहस, लेखन र अभिलेख राख्ने काम भइरहेको छ। बाटाकै कारणले ती सबैले टाउको उचाले भन्ने तर्कसँग भने सहमत हुन सकिंदैन।
भेट्लास् नि फेरि!
डाँडामा उभिएर हावामा दुई हात फैलाउँदै बाआआआब्बाआआआ (बाबा) बोलाउने बिन्द्रे उर्फ प्रसन राईको जीवनले मलाई मेरो भाइको मायालु सम्झना ताजा भयो। उसले आलु चश्मा लगाउँदा होस् वा कोक खाने आशमा लाहुरेको खुट्टा मिच्दा होस्, ती सबैमा बिन्द्रेको जीवन्त बालापनले मेरो भाइको बालापन आँखै अगाडि उभ्याइदियो।
बिन्द्रेकै उमेरको मेरो सन्तान छ। ऊ शारीरिक र मानसिक दुवै रूपमा परनिर्भर छ। सिनेमाको अन्त्यमा बज्ने आलांग्ने आलांग्ने ओ सानो मान्छेले मेरा दुई मान्छेलाई दुख्ने गरी नै सम्झायो। म त्यसरी दुख्नका लागि सिनेमा हल गएकी थिइनँ।
पशुपति राईको कामलाई ‘भजाइना मोनोलग्स’ को (योनिका कथाहरू)को पहिलो नेपाली थिएटर संस्करणमा देखें, यता उनको कामलाई पछ्याउने गर्छु। यस सिनेमाकी ‘फिमेल लिड’ हुँदाहुँदै पनि कथामा भने माइला राई र बिन्द्रेको जीवनमा उनी सहायक भूमिकामा छिन्। महत्त्व भएर पनि नेपथ्यमा नै रहन्छन् आमा र श्रीमतीहरू।
त्यसरी नै बिन्द्रेकी आमा राई माइली आफू कथाको रहलपहलमा रहे पनि निर्देशन-लेखन-सम्पादनले दिएको सीमित ‘स्क्रीन टाइम’ मा बिन्द्रेकी आमा अरू कोही बन्नै नसक्ने गरी पशुपतिले कुनै ‘शट’ खेर फालेकी छैनन्। माया, आशा, भरोसा र अनुशासनका रूपमा बिन्द्रेकी आमाको संवेगमा खरो उत्रेकी छन्, उनी।
माया, आशा, आड र साथ हो, जीवनसाथी। राई माईलीले माइलालाई अगाडि लाउन बखुबी साथ दिएकी छन्। यहाँसम्म कि कथाको ‘क्लाइमेक्स’ मा समेत ‘मेल लिड’ कै शोकमा मात्र निर्देशन एकोहोरिएको छ।
सन्तानलाई बिछट्टै माया गर्दा त्यो माया विषाक्त भएको भेउ नपाउने बाउ हो, राई माइला। कालान्तरमा सन्तानलाई जीवनमा आवश्यकता र विलासिता, लहड र अडान, सीप-सिर्जनशीलता र व्यावसायिकता सिकाउन नसकेका बाउहरूकै लहरमा भेट्टाइने बाउ हो, राई माइला।
दयाहाङका सिनेमा हेरिरहनेहरूका लागि उनले खेलेका डिग्री माइला, कबड्डी जस्ता फिल्मको घामट सुकुलगुन्डे छोरा र तिनलाई त्यस्तो बनिरहन दिने बाउहरूको प्रतिनिधित्व राई माइलाले गरेको छ। भविष्यमा दयाहाङलाई सिनेमामा भूमिका दिनुअघि निर्देशकहरूले उसको खूबी कि थिएटरमा हेरून् कि यही सिनेमामा हेरून्।
टीभी आउँछ त?
कथा बाहेकका प्राविधिक पक्षमा विशेषगरी ‘सिनेमाटोग्राफी’ र ‘कलरिङ’ अन्तर्राष्ट्रिय स्तरको छ। हाम्रो जीवनमा समय सिर्जित परिस्थितिमा निर्धारित हुने प्राथमिकता, बाह्य हस्तक्षेपले निर्देशित गर्ने ‘स्वनिर्णयहरूको’ द्वन्दमा संघर्षरत हामी सबैको कथा हो गाउँ आएको बाटो। त्यसैले यसलाई राईहरूको फिल्म भन्नु एक साम्प्रदायिक विचार हो। यस कथाको पात्र राई भएकाले उसको संस्कार, उसको जीवनपद्धति, उसको बोली, उसको भाषा आउनु स्वाभाविक हो र यसलाई ‘राईको कथा’ को फेटा बाँध्नु आवश्यक छैन।
तथापि गाउँ आएको बाटोमा देखिएको राईको संस्कार के हो?
फिल्ममा देखाइएको तीन चुलाको संस्कार राईहरूको आस्था हो। यससँग जोडिएको कर्म (संस्कार)लाई नै जीवनको सार मान्दै, पुज्दै आएकाहरूले पनि यसलाई राईहरूले नै हम्मेसी छुने, चलाउने आँट गर्दैनन्। त्यसैले यो सिनेमा बनाउँदा त्यस चुलोमा यस सिनेमाको कला निर्देशक जगदीश अधिकारीको पहुँच कसरी भयो? के त्यो सिनेमाका लागि मात्र बनाइएको चुलो हो?
त्यसमाथि झटाराले लडेको चुलालाई फेरि प्रतिस्थापन पनि गरेको छ। यसरी कुन चाहिं राईले आफ्नो मन र मस्तिष्कलाई निर्बाध रूपले हेर्न दिएछ, बढो खुल्दुली छ।
माइलाको झटाराले चुलो भत्किँदा माइलीले हतार हतार दुई हात जोडी माफी माग्दा छेउकी साथीलाई मैले खुसुक्क ‘ल यो त दु:खान्त रहेछ बुझिस्’ भनें। मैले पटक पटक यो सिनेमा हेर्दा कोही न कोही यो दृश्यमा हाँसेका छन्, तर त्यहाँ हाँस्ने कुरा के थियो? त्यो दृश्यले किन सबै दर्शकको मन चिसिएन?
राईको मृत्युकर्मको अर्को उल्लेख्य पक्ष मृतकको मृत्युको प्रकृति अनुसार उसलाई कहाँ गाड्ने हो तय गरिन्छ। अकाल वा भवितव्यमा मृत्यु भएकाहरूको शरीरलाई पुर्ख्यौली थलोमा गाडिंदैन। त्यसैले आपा-छोराको स्नेहको साक्षी त्यो सानो थुम्कोमा चिहान बन्छ। धामीलाई माध्यम बनाएर मृतकलाई पूर्ण रूपमा बिदा दिनुअघि बसाइने चिन्तामा उसको इच्छा सोध्दै संसार नै बेग्लै भएकाले अबदेखि भेटघाट र सम्झना केही नहुने बताइन्छ।
सिनेमामा यस पक्षलाई राईहरू बाहेक अन्यले पनि बुझ्ने गरी निर्देशनले निश्चय नै चित्रण गर्न सक्थे। तर त्यसो नभएकाले नै राईको संस्कारसँग अन्जानहरूका लागि यो मृत्यु संस्कारको दर्शन हराएको छ। त्यसैले यो सञ्चारमाध्यममा आए जस्तो जातिगत कोणले मात्र सिनेमा बनेको भन्नेहरूका लागि हाम्रो संस्कार फेरि पनि विषालु अर्धज्ञान बन्ने त होइन?
धरानमा फिपी बेच्न झरेको माइला बसपार्कमा रात बिताउँछ। बसबाट बाहिर हेरिरहँदा उसले देखिरहने युवतीको परिचय जान्न खोज्छ। माइला र ती युवतीबीचको संवादले दर्शकलाई के देखाउन खोजेको हो, बुझ्न अलि गाह्रै छ। सोझो बुझाइमा उसले ती युवतीमा आफ्नी हराएकी छोरी देख्यो भन्ने हो। तर कथामा माइला-माइलीकी छोरी हराएको झालाकझुलुकको उपकथाको तात्पर्य के हो भन्ने स्पष्ट नहुँदा यी दुईबीचको संवाद र दृश्यले लेखक-निर्देशक-सम्पादकको संकेत वा सन्देश के हो भन्ने बुझ्न उनीहरूसँगै गफिनुपर्ने आवश्यकता देखाउँछ। मेरो दिमागले अस्वीकार गरेको पक्ष यही रह्यो।
चित्रालाई जस्तै रिसलाई आफूभित्रै बुन्ने, सुन्दर फिपीबाट हुने कमाइको कल्पनामा रमाउने माइलालाई राम्ररी थाहा छ, उसको जीवन समयसँगै विकासको भाष्य बनेको बाटो गाउँ आउनुअघि, आउने क्रममा र आइसकेपछिको प्रक्रियामा सधैं सक्रिय रहेर ऊ जस्तैको रगत, पसिना, सपनालाई चुस्दै मोटाउने किर्ना जस्ता समाजका व्यक्ति र प्रशासनका लागि अनिच्छित उपस्थिति र आवश्यकता अनुसार चलाउने गोटी मात्र हो। यही बुझेर नै ऊ फलफूल र तरकारी खेतीको तालीम प्रस्तावलाई हावाको घर देख्छ, घरपारुवा रक्सी पार्ने-बेच्ने काममा आफू ‘प्रमुख’ कारिन्दा बनेको बुझ्छ र निरन्तरता दिंदैन।
यही बुझाइले नै ऊ आफ्नो श्रमको मोल किन्नेको तुजुक र आफ्नो आवश्यकता अनुसार चल्छ। यस्तो बुज्झकी माइलाले आफ्नो जीवनको क्षतिमा माध्यम बनेको बाटो गुड्ने बस चढेर किन गाउँ छोड्यो?
यो पनि पढ्नुहोस् :