एउटा विद्रोहीको विषादको कथा
जेबी दर्लामी लिखित मारीखोलाको ढुङ्गो माओवादी विद्रोहको परिणतिले मोहभंग युवाको कथा हो।
‘हरेक दिन घामको अनुहार दिक्कलाग्दो देखिन्थ्यो। ऊ ढिलो गरी उदाउँथ्यो र हतार गर्दै अस्ताउँथ्यो। हरेक रात हामीलाई एक जुग जस्तो लाग्थ्यो। कहिल्यै रात नपरे कति जाति हुँदो हो भन्न मन लाग्थ्यो। युद्धका दिन पनि रात जस्ता। युद्धमा के दिन के रात! उस्तै लामा, उस्तै चिसा, उस्तै अँध्यारा।’
यसरी माओवादी सशस्त्र विद्रोहको वेलाको वर्णन गर्दै मारीखोलाको ढुङ्गो शुरूआत हुन्छ। उपन्यासको कथावाचक माओवादी लडाकू हुन्। कथा उनकै वरिपरि घुमेको छ।
एक युवा आफ्नो भविष्य बनाउने वेलामा देशकै भविष्य बनाउने जिम्मेवारीबोध गर्दै ‘महान् गौरवशाली पार्टी’ प्रति अगाध श्रद्धाभाव पालेर ज्यान नै दाउमा राखी सशस्त्र विद्रोहमा होमिन्छ। तर समयक्रममा ‘महान् र गौरवशाली विद्रोह’ तुहिएको देख्छ। उसलाई ‘त्यो पवित्र विद्रोह जन्मेको भूमि’ प्रति नै वितृष्णा हुन थाल्छ र विदेशिन्छ। उसको हिजो के थियो र विदेशिएपछि भोलि के हुन्छ भन्ने नै उपन्यासको कथा हो।
प्रमुख पात्र कमरेड अलपत्रसँग सहानुभूति पैदा गराउँदै उपन्यास अघि बढ्छ। बाटामा बटुवा झैं सहायक पात्र भेटिंदै जान्छन्। तिनले पनि कथामा अब के होला भन्ने कौतूहल जगाइरहन्छन्।
माओवादी विद्रोहलाई एउटा ठूलो चित्र मान्ने हो भने यो उपन्यास त्यसको लघु अंश हो। जसमा माओवादीले के वाचा गरेको थियो, त्यो वाचा किन पूरा भएन भन्ने प्रश्नलाई सामान्य मान्छेका मनोभावबाट उधिनिएको छ।
ती सामान्य मान्छे कमरेड अलपत्र जस्तै अलपत्र परेका युवा हुन्। ती सामान्य मान्छे मीरा भुसाल जस्तै पात्र हुन् जसले अनाहकमा आफ्नो परिवारका सदस्य गुमाए।
कथावाचक अलपत्र विद्रोहमा लागेको तर पार्टीले अयोग्य भनी निकालेको कमरेड हो। त्यस्ता कतिपय कमरेडहरू कोही सत्तामा पुगे, कोही व्यवसायमा लागे, कोही भातभान्साको जोहो गर्न खाडी भासिए। अवसरलाई सदुपयोग गर्न माओवादीमा लागेर कमरेड भइटोपलेकाहरू पार्टी सिध्याउने सलह भएको कथावाचकको बुझाइ छ।
ऊ भन्छ, ‘पुराना र वास्तविक लडाकूहरू ती नयाँ मानिसको हुलमा मिसिएर हराउने अवस्था आयो। पाइला-पाइलामा विचारहीन मान्छे ठोक्किन थाले। हामीसँग भाषा नमिल्ने, उद्देश्य र कुरै नमिल्ने मानिसको संख्याले शिविर ढाक्यो। सलहले खेती ढाकेजस्तै।’ (पृ. ६७)
विद्रोहमा हतियार सहित लडेको कमरेड अलपत्र थ्री-नट-थ्रीको गोलीले बायाँ हत्केलालाई वारपार छेड्दा भएको घाउ निको भए पनि चुँडिएको कान्छी औंलाको भाग रित्तै रहेकोमा चित्त दुखाउँदैन। उसको चित्त दुखाइ छ, ‘निको भएको घाउको दाग अझै पनि गहिरो र डरलाग्दो छ।’
लेखकले माओवादी विद्रोहका कारण मरेका हजारौं मान्छे र घाइते तथा विस्थापित अन्य हजारौंका मनमा गढेको पीडाको खिल उखेल्ने प्रयास नभएकोमा असहमति जनाएका छन्।
कथावाचकले आफू लडिरहँदा नै पार्टी ‘सुप्रिमो’ को दिशाहीनताको चाल पाइसकेका संकेत गरेको छ। उसले पार्टी सुप्रिमोबारे गरेको टिप्पणी यस्तो छ, ‘हास्य कलाकारहरूले चिढ्याउँदा चिढ्याउँदा चर्चित थेगो त अलि कम भएछ, भुँडी भने पुट्ट लागेछ। गाला पनि उक्सिएछन्। शान्तिले खान पाएपछि त भुँडी लाग्न बेरै नलाग्दो रहेछ। बरु थेगो बढेर भुँडी घटेको भए हुन्थ्यो भन्ने चर्चा पनि कानेखुशी पाराले शिविरमा चल्यो।’ (पृ. ६९)
पार्टी कसरी भुत्ते भयो भन्ने पनि कमरेड अलपत्रले आकलन गरेको छ। किनभने पार्टीमा प्रश्न गर्ने परिपाटी संरचनागत रूपमै हरणमा पारिएको थियो। नेताको ध्यान देश बनाउने होइन, द्रव्य बनाउनेतर्फ लाग्यो। एक ठाउँमा लेखकले लेखेका छन्, ‘पार्टीभित्र प्रश्न राख्ने संस्कारको शुरूआत गर्न चाहने एक-दुई जना विचारशील कमरेडलाई त हामीले चारैतिरबाट घेरेर उहिले नै भुत्ते बनाइसकेका थियौं। प्रश्न गर्दा ज्यानै जानेसम्मको खतरा हुने नजीर हामीले पार्टीमा बसालिसकेका थियौं। (पृ.७०)
कथावाचकले एक ठाउँमा माओवादी युद्धका वेला जनताले उनीहरूलाई ‘अभावमा पनि हामीलाई आश्रय दिए, प्रेम दिए, सबथोक दिए’ भनेको छ। जनताले उनीहरूलाई गरेको प्रेम कति हार्दिक थियो वा कति बाध्यात्मक थियो भन्नेमा कमरेड अलमलमा थिए कि भन्ने पाठकलाई लाग्न सक्छ। तर कमरेडको झुक्यानमा पाठक नझुक्कियून् भन्ने आशय लेखकको छ।
उपन्यासको मूल प्रश्न नै यदि जनताको पवित्र भावना र साथ थियो भने त्यो साथ र सहयोग पाएको राजनीतिक शक्तिले किन जनआकांक्षा पूरा गर्न सकेन र उसले वाचा गरेको रूपान्तरणमा किन जान सकेन भन्ने हो। कमरेड अलपत्रले जब पार्टीभित्र विकृति संस्थागत हुन थालेको देख्यो, तब उसले के महसूस गर्छ भने यो आन्दोलनले कहीं पुर्याउँदैन।
उसले अनुभव गरेको समस्या चाहिं विद्रोहमा लागेकाले गाउँठाउँमा मुखै देखाउनै नहुने गरी लाजमर्दो अवस्था सिर्जना भएको हो। यो चरम नैराश्यबीच अलपत्र युवा ‘विदेश जाँदा पो निकास पाइन्छ कि, शान्ति पाइन्छ छ कि!’ भनेर विदेशिएका छन्।
अलपत्र कमरेडको नामले नै पाठकलाई शुरूमै जिज्ञासा हुन्छ, यो कस्तो नाम हो? तर जस्तो नाम उस्तै नियति भएको छ उसको। ऊ अलपत्र परेको छ र ऊ भित्रैदेखि के ठान्छ भने ऊ मात्रै होइन, ऊ संलग्न भएको आन्दोलन नै अलपत्र परेको छ।
लघु आकारको यो उपन्यासको भाषा मीठो छ। ठाउँ ठाउँमा पाठकले भाषाको मिठास पाउँछन्। समयको जनाउ दिने एक प्रसंगमा लेखक अड्कल गर्छन्, ‘घाम एक जुवा वर आइसकेछ।’
मनको अवसाद बुझाउन अर्को ठाउँमा उनले दिएको अभिव्यक्ति यस्तो छ, ‘मनको भण्डार क्षमता कत्रो हुन्छ? जति सोचे पनि भरिन्न यो। रात अबेरसम्म मनमा कुरा खनिन आए। म थाकें। तर मन थाकेन।’
अनि अर्को प्रसंगमा उनी विषादको वेलालाई यसरी विम्बमा पोख्छन्, ‘समयले डामेपछि हाँसो कता गायब हुँदो रैछ कता।’
उपन्यासको अर्को उल्लेखनीय पक्ष हो, क्षेत्रीयता। कथामा केन्द्रको वर्णन छैन। साना साना उपकेन्द्र छन्। कथाले अर्घाखाँचीको आञ्चलिकता बोकेको छ। पुस्तकमा मारीखोलाका प्रसंग आउँछन्। रोल्पा, प्यूठान र अर्घाखाँचीका परिवेश झल्किन्छन्।
दुई ठाउँमा आउने अनपेक्षित मोडले उपन्यासलाई रोचक बनाएको छ। यसको कथा सरर बगे पनि संयोगान्त घटनाक्रममा वर्णनको न्यूनताको अभाव महसूस हुन्छ।
नेपाली इतिहासलाई उलटपुलट पार्ने माओवादी विद्रोह जसले १७ हजारभन्दा बढीको ज्यान लियो, हजारौंलाई अंगभंग बनायो, हजारौंलाई विस्थापित बनायो, त्यो आन्दोलनका सामाजिक पाटाहरू खुल्न बाँकी नै छन्। त्यसैको एक प्रयास हो, यो उपन्यास।
मारीखोलाको ढुङ्गो माओवादी विद्रोहप्रतिको विमतिको आख्यानात्मक सिर्जना हो। यसमा नेपाली पाठकले आफ्नो गाउँठाउँका दाजुभाइ, दिदीबहिनीका दुःख, अपेक्षा र सपना पाउँछन्। यो कृति सपना हराएका युवाको कथा हो। नेपाली युवाको विषादको प्रतिनिधि आवाज हो।