एउटै भीरबाट भीरमौरीको ६० किलो मह
खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा एउटै भीरबाट भीरमौरीको ६० किलोग्राम मह काढिएको छ।
स्थानीय चिलिम लाहुरे पोखरी सामुदायिक वनमा पर्ने तेरावा महभीरबाट भीरमौरीको मह काढिएको स्थानीय लक्ष्मण राई ‘समीप’ ले बताए। फेदीको तेरावा र माखम्लाका बासिन्दाले असार ६ र ७ गते मह निकालेका हुन्।
यसका लागि सामुदायिक वनलाई तीन हजार रुपैयाँ शुल्क तिरेका थिए। यसअघि उनीहरूले असार ५ मा माखम्ला महभीरबाट पनि २५ केजी मह निकालेका थिए।
भीरमौरीको मह प्रतिकेजी दुई हजार रुपैयाँमा बिक्री हुन्छ। महको माग धान्नै नसकिएको उनको भनाइ छ। भीरमौरीको मह औषधिका रूपमा प्रयोग गरिने भएकाले माग बढेको उनी सुनाउँछन्।
मह काढ्ने व्यक्तिलाई स्थानीय बासिन्दाले ‘शिकारी’ भन्ने गरेका छन्। भीरबाट मह निकाल्न कम्तीमा ६ जना शिकारी चाहिन्छन्। उनीहरू मालिंगो र सिंगालेको चोयाको डोरीको भर्याङमा झुन्डिएर भीरबाट मह काढ्ने गर्छन्।
हरेक वर्षको उभौली यामको जेठ-असार र उधौली यामको कात्तिक-मंसीरमा पहरामा चढेर भीरमौरीको मह काढ्ने गरिन्छ। फेदीका बासिन्दाले भने पुर्ख्यौली पेशाका रूपमा भीरमौरीको मह काढ्ने गरेका छन्।