होपको विस्फोटक ब्याटिङमा वेस्ट इन्डिज नौ विकेटले विजयी
शाई होपले विस्फोटक ब्याटिङ गरेपछि अमेरिकासँगको खेलमा वेस्ट इन्डिज नौ विकेटले विजयी भएको छ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत ‘सुपर-८’ को शनिबार बिहान भएको खेलमा वेस्ट इन्डिजले १०.५ ओभरमै सहज जित निकालेको हो। अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले एक विकेट गुमाएर पूरा गरेको छ।
वेस्ट इन्डिजका लागि प्रारम्भिक ब्याटर होपले ८२ रन बनाए। उनले ३९ बलमा चार चौका र आठ छक्का प्रहार गरे। त्यस्तै, निकोलस पूरनले २७ र जोनसन चार्ल्सले १५ रन बनाए।
अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए। अन्य बलर महँगा सावित थिए।
यसअघि ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो। अमेरिकाका लागि एन्ड्रिस गोउसले २९, नीतीश कुमारले २०, मिलिन्द कुमारले १९, श्याड्ली भानले १८ र अली खानले १४ रन बनाए।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेसले तीन-तीन, अल्जारी जोसेपले दुई र गुडाकेश मोतीले एक विकेट लिए।
यो जितसँगै वेस्ट इन्डिजको दुई अंक भएको छ। समूह २ मा सबै टोलीले दुई-दुई खेल खेल्दा दक्षिण अफ्रिका चार अंक सहित शीर्षस्थानमा छ।
यसअघिको खेलमा दुई अंक जोडेको इङ्ल्यान्ड रनरेटका आधारमा तेस्रो स्थानमा छ भने अमेरिकाले अंक जोड्न सकेको छैन। अब चारै टोलीका एक-एक खेल बाँकी छन्।
त्यस्तै, समूह १ मा एक-एक खेल हुँदा अस्ट्रेलिया र भारत दुई-दुई अंक जोडेर शीर्ष दुई स्थानमा छन्। अर्को खेलमा आज राति ८:१५ बजे बाङ्लादेश र भारत प्रतिस्पर्धा गर्नेछन्।
दुवै समूहबाट शीर्षस्थानमा रहेका दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।