मलेशियाली पर्यटकलाई पोखरा भ्रमणको निम्तो
पोखरेली व्यवसायीले क्वालालम्पुर पुगेर मलेशियाली पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो दिएका छन्।
मलेशियाका व्यवसायी ह्यारी पनान्धन २० वर्षदेखि टूर एन्ड ट्राभल्स व्यवसायमा काम गरिरहेका छन्। मलेशियाली नागरिकका लागि छुट्टी मनाउने गन्तव्य खोजिदिन्छन् र व्यवस्थापन गरेर देशभित्रै र बाहिर पनि लैजान्छन्। उनी पाँच पटक नेपाल आइसकेका छन्।
मलेशियाली नागरिकका लागि घुमघाम र बिदा मनाउन नेपाल उपयुक्त देश रहेको पनान्धनको ठहर छ। नेपालमा मुस्लिम समुदायका लागि उपयुक्त हुने हलाल रेस्टुरेन्ट, सहज रूपमा सडक यातायात हुन सकेमा नेपाल घुम्न आउने मलेशियाली नागरिकको संख्या बढ्ने पनान्धन बताउँछन्।
पनान्धनसँगै मलेशियामा टूर एन्ड ट्राभल्स व्यवसायमा रहेका अन्य व्यवसायीले पनि मलेशियाली पर्यटकलक्ष्यित प्याकेजको व्यवस्था हुनुपर्ने बताए। यसका लागि नेपाली पर्यटन व्यवसायीले पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले मलेशियाली टूर सञ्चालकसँग पोखराको पर्यटन प्रवर्द्धनका लागि क्वालालम्पुरमा प्रचारात्मक कार्यक्रम गरेको थियो। कार्यक्रममा टेवान अध्यक्ष कमला गिरीले टूर अपरेटर व्यवसायीलाई पोखरा घुम्न आउन निम्तो दिइन्। “प्राकृतिक, सांस्कृतिक र साहसिक गतिविधिको अनुभव लिन मलेशियाली नागरिक, टूर व्यवसायीलाई पोखरा भ्रमणमा आउन आग्रह गर्छु,” गिरीले भनिन्। त्यसका लागि नेपाल र मलेशियाका व्यवसायीले सहकार्य गर्न सक्ने उनको भनाइ थियो।
मलेशियामा ट्राइभा इस्ट ट्राभलकी संस्थापक छि यिङ फोङले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै प्रकृतिमा रमाउने मलेशियाली पर्यटकलाई उपयुक्त गन्तव्य हुन सक्ने बताइन्। फोङले पोखराको प्रचारात्मक कार्यक्रमसँगै अब टूर प्याकेजको विकास गरिनुपर्नेमा जोड दिइन्। “मलेशियामा मुस्लिम समुदायका व्यक्तिको संख्या बढी भएकाले नेपालमा हलाल खानाको प्रशस्त विकल्प हुनुपर्छ, त्यसै अनुसार टूर प्याकेजको विकास गरिनुपर्छ,” उनले भनिन्।
टेवानकी सचिव शोभा अधिकारीले मलेशियाको पर्यटन क्षेत्रमा महिलाको सहभागिता देखिनु सुन्दर भएको बताइन्। पोखरामा पनि पर्यटनको क्षेत्रमा महिलाको बाक्लो उपस्थिति रहेको अधिकारीको भनाइ थियो। मलेशियाका टूर अपरेटर व्यवसायीसँग समन्वय र सहकार्यमा अघि बढ्न सकिने उनले बताइन्।
मलेशियामा रहेका ट्राभल कोअर्डिनेटरका रूपमा काम गरिरहेका मुहम्मद अरिफ पनादमले ज्येष्ठ नागरिकलाई घुमाउने प्याकेज सञ्चालन गरिरहेको जानकारी दिंदै पोखरामा पनि ज्येष्ठ नागरिकलक्ष्यित टूर प्याकेज सञ्चालन गर्नुपर्ने बताए।
टूर अपरेटरसँगको प्रचारात्मक कार्यक्रममा मलेशियाका २५ व्यवसायी सहभागी थिए। पोखराको पर्यटन प्रवर्द्धनका लागि प्रचारात्मक कार्यक्रम लिएर टेवानको टोली ब्यांकक, सिंगापुर र मलेशिया पुगेको थियो।
टोलीले क्वालालम्पुरमा मलेशियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि पोखराको पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको थियो। राजदूत पौडेलले पर्यटन प्रवर्द्धनका लागि महिला टोली आत्मनिर्भर भएर अघि बढ्नु नै सराहनीय रहेको बताउँदै पोखराको प्रचारात्मक कामका लागि सहयोग गर्ने बताए।
यसअघि टेवानले थाइल्यान्डको राजधानी ब्यांककमा रहेको नेपाली राजदूतावासमा पनि पोखराका प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो।