संकटमा हिमाली शैली
हिउँको साटो पानी पर्न थालेपछि छतका दाउरा कुहिए। छानो चुहिने भयो। विकल्पमा परम्परागत घर भत्काएर नयाँ शैलीका घर बनाउन लागिपरेका छन् मुस्ताङवासी।
कुनै समय थियो, हिमालपारिको मुस्ताङमा घरको छानाले मानिसको आयस्ताको अवस्था दर्शाउँथ्यो। मुस्ताङको मार्फाका बासिन्दा प्रकाश परियारका अनुसार पहिला त छानामा दाउराको खलियो (भारी) हेरेर बिहेबारी समेत टुंगो लाग्थ्यो। अहिले पनि मुस्ताङमा आर्थिक अवस्था सबल देखाउन छतमा दाउरा राख्ने गरिन्छ।
“धेरै सम्पत्ति हुनेहरूको घरको पूरै छाना दाउराले सजिन्छ। आम्दानी कम हुनेहरूको चाहिं दाउराको चाङ पनि सानै हुन्छ भन्ने गरिन्छ,” उनी भन्छन्।
समाजशास्त्री कृष्ण भट्टचन पनि त्यस्तै वर्णन गर्छन्। “अन्य स्थानमा धनी र गरीब छुट्याउन विश्व ब्यांकले तोकेको सूची हेरिन्छ, तर हिमालपारिका पुराना बस्तीमा घरमाथि भएको दाउराले धनी गरीब छुट्याएको छ,” उनी भन्छन्।
सेतो र रातो माटाले लिपेको घर, ढुंगा बिछ्याइएको आँगन र ढुंगैको बाटो, माटाकै छाना र छानामाथि दाउराको चाङ। यसरी दाउरा थुपार्ने संस्कृतिले मार्फा, मुस्ताङ क्षेत्रमा पर्यटकको चासो सधैं बढाएको व्यवसायीहरू बताउँछन्।
तर ढुंगा, माटाले बनाइएका छतमा दाउरा राखिने घरलाई बिस्तारै ‘आधुनिक’ भनिने सिमेन्टका ढलान भएका वा टिनको छानो भएका घरले विस्थापन गर्दै छन्। एक उदाहरण प्रकाश परियार नै हुन्। उनी दाउराको छत हटाएर टिनको छानो लगाउने सोचमा रहेको सुनाउँछन्।
परम्परागत घरहरूमा बस्नै कठिन हुन थालेपछि जस्तापाताको छानो लगाउनुपरेको उनी बताउँछन्। “घरमाथि दाउरा राख्नु मुस्ताङीहरूको प्रतिष्ठा हो, तर अब यो दिगो नहुने भएपछि परिवारको सुरक्षा पनि हेर्नुपर्ने भएको छ,” उनी भन्छन्।
मार्फाकै कमला लिनचिन पनि त्यस्तै सोचमा छिन्। उनी ढुंगा, माटाले बनाइएको, छानामा दाउरा भएको परम्परागत घरमा होटल चलाउँछिन्। तर पाँच वर्षदेखि यो घर भत्काएर इँटा, सिमेन्टको घर बनाउने योजना बनाइरहेको उनी बताउँछिन्। “पटक पटक बनाउँदा पनि घरको भित्ता भत्कने, छानामा राखेको दाउरा कुहिने र छतबाट पानी चुहिने समस्या बढेर व्यापारमा नै असर परेपछि पक्की घर बनाउने सोचिरहेका छौं,” उनी भन्छिन्।
लिनचिन वर्षौंदेखि ओत दिइरहेको परम्परागत शैलीको घर भत्काएर नयाँ बनाउनुको कारण मुस्ताङमा भइरहेको जलवायु परिवर्तन भएको बताउँछिन्। “पहिले गाउँमा धेरै हिउँ पर्थ्यो, महीनौंसम्म घरबाट निस्किन सकिंदैनथ्यो। त्यसैले हिउँदभरिलाई पुग्ने दाउरा पनि बर्खामै जोहो गरेर छानामा राख्थ्यौं,” उनी भन्छिन्, “तर अहिले जति दाउरा ल्याए पनि छिटै कुहिने गर्छ। दाउरा कुहिएर, त्यहीं पानी परेपछि छत पनि चुहिने भएको छ।”
दाउरा पनि नजोगिने र छानो पनि चुहिने भएपछि मार्फाका रिपेश लिनचिनले दुई वर्षअघि ढलान गरेर एकतले घर बनाए। “अब दाउराको चलन पनि हराइसकेको छ। फेरि पहिला जस्तो मौसम छैन। बर्खाबाट जोगिन पनि सुरक्षित घर चाहियो भनेर छोराहरूले भनेपछि ढलान घर बनायौं,” सुरक्षित आवास बनाउन ढलान घर बनाएको उनी स्विकार्छन्।
परम्परागत घरहरूको ठाउँमा नयाँ शैलीका घर बन्ने क्रम बढेको स्विकार्छन् मार्फा गाउँ रहेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन। उनका अनुसार करीब ६०० घर रहेको गाउँपालिकामा टिनको छाना र ढलान गरिएका घर र होटल गरी ६० वटा संरचना बनिसकेका छन्।
उनका अनुसार खाना पकाउन दाउराको साटो ग्यासको प्रयोग हुन थालेको छ। जसले गर्दा मानिसलाई घरमा दाउरा संकलन गरिरहनुपर्ने आवश्यकता घटेको छ। अर्कातर्फ, वैदेशिक रोजगारीमा गएका मानिसले नयाँ शैलीका घर बनाउन खोजिरहेका पनि छन्। तर परम्परागत घरप्रतिको मोह कम हुँदै जानुको मुख्य कारण भने जलवायु परिवर्तन नै रहेको लालचनको तर्क छ।
अरू मानिसले जस्तै उनले पनि मुस्ताङमा पछिल्लो समय हिउँ नै पर्न छोडेको बताए। कुनै वेला हिउँ धेरै परेर जोमसोम विमानस्थलमा हवाईजहाजको आवागमन नै बन्द हुने गरे पनि अहिले भने त्यस्तो अवस्था कमै हुने गरेको उनी बताउँछन्। “अहिले हिउँ परे पनि निलगिरिको डाँडाबाट तल झर्दैन,” अध्यक्ष लालचन भन्छन्, “पानी बढी परेर धेरै घर भत्किएका छन्। दाउरा पनि चाँडै कुहिने भनेर त्यति धेरै लिन जाँदैनन्। त्यसैले अहिले यी पुराना घरहरू र दाउरा राख्ने परम्परा हट्दै जाने संकेत देखिन्छ।”
वैज्ञानिक अनुसन्धानले पनि हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा अधिक वर्षाका कारण परम्परागत घरमा चुहावट बढेको देखाएका छन्। नेपाल सरकारले प्रकाशन गरेको अध्ययन प्रतिवेदन ‘भल्नारेबिलिटी एन्ड रिक्स एसेस्मेन्ट एन्ड आइडेन्टिफाइङ एडप्टेशन अप्सन’ भन्छ- ‘पछिल्ला वर्षहरूमा मनाङ र मुस्ताङमा भारी वर्षा भएको छ। लगातारको वर्षाले परम्परागत माटो र ढुंगाले बनेको समतल छाना चुहावट र पर्खाल भत्किने समस्या भएको छ।’
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि पछिल्ला वर्ष उच्च पहाडी भेगमा वर्षा र तापक्रममा घटबढ भइरहेको देखाउँछ। २०६७ सालमा जोमसोममा वार्षिक २८६.२ मिलिमिटर वर्षा हुँदा यो अनुपात बढ्दै २०७५ सालमा ३०१.१ मिमी, २०७७ सालमा ४०३.०१ मिमी र २०७८ सालमा त अहिलेसम्मकै बढी ६६५.७९ मिमी वर्षा भएको छ।
मुस्ताङको थाकमार्फामा पनि २०६७ सालमा वार्षिक वर्षाको आँकडा ४३५.९ मिमी रहेकामा २०८० सालमा त्यो ४८८.४२ मिमी पुगेको छ। यस्तै, २०६८ सालमा जोमसोमको वार्षिक तापक्रम १७.६८ डिग्री रहेकामा २०८० सालमा बढेर १८ डिग्री पुगेको छ। थाकमार्फामा पनि २०६८ सालमा १७.२२ डिग्री रहेको तापक्रम २०८० सालमा १७.३८ डिग्री पुगेको छ।
यस्तै, विभागको तथ्यांक अनुसार उच्च पहाडी जिल्लामा नभएर नेपालमा नै पछिल्लो एक दशकमा वर्षा बढेको देखिन्छ। वार्षिक औसत वर्षाको आँकडा २०६९ सालमा १३२३.३ मिमी, २०७० सालमा १५०४.८ मिमी, २०७७ सालमा १६७७ मिमी र २०७८ सालमा १६४२.१ मिमी छ।
काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सकी पानी तथा वातावरण अनुसन्धानविज्ञ हेमु काफ्लेका अनुसार तापक्रम र वर्षामा आउने ०.१ प्रतिशतकै परिवर्तनले पनि वातावरणमा अत्यधिक प्रभाव पार्छ। त्यसैले उच्च पहाडी जिल्लामा नयाँ तरकारी फल्ने, पहिलेभन्दा बढी तौलका स्याउ फल्ने, पहिलाभन्दा चिसो कम हुने लगायत परिवर्तन हुन थालेको छ।
त्यस्तै, मुस्ताङ लगायत क्षेत्रमा छतमाथि राखिएको दाउरा चाँडै कुहिनु पानीको असर पनि हुन सक्ने उनको अनुमान छ। उनी भन्छिन्, “पानी पर्ने र पहिलाभन्दा तापक्रम पनि बढेको हुनाले बाफिएर दाउरा चाँडै कुहिने, माटोका छत भएकाले पानी चुहिने हुन सक्छ।”
समाजशास्त्री भट्टचनका अनुसार जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर आदिवासीलाई परेको छ। तर काठको विकल्प सिमेन्टको पिलर कहिल्यै हुन नसक्ने उनको तर्क छ। यस्ता ऐतिहासिक र सांस्कृतिक सम्पदा जोगाउन सरकारले नै जोड दिनुपर्ने उनी बताउँछन्।
मुस्ताङमा पाँच वर्ष समाजिक अध्ययन गरेका अनुसन्धाता जुद्धबहादुर गुरुङ भने जलवायु परिवर्तनको असरबारे समुदायलाई नै सचेत बनाउनुपर्नेमा जोड दिन्छन्। “अहिले त केही होटल, रेस्टुरेन्ट र घरहरू आधुनिक शैलीमा बनाइएका छन्। यो आर्थिक र सामाजिक परिवर्तनको परिणाम पनि भएकाले स्थानीय तहले मुस्ताङ क्षेत्रमा यी परम्परा जोगाउन भूमिका खेल्नुपर्छ,” गुरुङको सुझाव छ।
आधुनिकीकरण र बढ्दो जलवायु परिवर्तनका कारण बिस्तारै मुस्ताङको पहिचान धरापमा पर्न थालेकोमा अध्यक्ष लालचन पनि चिन्तित छन्। मार्फा घुम्न आउने मुख्य आकर्षण परम्परागत घर बचाउन भए पनि अनुदान कार्यक्रम ल्याउने बताउँछन्। “काठमाडौं र ललितपुरका घरका झ्याल, ढोका परम्परागत शैलीमा बनाए निश्चित सहयोग नगरले गरे जस्तै मार्फा लगायत क्षेत्रमा परम्परागत शैलीमा घर बनाएर निश्चित सहयोग स्थानीय तहले गर्ने कार्यक्रम ल्याउँछौं,” उनी थप्छन्, “अधिकांश घरहरू माटाका भएर पानी पर्न थालेपछि पग्लिन थाल्छन्। माटाका घर नभएपछि दाउरा राख्ने परम्परा पनि नहुन सक्छ। त्यसैले हामी परम्परागत घर जोगाउन प्रभावकारी कार्यक्रम ल्याउनेछौं।”
मुस्ताङबारे थप सामग्री :