‘नयाँ गीत सुनाउने ठाउँ नपाउँदा निराश छु’
‘म कतै पनि ट्र्याकमा गाउँदिनँ। बरु कहिलेकाहीं वाद्यवादन टोली छैन भने आफैं गितार बजाएर पनि गाउँछु। यसो गर्दै आउँदा कतिले त दीप दाइले ट्र्याकमा गाउनै जान्दैन पनि भने।’
पाँच दशकभन्दा लामो समयदेखि संगीतकर्ममा सक्रिय गायक हुन्, दीप श्रेष्ठ। ७३ वर्षमा हिंडिरहेका उनको सांगीतिक भोक घटेको छैन। भन्छन्, “९० वर्षसम्म गाउँछु भन्ने आँट छ।” उनी आफ्नो गायन यात्रामा मात्र केन्द्रित छैनन्, युवा पुस्तालाई बाटो देखाउन पनि चासो दिइरहेका छन्।
हरेक वर्ष २१ जूनमा विश्व संगीत दिवस मनाउन गृहनगर धरान पुग्छन् उनी। आफू प्रमुख सल्लाहकार रहेको धरान संगीत प्रतिष्ठानमा आबद्ध नयाँ पुस्ताका संगीतकर्मीलाई उनले मार्गदर्शन गराउँदै आएका छन्। धरान पुगेका वेला उनीसँग हिमालखबरका लागि गोपाल दाहालले गरेको कुराकानी :
विश्व संगीत दिवस मनाउन तपाईं हरेक वर्ष धरानमै आउनुहुन्छ नि?
धरानमा पहिले संगीत दिवस मनाउने चलन नै थिएन। धरान संगीत प्रतिष्ठानका भाइबहिनीहरूसँग सल्लाह गरेर २०७३ सालबाट संगीत दिवस मनाउन थालेका हौं। त्यसयता हरेक वर्ष धरान आउँछु। यहाँको सांगीतिक माहोल बेग्लै छ। यसले मलाई लोभ्याउँछ। शुरूको वर्ष भानुचोकमा खुला कार्यक्रम गरेका थियौं। झमझम पानी परेको वेला पनि श्रोता-दर्शक आएर गीत सुने, नाचे।
विगतमा संगीतको उर्वर भूमि धरान अहिले अलि सुस्ताएको जस्तो भएको छ। यसलाई फेरि जागृत गर्न आवश्यक छ।
नेपाली संगीत क्षेत्रको विकासक्रम कस्तो लाग्छ?
हाम्रो पालाको गाउने तरीका अहिले सम्झँदा कथा जस्तै लाग्छ। तर त्यो सबै मैले भोगेर आएको हो। संगीत क्षेत्रमा जति आधुनिक सुविधा पाउँदै गए, मान्छेहरूले फड्को मार्दै गए। विदेशीहरूले नयाँ प्रविधिमा फड्को मार्दा अध्ययन गरेर अघि बढे, हामी चाहिं नयाँ प्रविधि आयो भनेर अध्ययन विना त्यसकै पछि लाग्यौं। यसले गर्दा क्यासेट हरायो, सीडी हरायो। तर म अझै पनि भन्छु, क्यासेट र सीडी आर्काइभका रूपमा रहनै पर्थ्यो।
एशियाली मुलुक र त्यसमा पनि हामी नेपालीको अध्ययन एकदम कम छ। तर नयाँ प्रविधि आयो भने छिटो अपनाएर फड्किन खोजिहाल्छौं। त्यसले गर्दा नयाँ जनरा आउँदा त्यससँग राम्ररी घुलमिल हुन नपाउँदै किसिम किसिमका जनरा आइसके। जस्तो- पप संगीत आयो। र्याप आयो। यसरी हाम्रो संगीत क्षेत्र परिवर्तन हुँदै त आयो, तर क्रमबद्ध ढंगले नआएर छिटो छिटो फड्को हानेर अघि बढ्यो। त्यसले गर्दा नेपाली संगीत कुन धारमा चलेको छ भन्नेमा हामी आफै अन्योलमा छौं।
नयाँ पुस्तासँग पनि काम गरिरहनुभएको छ। पछिल्लो समयका गीत–संगीत कस्तो लाग्छ?
नयाँ पुस्तामा पनि हाम्रो शैलीका गीत गाउनेहरू छन्। अचम्म चाहिं के लाग्छ भने, हामी र हामीभन्दा अग्रज दाइदिदीले गाएका गीतहरू गाउने, कभर गर्ने तर पुराना मान्छे नचिन्ने, एक वचन नसोध्ने प्रवृत्ति छ। त्यस्तो चाहिं नगरे हुन्थ्यो जस्तो लाग्छ। यस बाहेक दुइटा कर्डमा आफैंले गितार बजाउँदै गाउने चलन पनि छ। कहीं साथीभाइले गजल भन्दै लान्छन्, गजलका कुरा सुनाउँछन्। त्यसकारण संगीतको ‘एरा’ नै गड्याङगुडुङ भएको छ नेपालमा।
बरु अहिले लोकसंगीतले एउटा गति लिएको छ। पूर्वीय लोकसंगीत त हराई नै सक्यो, पश्चिमी लोकसंगीत भने निकै अगाडि बढेको छ। मान्छेले यसको एउटा स्वाद पाइसकेकाले यसले निरन्तरता पाउँछ भन्ने लाग्छ। तर हाम्रो कन्टेम्पोररी (समकालीन) नेपाली संगीत अहिले कतै अड्किए जस्तो, अन्योलमा परे जस्तो भएको छ।
अहिले लोकसंगीतले एउटा गति लिएको छ। पूर्वीय लोकसंगीत त हराई नै सक्यो, पश्चिमी लोकसंगीत भने निकै अगाडि बढेको छ।
तपाईंले गाउँदै आएको ‘मोडर्न कन्टेम्पोररी’ संगीतप्रति श्रोताको आकर्षण किन घटेको होला?
एउटा गायकले गीत गाउँदा आफ्नै पाराको गाउँछ। मैले साथीभाइ भेट्दा उनीहरू ‘गीत पपुलर हुन यो पाराको गीत गाएर हुँदैन, शैली बदल्नुपर्यो’ भन्छन्। तर मैले यो उमेरमा आएर शैली कसरी परिवर्तन गर्ने? म त मेरै शैलीमा बस्नुपर्यो, अझ अरूले पनि यही शैली पछ्याऊन् भन्ने लाग्छ। जस्तै- मैले अग्रज दाइहरूको शैली लिएर त्यसमा आफ्नोपन मिसाएँ। अरूले मेरै जस्तो गाउनु पर्दैन, तर संगीतमा अलि माधुर्य आओस् भन्ने सोच्छु। मेलोडियस संगीतलाई चट्टै भुलिदिनु भएन। हामीभित्र दुःख छँदै छैन त? दुःख विना संसारमा संगीत सिर्जना भएकै छैन।
तपाईंहरूको पालामा गीत गाउँदा गरिने अभ्यास र अहिलेको पुस्ताले गरिरहेको अभ्यासमा के फरक देख्नुहुन्छ?
हाम्रो पालामा एउटा गीत रेकर्ड गर्न रेडियो नेपालमा तीन महीनासम्म पर्खिनुपर्थ्यो। रेकर्ड गर्ने क्रममा एक जनाले बिगारेमा फेरि शुरूदेखि दोहोर्याउनुपर्ने हुन्थ्यो। त्यसैले अभ्यास धेरै गर्नुपर्थ्यो। म चाहिं आफ्नो रेकर्डिङको पालोमा पूर्ण तयारी गरेर मात्र जान्थें। आज दीपको रेकर्डिङ छ भनेर सबैले त्यही अनुसार तयारी गरेका हुन्थे। त्यो इज्जत धान्न पनि आफ्नो गीत ५०० देखि एक हजार पटकसम्म गाएर अभ्यास गर्थें।
त्यस वेलाका कलाकार, वाद्यवादकमा जुन अनुशासन र लगाव थियो, अहिलेको पुस्तामा त्यसको कमी छ। अलि मिहिनेत गरौं भन्दा अहिलेको पुस्तामा ‘भइहाल्छ नि’ भन्ने प्रवृत्ति देख्छु। त्यसले संगीतमा खारिन दिंदैन।
नयाँ प्रविधिको विकासले पनि त्यस्तो भएको हो कि?
त्यो पनि हो। तर प्रविधिले त कुनै कुराको परिणाम निकाल्न मात्र सजिलो पार्ने हो। प्रविधिले गायन बनाउने होइन, बनाए पनि स्थायित्व हुँदैन।
प्रविधिको विकासले फाइदा या बेफाइदा के भएको छ?
प्रविधिले धेरै फाइदा गरेको छ। तर यसका नकारात्मक पक्ष पनि छन्। जस्तै- गीत गाउनै नजान्नेलाई पनि स्टुडियोमा लगेर अटोट्युन प्रयोग गरी रेकर्ड गरिदिन्छन्। व्यापारका लागि तपाईंको स्वर राम्रो छ भनिदिन्छन्। त्यति सुनेर रमाएका गायक-गायिका पनि छन्। तर रेकर्ड गरेको गीत स्टेजमा हूबहू गाउन सकेन भने लाज हुन्छ भन्ने पनि सोच्नुपर्छ नि!
संगीतमा नयाँ पुस्ताले केकस्ता पाटोमा ध्यान दिनुपर्छ?
अहिलेको पुस्तालाई मेरो सुझाव छ, चाहे जुनसुकै म्युजिकमा गर, पढेर गर। हुन त पढेर आएका भाइबहिनी पनि थुप्रै छन्। जस्तो- ज्याजमा पढेर आएका एकसेएक छन्। तर त्यस्ता मान्छेहरू कम भए।
हामीले गरे जस्तै शैलीको संगीत गर्न चाहनेले चाहिं सिकेरै गरिदिए भविष्यको पुस्ताले एउटा गुरु, एउटा विश्वविद्यालय पाउँछ भन्ने मलाई लाग्छ।
पहिलेका श्रोता र अहिलेका श्रोतामा के फरक पाउनुहुन्छ?
विगतमा राम्रा गीत सुनिराख्ने मानिसहरू अहिले अन्योलमा परेका हुन् या बाटो बिराएका हुन्, त्यस्ता गीत खोज्दै खोज्दैनन्। सुन्नै चाहँदैनन्। अहिले कतै गीत गाउन गयो भने उफ्रेर नाच्ने किसिमको गीतको माग गर्छन्। नाच्नै मात्र खोज्छन्। दीप श्रेष्ठलाई नाच्ने गीत भनेपछि त गाह्रो परिहाल्छ नि। एक/दुई वटा त निस्केलान्, तर मसँग नाच्ने किसिमका गीत धेरै छैनन्।
अहिलेका श्रोतामा धैर्य छैन। गीत बज्दा छिटो सकिइहालोस्। कार्यक्रम पनि अलि छिटो सकिए हुन्थ्यो भन्ने सोच पाउँछु। एकाग्रता देखिंदैन।
बरु कुनै थिएटरमा ५० जनालाई लक्ष्य गरेर कार्यक्रम गरियो भने दुई घन्टाको साटो तीन घन्टा मानिसहरू बस्छन्। त्यहाँ ‘क्रिम’ मान्छेहरू आएका हुन्छन् र फलानोको गीत सुन्न जाने भनेरै आएका हुन्छन्। तर सामान्य ‘पब्लिक शो’ गर्दा त्यहाँ भावनाप्रधानभन्दा उफार्ने गीत खोज्छन्।
स्टेज कार्यक्रममा धेरै गायकगायिका म्युजिक ट्र्याकमै गाउँछन्। तपाईं चाहिं वाद्यवादन टोली विना गाउनुहुन्न नि?
म कतै पनि ट्र्याकमा गाउँदिनँ। बरु कहिलेकाहीं वाद्यवादन टोली छैन भने आफैं गितार बजाएर पनि गाउँछु। यसो गर्दै आउँदा कतिले त दीप दाइले ट्र्याकमा गाउनै जान्दैन पनि भने। तर अहिले त हामी ट्र्याकमै गीत रेकर्ड गर्ने भएकाले गाउन नजान्ने कुरै भएन।
खासमा वाद्यवादन टोली विना गाउँदा मजा हुँदैन। प्रत्यक्ष बाजामा गीत प्रस्तुत गर्दाको स्वाद नै फरक हुन्छ। ठूलो आवाज बज्नु मात्र संगीत होइन, चूप हुनु अनि बिस्तारै गाउनु पनि संगीत हो। शून्यताभित्र पनि संगीत हुन्छ। मान्छेले त्यति बुझ्न चाहँदैनन्। शायद समय नभएर पनि होला।
मसँग ५०/६० वटा नयाँ गीत भइसके। ती सुनाउने ठाउँ नहुँदा दिक्क लाग्छ। गाउने ठाउँ पनि छैन र पहिले झैं रेकर्ड गरेर क्यासेट, सीडी बिक्री पनि हुँदैन।
अनौपचारिक गफगाफमा कहिलेकाहीं तपाईं संगीत नै छाडिदिऊँ कि भनेर निराशा पोख्नुहुन्छ। यस्तो किन?
हामी समाजका लागि भनेर गीत बनाउँछौं। समाजमै देखेका विषयमा धेरै मिहिनेत गरेर गीत तयार पारेका हुन्छौं। त्यसलाई ५०/६० हजार रुपैयाँ खर्च गरेर रेकर्ड गर्छौं। तर त्यसलाई कहाँ प्रस्तुत गर्ने? ठाउँ नै छैन। स्टेजमा गएर नयाँ गीत सुनाउन खोज्दा ‘नयाँ गीत नगाउनुस् न दाइ, पुरानै गाउनुस्’ भन्छन्। तिनै पुराना ३०/३५ वटा गीतमा रुमल्लिइरहेको छु म। नेपालमा नयाँ गीत गायो भने सुन्दै नसुनेको गीत गायो भन्छन्, तर त्यहीं दार्जीलिङमा गयो भने नयाँ गीत सुनाउनुस् न भन्छन्।
मसँग ५०/६० वटा नयाँ गीत भइसके। ती सुनाउने ठाउँ नहुँदा दिक्क लाग्छ। गाउने ठाउँ पनि छैन र पहिले झैं रेकर्ड गरेर क्यासेट, सीडी बिक्री पनि हुँदैन। त्यो सम्झँदा निराश हुन्छु।
अहिले त यूट्यूबदेखि विभिन्न अनलाइन प्लेटफर्म छन् नि?
म धेरै पुरानो ढाँचाको मान्छे भएँ। प्रविधिसँग त्यति अभ्यस्त छैन। अनलाइन प्लेटफर्मको सिस्टममा जान मान्छेलाई पैसा दिएर राख्नुपर्ने रहेछ। मसँग त्यस्तो आम्दानीको स्रोत छैन। महीनाको १५/१६ हजार पेन्सन आउँछ। त्यो पैसा मलाई राख्ने कि, गाडी पाल्ने कि, अर्को मान्छेलाई तलब दिएर राख्ने? सधैं गीत आइरहँदैन, सधैं स्टेज कार्यक्रम भइरहँदैन। यी धेरै कारणले हामी पछाडि छौं।
पुरानो पुस्ताका गायकमध्ये तपाईं नै सक्रिय हुनुहुन्छ। अझै कति वर्ष गाउँछु भन्ने लाग्छ?
पुरानो पुस्तामा बाँकी म नै हुँला। बच्चुकैलाश दाइले गाउनै छाडिदिनुभयो। दीपक जंगमले अचेल गाउनुहुन्न। मभन्दा जुनियरहरूमा दीपक खरेल, प्रकाश श्रेष्ठहरू छन्। उनीहरू पनि थाके जस्तो लाग्छ।
मलाई ९० वर्षसम्म गाउँछु भन्ने आँट छ। अहिले पनि त्यही हिसाबले रियाज गर्छु। स्वरको स्थिरताका लागि हरेक दिन अभ्यास गर्छु। संगीत शुरू गरेदेखि नै धेरै अभ्यास गरियो। तर साँझ र बिहान के के गर्ने भनेर योजनाबद्ध रूपमा निरन्तर अभ्यास गरिरहेको २५/३० वर्ष भयो।