रुबी खानसँग भएका सम्झौता कार्यान्वयनबारे जानकारी दिन गृहलाई पत्राचार
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत अधिकारकर्मी रुबी खानसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगले शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता टीकाराम पोखरेलले जनाएका छन्। अधिकारकर्मी खान लगायत महिलाले काठमाडौंमा गरिरहेको अनशन र प्रदर्शनका विषयमा पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयलाई पठाएको पत्रमा बाँकेकी निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्यायका लागि अधिकारकर्मी खान लगायत महिलाले २०७८ सालदेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई आयोगले अनुगमन गरिरहेको जनाएको छ। यस घटनामा आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जले अनुसन्धान पनि गरिरहेको पत्रमा उल्लेख छ।
यस घटनाको छानबिनका लागि २०७२ कात्तिक २ मा गृह मन्त्रालयले छानबिन समिति पनि गठन गरेको थियो। समितिले दोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन पनि सिफारिश गरेको थियो। त्यसलाई पनि आयोगले स्मरण गराएको छ।
त्यस्तै, प्रदर्शनकारी र सरकारबीच यसअघि भएका सम्झौता कार्यान्वयनका विषयमा पनि आयोगले सोधखोज गरेको छ। आयोगको पत्रमा भनिएको छ, ‘अतः उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरू एवं उल्लिखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे सात दिनभित्र जानकारी उपलब्ध गराइदिन हुन नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) बमोजिम अनुरोध छ।’
अधिकारकर्मी खान जेठ २५ गतेदेखि काठमाडौंमा अनशन बसिरहेकी छन्। माइतीघर मण्डलमा अनशनमा बसेकी उनको स्वास्थ्यमा समस्या देखिपछि वीर अस्पताल भर्ना गरिएको छ। माग पूरा नहुँदासम्म अनशन जारी राख्ने खानले जनाएकी छन्।
यो पनि पढ्नुहोस् : माइतीघरमा छोरीका लागि न्याय खोजिरहेकी आमा