पहिरोले भासिएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
पहिरो जाँदा भासिएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-७, शेरामा असार ६ गते वर्षाका कारण सडक भासिएको थियो। सडक भासिंदा सवारी सञ्चालन हुन सकेको थिएन।
पहिरो पन्छाएर सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको थियो। तर आज बिहान उक्त सडकमा बोलेरो खसेको थियो। भासिएकै ठाउँमा गाडी खस्दा पुनः सडक अवरुद्ध बनेको थियो।
गाडी निकालेपछि राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।
निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्ड अन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ। पुलको नजिकै डाइभर्सन सडक बनाइएको छ। त्यही सडक वर्षाले भासिएको हो।
पश्चिम खण्ड अन्तर्गत म्याग्दे, शुक्लागण्डकी लगायत ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ।