थरले दिएका ठक्कर
गलत प्रवृत्ति, मूल्यमान्यता, परम्परा, चालचलन र व्यवहार विरुद्ध बोल्नै पर्ने रहेछ। म पनि बोल्न थालेकी छु। लाग्छ, सबैले जातीय मात्रै होइन, सबै प्रकारका विभेद विरुद्ध बोल्नै पर्छ।
सामाजिक सञ्जाल दैनिकीको हिस्सा जस्तै बनेको छ। म पनि दशकअघि सामाजिक सञ्जालसँग जोडिएकी थिएँ, राधिका नामले। मसँग जोडिन आउने साथीहरूले लगातार थर सोधिरहे। दिक्क लागेर नाम परिवर्तन गरें, अजात काधिरा।
अहिले यही नामले सामाजिक सञ्जालका साथीहरूसँग परिचित छु। परिवर्तन गरेर नाम राख्नु रहर थिएन, जातलाई लिएर आउने प्रश्न छल्नु थियो। समाजले जातलाई लिएर दिएको अपमान र पीडा भुल्न यस्ता कैयौं प्रयत्न गरेकी छु, गर्दै आएकी छु।
बाल्यकालबाटै यसको शुरूआत हुन्छ। गोरखाको भीमसेन थापा गाउँपालिका-२ ओख्ले, ताराखसे गाउँ, जहाँ ब्राह्मण समुदायको बीचमा हाम्रो एक घर छ। २०५५ सालतिर त्यति वेलाको गाउँ विकास समिति (गाविस) भवनमा कोठा भाडामा लिएर बसेका थियौं। पछि ब्राह्मण समुदायका एक जनासँग जग्गा किनेर घर बनायौं।
घर कस्तो भइदियो भने कारागार जस्तो। घरको साँधसीमाभन्दा एक पाइला पनि यताउता चाल्न पाइँदैनथ्यो। छिमेकीका बारीमा फलेका अन्नपात छोइएला भन्ने डर हुन्थ्यो। प्रायः आमाबुबालाई बच्चाहरूले खाना खाए कि खाएनन्, यताउता जाँदा कतै चोटपटक लाग्ला कि भन्ने लगायत चिन्ता हुन्छ। हाम्रा आमाबुवालाई भने छिमेकीका बारीमा पाइला राखिदेलान् वा छोइदेलान् कि भन्ने चिन्ता हुन्थ्यो। कतै अन्जानमा छोइयो भने पनि अशुद्ध पार्यो भनेर झमेला भइहाल्थ्यो।
हाम्रो नयाँ घर बाटोसँगै जोडिएको थियो। गाउँका मान्छे बिहानपख चिया पसलतिर जाने बाटो त्यही थियो। भाइ र मेरो खेल्ने मैदान पनि त्यही थियो। आवतजावत गर्नेहरू जहिल्यै हामीलाई नमस्कार गर्न लगाउँथे।
एक दिन बुबालाई सोधें, “किन हामीले मात्रै दिनदिनै सबैलाई नमस्कार गर्नुपर्छ?” बुवालाई त कसैले नमस्कार गर्दैनथे। बरु उल्टै बुवाले गर्नुहुन्थ्यो।
बुवाले भन्नुभयो, “हामी सानो जातका हौं, त्यसैले।”
यो ‘सानो जात’ ले चिमोटिरह्यो। बाटो हिंड्नेलाई नमस्कार गर्न मनै लागेन। त्यसपछि बाटोछेउ आँगनमा खेल्नै छाडें।
२०६२ सालतिर हो, गाउँमा बिजुली पुगिसकेको थिएन। घर नजिकैको छिमेकीको घरमा सोलारबाट टेलिभिजन चलाइएको थियो। उनी पेशाले शिक्षक थिए, बुवाका हितैषी मित्र पनि।
एक दिन हाम्रो घरछेउकै किराना पसलको आन्टीले टीभी हेर्न आऊ भनिन्। खुशी हुँदै पछिपछि लागेर गएँ। आन्टी टीभी भएको कोठामा छिरिन्। म भने दोधारमा परें, किनकि हामीलाई भित्र जान मनाही थियो। बाहिर बसौं, केही देखिंदैन।
म अलमलिएको देखेपछि सँगै गएकी आन्टीले भित्र बोलाइन्। अनि म पनि भित्र पसें। दुवै जना टीभी हेरेर फर्कियौं।
त्यसको तीन दिनपछि हो, म कोठाभित्र पसेको थाहा पाएछन्। उनीहरूले ‘दमिनीले घरभित्र आएर सबै बिगारी’ भन्दै तथानाम गाली गरे।
त्यसले मलाई साह्रै पिरोल्यो। केही भन्न सक्ने अवस्था थिएन। चूपचाप सह्यौं। मलाई गाली गरेको सुनेर आमाबुवा पनि दुःखी हुनुभयो।
यस्तै भोगाइको शृंखलाले पीडामाथि पीडा थपिरह्यो। पाइलैपिच्छे झेल्नुपर्ने अपमानजनक व्यवहारले रुवाइरह्यो। कति पटक त बेवास्ता गर्न खोजें। तर यस्ता कहालीलाग्दा घटना कहिल्यै जीवनबाट टाढा भएनन्।
२०६३ सालतिर हो, साथीको बिहेमा गएका थियौं। थुप्रै साथीहरू गएका थियौं, तर म र अर्का दलित साथीलाई घरभित्र छिर्न दिइएन। कक्षाकोठामा सँगै बस्ने साथीको बिहेमा भने नजिक पनि पुग्न पाइनँ। राति त्यहीं बस्ने गरी गएका थियौं, तर भेट्न पनि पाइनँ। आँखाभरि आँसु भरिएर आयो। रुँदै घर फर्किएँ।
यस्तै अर्को घटना भयो, स्कूले साथीसँगै। कक्षा ९ को अन्तिम परीक्षा दिएपछि केही मिल्ने साथीले सँगै जाऔं भने। उनीहरूले आमाबुवासँग अनुमति पनि मागे। म पनि खुशी हुँदै उनीहरूको घरमा गएँ।
एक जना साथी मामाघर बसेर पढ्थिन्। उनले मलाई त्यहीं लिएर गइन्। जब घरमा खाना खाने वेला आयो, त्यसपछि भने आकाश खसे जस्तो भयो। उनी घरभित्र बसेर खाना खान थालिन्, मलाई बाहिर खाटमै बसाले। त्यहीं खाना दिए।
सबै घरभित्र खाना खाइएरहेका थिए, म एक्लै बाहिर खाटमा। मन नलागीनलागी खाना खाएँ। भाँडा माझें, बाहिरै राखें। साह्रै नमजा लाग्यो, तर केही भनिनँ।
भोलि पल्ट अर्की साथीको घरमा गएँ। उनको घरमा पनि उस्तै व्यवहार भयो। घर बाहिर भुइँमा बसेर खाना खाएँ।
मन खिन्न भयो। स्कूले साथीहरूको मायामा पनि जातले विष घोलिदिएको महसूस गरें। त्यसपछि कुनै पनि साथीको घरमा खाना खाने, बस्ने गरी गइनँ।
बुवाबाट सिकेको प्रतिरोध
यस्ता अनेक घटनाले थुप्रै प्रश्न जन्माइरहे। कतिपय प्रश्न आफूलाई नै सोध्दै गएँ। कतिपय आमाबुबातिर तेर्स्याउँथें। कतिको उत्तर पाउँथें, कतिको पाउँदिनथें। एक पटक बुवालाई सोधेकी पनि थिएँ, “हामीलाई यस्तो व्यवहार कहिलेसम्म हुन्छ?”
बुवा केही बेर सोचमग्न हुनुभयो। अनि भन्नुभयो, “हामी बाँचुन्जेल त यस्तै हो, सहनै पर्छ। अब तिमीले धेरै लेखपढ गरेर विरोध गर्नू।”
त्यस्तै भयो, बुवाको जीवनकालमा जातीय छुवाछूत अन्त्य भएन। तीन वर्षअघि कोभिड-१९ महामारीमा बुवालाई गुमाएँ। कानूनमा त जातीय छुवाछूत अन्त्यको घोषणा भएको थियो, तर व्यवहारमा लागू भएन।
कक्षा ७ मा पढ्दै थिएँ। सामाजिक विषय पढाउने शिक्षकले ‘छुवाछूतमुक्त देश हुँदै छ’ भन्नुभएको थियो। नभन्दै केही दिनपछि २०६३ जेठ २१ मा सरकारले घोषणा पनि गर्यो। तर त्यो घोषणा कहिल्यै व्यवहारमा लागू भएन। बुबाले पनि त्यो महसूस गर्न पाउनुभएन। जीवनभर जातीय विभेद खेप्नुपरे पनि सन्तानले भोग्नुनपरोस् भनेर लड्नुभयो।
सानै छँदा हो, एक पटक बाख्रा गोठालो गएकी थिएँ। घरबाट एक घन्टा टाढाको कालिका मन्दिर छेउछाउ बाख्रा लग्थ्यौं। गाउँका सबै गोठाला जान्थे। मन्दिरमा पुगेपछि टीका लगाउन पुजारीकहाँ गयौं। पुजारीले सबैलाई टीका लगाइदिए, तर मेरो हातमा अक्षता राखिदिए। साह्रै नरमाइलो लाग्यो। त्यति वेला बोल्न त सकिनँ, तर त्यसरी दिएको टीका लगाइनँ। त्यही मेरो प्रतिवाद थियो।
त्यस्तै, दुखाइ रहने घटना जनैपूर्णिमाको पनि छ। सानो छँदा हरेक वर्ष जनैपूर्णिमाको दिन हातमा डोरो बाँध्न खूब रहर लाग्थ्यो। पण्डित घर घरमा आएर मन्त्र जप्दै सबैका हातमा डोरो बाँध्थे भने हामीलाई काप्राको पातमा डोरो राखिदिन्थे। अनि त्यसलाई बुबाले हाम्रो हातमा बाँधिदिनुहुन्थ्यो। तैपनि असाध्यै खुशी हुन्थ्यौं।
ठूलो भएपछि जब यो चाडमा हामीमाथि हुने विभेदको स्वरूप थाहा पाएँ, अनि वितृष्णा जाग्यो। त्यही दिनदेखि ‘अब डोरो नलिम्’ भन्न शुरू गरें। अहिले १२ वर्ष भयो, जनैपूर्णिमाको डोरो बाँध्न छाडेको। परिवारका सदस्यले पनि डोरो लिन छाडिसके।
विभेदको जरो परम्परागत मूल्यमान्यता पछ्याउँदै आएका व्यक्तिको व्यवहारमा मात्रै होइन, लेखपढ गरेका व्यक्तिको दिमागमा पनि गढेर बसेको छ। यहाँ मेरै स्कूलको उदाहरण मेल खान्छ।
२०६६ सालमा कक्षा १० उत्तीर्ण गरें। प्रमाणपत्र लिन बुबा र म स्कूल गयौं। स्कूलले दिने प्रमाणपत्रमा बुबाले आफ्नो थर दमाईं नराखिदिन प्रधानाध्यापकलाई अनुरोध गर्नुभयो। तर प्रधानाध्यापकले दमाईं लेखेरै दिनुभयो। बुबाले त्यो प्रमाणपत्र लिन अस्वीकार गर्नुभयो।
दोस्रो पल्ट पनि त्यस्तै भयो। प्रधानाध्यापकले थर बदलेर प्रमाणपत्र दिन मान्नुभएन। बुबाले फेरि पनि अस्वीकार गर्नुभयो। बल्ल तेस्रो प्रयासमा बुबाले भने झैं प्रमाणपत्र बन्यो। बुबाले भने जस्तै थर लेखेर प्रमाणपत्र शुरूआतमै दिन सकिंदो रहेछ। त्यसपछि नै मैले बुबाबाट प्रतिरोध गर्नुपर्दो रहेछ भनेर सिकेकी हुँ, स्वाभिमानका लागि।
कष्टपूर्ण त्यो दैनिकी
अहिले सञ्चारमाध्यमले परम्परागत पेशा संकटमा, लोप हुँदै भन्ने जस्ता समाचार लेखेको देख्दा मलाई भने आमाबुबाको त्यो कष्टपूर्ण दैनिकी याद आउँछ। आमाबुबा सिलाइको काम गर्नुहुन्थ्यो। यही पेशाबाटै परिवार धानिएको थियो। वर्षौं यही पेशामा बिताउनुभएका बुबा जहिल्यै भन्नुहुन्थ्यो, “यो सीपबाट कहिल्यै सम्मान पाइनँ।”
बालीघरे प्रथा थियो। त्यसमै लुगाफाटा सिलाउनुहुन्थ्यो। वर्षभरि प्रत्येक घरको लत्ताकपडा सिलाएपछि अन्नबाली पाक्ने वेला अलिकति पाइन्थ्यो। हामीलाई ‘भाग मागी ल्याउनू’ भनेर पठाउनुहुन्थ्यो। भाइ र म भाग लिन जान्थ्यौं।
हामीलाई आँगनमा उभ्याइन्थ्यो। कतिपयले त्यो वेला पनि घर बाहिरका काम लगाउँथे। कसैले धान कुट्न लगाउँथे, कसैले बारी खन्न त कसैले घाँस काट्न। अह्राएको काम गर्नै पर्थ्यो, नत्र भाग पाइँदैनथ्यो। काम गरिसकेपछि मात्रै हाम्रा झोलामा माथिबाट ‘भाग’ हालिदिन्थे, अन्नपात।
यसरी ‘भाग’ पाउँदा भर्खरै पाकेको अन्न पाएको याद छैन। अधिकांशले नयाँ पाकेको नदिएर पुरानो, घुन लागेको अन्नपात दिन्थे। जे-जस्तो र जति दिन्थे, त्यति थापेर घर फर्किन्थ्यौं।
बालीघरे प्रथामा काम गर्न छाडिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर गर्नुपर्ने बाध्यता थियो। ज्याला तिर्न कोही मान्दैनथे।
तैपनि ‘बालीघरको काम नगरौं’ भन्न थालें। झन्डै ६ वर्षपछि बालीघरे काम छोड्न आमाबुबा तयार हुनुभयो। ज्यालामा लुगा सिलाउन थाल्नुभयो। श्रम र सीपको हाताहाती ज्याला पाइन थाल्यो। यसले परिवारको आर्थिक अवस्था पनि केही सबल भयो। यसले मलाई थप ऊर्जा मिल्यो।
अर्को उदाहरण पानीको धारा पनि हो। गाउँमा कसैको निजी धारा थिएन। सबै सार्वजनिक धाराबाट पानी लिन्थ्यौं। गाउँभरिका लागि एउटै धारा थियो। तर त्यो हामीमाथि दिनहुँ दुर्व्यवहार हुने साझा थलो बनेको थियो।
सबैले पानी भरिसकेपछि हाम्रो पालो आउँथ्यो। केही गरी अन्जानमै अरूका भाँडाकुँडा छोइए भने झमेला शुरू हुन्थ्यो। एक पटक त्यस्तै भयो। छिमेकीले पानी भरिरहँदा आमा र म धारामा पुग्यौं। छोइयो भनेर भरेको पानी फालिन्। त्यतिले मात्रै पुगेन, आमालाई अनेक थरी गाली गरिन्। हामी चूपचाप सुनिरह्यौं।
साह्रै हुन थालेपछि हामीले पनि घरमै पानीको धारा जडान गर्यौं। त्यसपछि भने यो समस्या झेल्नुपरेको छैन।
यसैमा एउटा अचम्मलाग्दो संस्मरण पनि छ। गाउँभरिका मान्छेको शरीर ढाक्न चाहिने लुगाफाटो तयार पार्ने मेरा आमाबुवाले गाउँलेबाट कहिल्यै स्याबासी र धन्यवाद पाएको थाहा छैन। उल्टो अपमानै अपमान मिल्यो। म त्यसको साक्षी भएर हुर्किएँ।
गाउँका धेरैजसो युवा तथा तन्नेरी रोजगारीका लागि भारत जान्छन्। गाउँ छोड्नुअघि आमाबुबाको हातबाट कि थोरै दाम (पैसा) लिन्थे कि त बुबालाई अलि परसम्म पुर्याउन लगाउँथे। आमाबुबाले यसो गरिदिंदा यात्रा शुभ र सफल हुन्छ र राम्रो जागीर पाइन्छ भन्ने जनविश्वास थियो। यी तिनै मानिस हुन्थे, जसले हामीलाई आफ्नो घरको आँगनबाट पिंढीसम्म पुग्ने अनुमति दिएनन्।
अझै पनि कतिपयले आमाबुबाबाट त्यो वेला लिएको पैसा सुरक्षित रहेको बताउने गरेका छन्। किनकि ती पैसा उनीहरूका लागि शुभ ठहरिएका छन्। तर मेरा आमाबुबा, परिवार र समुदाय भने अझै अशुभ मानिन्छ।
गाउँ जस्तै राजधानी
२०६९ सालमा उच्च शिक्षाका लागि काठमाडौं आएँ। मलाई लागेको थियो, गाउँ छोडेसँगै जातीय विभेद पनि छुट्छ होला। काठमाडौंमा सम्मानपूर्वक बाँच्न पाइन्छ होला। तर देशको राजधानी पनि सोचे जस्तो रहेनछ।
स्नातक पढ्दै गर्दा जागीर पनि गर्नुपर्ने थियो। आफन्तलाई काम खोजिदिन आग्रह गरें। उनले परियार थर बदल्नुपर्ने सुझाव दिए। दोधारमा परें। परियार लेख्दा जागीर नपाउने डर, थर बदल्दा म को हुँ भन्ने प्रश्नले आफैंलाई चिथोर्थ्यो।
थर परिवर्तन गरेर बायोडेटा तयार गरें। त्यसकै आधारमा मेनपावर कम्पनीमा जागीर पनि पाएँ। तर हरेक दिन मन पिरोलिन्थ्यो। कतिन्जेल थर परिवर्तन गरेर जागीर खाने भन्ने लाग्थ्यो। पढाइ खर्च, कोठाभाडा, खानपिनको जोहो भइरहेको थियो। फेरि बेरोजगार भएर बस्न पनि सजिलो त कहाँ थियो र!
आठ वर्ष जति परिवर्तित थरकै आधारमा फरक फरक ठाउँमा काम गरें। जब प्रमाणित गरिएका कागजपत्रको खोजी हुन्थ्यो, जवाफ दिन्थें, “हराए, नयाँ बनाउन जान भ्याएकी छैन।”
अफिसमा कोही आफूसँग थर मिल्ने मान्छे आए भने सोधपुछ गरिहाल्थे। “तिमी कुन थरी हो?” भन्थे। मलाई अर्काको थरबारे के थाहा हुनु! सम्हालिन कर लाग्थ्यो र उल्टै प्रतिप्रश्न गर्थें, “तपाई चाहिं कुन पर्नु भो र?”
जे जवाफ आउँथ्यो, त्यसमै सही थाप्थें। अनि भन्थें, “ए हो र! म पनि त्यही हो नि।”
मेनपावर कम्पनीमा विदेश जाने युवाको कागजात मिलाउने काम हुन्थ्यो। विभिन्न क्षेत्र, थर, समुदायका मान्छे आउँथे। सबैका कागजात मिलाउँथें। जब ती कागजात हाकिमको टेबुलमा लग्थें, दलित युवाका कागजात देख्दा भने बेग्लै प्रतिक्रिया पाउँथें। हाकिम भन्थे, “दमाईं, कामीको त के काम गर्नु, भर नहुने जात!”
यस्तो सुनिरहँदा मभित्रको परियार घाइते हुन्थ्यो। तर चूपचाप सुन्थें र त्यो घडी टारिदिन्थें। तैपनि मन अशान्त भइरहन्थ्यो।
आठ वर्ष पहिचान लुकाएर बसें। जागीर खाइरहँदा बदलिएको थरकै आधारमा साथीहरू बने। त्यही अनुसारको मान-सम्मान पनि पाएँ। तर भित्रभित्रै एक्लिंदै र विरक्तिंदै गएँ। थर बदलेर काम गर्न शुरूमा पनि मन त लागेको थिएन, पछि पनि ठीक लागेन। साह्रै पिरोल्न थालेपछि त्यो परिचय त्यागें, त्यो काम पनि छाडें। परियार थरबाटै कामको खोजीमा लागें।
थुप्रै ठाउँमा कामका लागि निवेदन दिएँ। तर काम पाउन सकिनँ। थरकै कारण सबै ठाउँमा जागीर पाइनँ त भन्दिनँ, तर थरको पनि केही न केही भूमिका रह्यो।
२०७४ सालको हिउँदतिर हो, संयुक्त राष्ट्रसंघ नेपालमा ‘ट्रेनीशिप’ का लागि आवेदन दिएँ। लिखित परीक्षामा नाम निकालें। अन्तर्वार्तामा मलाई प्रश्न गरिएको थियो, “किन गरिरहेको जागीर छाडेर यसमा आउन चाहनुहुन्छ?”
मेरो उत्तर थियो, “म हुनुको अर्थ खोज्न।”
यति बोलेपछि मेरो गला अवरुद्ध भयो। धेरै बोल्न सकिनँ, मैले भोगेको विभेदको पीडाले होला।
अर्को पल्ट पनि अन्तर्वार्तामा यस्तै प्रश्न आयो। मैले त्यस्तै उत्तर दिएँ। यस पटक अलिकति थपें, “म जस्तै आवाजविहीन समुदायको आवाज बन्न चाहन्छु।”
यस पटक उत्तीर्ण भएँ। यूएन वुमन नेपालमा सातौं ब्याचको एक ‘ट्रेनी’ का रूपमा छानिएँ।
ती ११ महीना मानव अधिकार, स्वतन्त्रता, समानता, समता र आत्मसम्मानबारे बुझ्ने मौका पाएँ। त्यसले मभित्र रहेको हीनताबोधलाई हटाउँदै लग्यो। निर्धक्कसँग बोल्न सक्ने भएँ। बल्ल बुबाले भन्ने गरेको ‘विभेद विरुद्ध बोल्नुपर्छ’ भन्ने कुरा अनुभूत गरें। गलत प्रवृत्ति, मूल्यमान्यता, परम्परा, चालचलन र व्यवहार विरुद्ध बोल्नै पर्ने रहेछ। म पनि बोल्न थालेकी छु। लाग्छ, सबैले जातीय मात्रै होइन, सबै प्रकारका विभेद विरुद्ध बोल्नै पर्छ।