८७ वर्षमा कम्प्युटर सिके, लेखिसके दुई किताब
मीन प्रसाद गौतमको सक्रिय जीवनले हामीलाई सिकाउँछ, दृढ इच्छाशक्ति भए ढल्किंदो उमेरमा पनि ऊर्जाशील रहेर मनचिन्ते काम गर्न सकिन्छ।
भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय। अन्तर्मनदेखि इच्छा भए जतिसुकै कठिन लाग्ने काम पनि गर्न सकिन्छ भन्ने उदाहरण समाजमा विभिन्न व्यक्तिले दिंदै आएका छन्। यही लहरमा राख्न सकिने नाम हो, मीन प्रसाद गौतम।
८० वर्ष पार गरेका मानिसमध्ये ऊर्जाशील र व्यस्त कमै भेटिन्छन्। त्यसमा पनि त्यो उमेरमा आएर प्रविधिसँग साइनो गाँसेर सिपालु बन्न झन् कमैले जाँगर चलाउँछन्। गौतमले ८७ वर्षे उमेरमा कम्प्युटर सिके। साहित्य सिर्जना गर्ने उनी आफ्नो रचना आफैं टाइप गर्छन्, कम्प्युटरमै सच्याउँछन्।
रुपन्देहीको सैनामैना नगरपालिका-१, रानी बगियामा बस्छन् गौतम। १९९२ कात्तिक ६ गते जन्मिएका उनी २०१७ सालमा घरेलु उद्योग विभाग मार्फत सरकारी नोकरीमा प्रवेश गरे। उनी २९ वर्षपछि २०४५ सालमा निवृत्त भए। त्यसपछिको करीब तीन दशक खेतीपातीको रेखदेख र सामाजिक काममा रमाए। अवकाशपछिको फुर्सदिलो समय कटनीको बहाना बनिरहेको थियो। रुपन्देहीकै सियारी गाउँपालिका-४, दयानगरमा खेती छ उनको।
खेतीपातीको काममा खट्न उमेरले साथ नदिएपछि व्यस्त रहने धागो चुँडियो। अर्कातिर, गाउँटोलमा वर्षौंदेखि बस्दै आएका छरछिमेकका साथीहरू एकपछि अर्को गरी बसाइँ सर्दै गए। उनले आफूलाई एक्लो ठान्न थाले।
‘घरमा हामी दुई जना बूढाबूढी मात्र थियौं। मलाई एक्लोपनले समय बिताउन मुश्किल जस्तो लाग्यो,’ आफ्नो कवितासंग्रह आत्म दर्शनको भूमिकामा गौतमले लेखेका छन्।
समय कसरी बिताउने भनी सोच्दा घरमै स्वाध्ययन गरेर बस्ने उपाय उनलाई उचित लागेछ। ८० वर्षे उमेरमा अध्यात्म र धर्मदर्शनका किताब पढ्न थाले।
पढेका कुराको सारांश पद्य ढाँचामा लेख्थे। तर त्यस वेला उनलाई छन्दका सैद्धान्तिक पक्ष थाहै थिएन। छन्दका आधारभूत तत्त्वको ज्ञान विनै उनले एक दर्जन जति कविता लेखे।
छन्द सिक्ने उत्कट इच्छा भए पनि त्यसको मेसो मिलिरहेको थिएन, कता जाने, कोसँग सिक्ने?
यत्तिकैमा एक परिचितले काठमाडौंबाट कवि तथा समालोचक देवी नेपालको छन्द कविता लेख्न सिकाउने पुस्तक छन्द पराग ल्याइदिए। उनलाई छन्दमा डोर्याउने हात त्यही किताब बनिदियो।
‘घन घोटी बञ्चरो भने जस्तै त्यही किताबलाई गुरु मानेर आफैं मिहिनेत गर्दै सिक्दै गर्दा पहिले लेखिएका र पछि लेखिने कविताहरूले गणको साँचोमा कुदिएर छन्दको नाम पाए,’ गौतमले आफ्नो सिकाइ प्रक्रियाबारे लेखेका छन्।
सिकाइमा अभ्यस्त हुँदै जाँदा उनले सिर्जनाको मूल बाटो छन्द कवितालाई नै बनाए। कविता लेख्दै पटक पटक आफैले सच्याउँदै गए। त्यसै क्रममा कृतिको तयारी गरे। पहिलो कृतिका रूपमा २०७४ सालमा आत्म दर्शन कवितासंग्रह निकाले। यसमा ७० वटा कविता छन्।
यसपछि २०७५ सालमा रामगीताको छन्दोबद्ध अनुवाद तथा नेपालका चार र भारतका चार धामबारे आठधाम तीर्थ दर्शन कविताकृति प्रकाशन गरे।
अध्यात्म रामायणको उत्तर काण्डमा रहेको ६२ श्लोकको रामगीतालाई रामानन्द गिरीले गरेको नेपाली अनुवादलाई मुख्य आधार बनाएर गौतमले ५५१ श्लोकमा मौलिक कृति रामगीता ल्याएका हुन्। उनले वेदान्तको ज्ञान भएर लेखेको नभई ८२ वर्षे उमेरमा सम्भवत: रामकै प्रेरणाबाट यी कविता लेखेको बताएका छन्। जसमा उनको आध्यात्मिक गहिराइ भेट्न सकिन्छ। यसको अन्तिम श्लोकले जीवको ईश्वरीय सत्ता स्विकारेको छ-
‘म’ हुँ म भन्छु तर को म हुँ भनि,
चिनिन्न आफूकन यो म हुँ भनि
न स्थूल हुँ सूक्ष्म न कारणै म हुँ
केवल ‘म’ कूटस्थ स्वरूप आत्म हुँ।
ल्यापटपसँग मित्रता
माथि चर्चा गरिएका तीन कृति प्रकाशन गर्दासम्म गौतमले प्रविधिलाई आत्मसात् गरिसकेका थिएनन्। उनी कलमले लेख्थे। केरमेट गर्थे र साफी गर्थे।
कलमको स्पर्शमा रमाइरहेका उनका औंला ८७ वर्षको उमेरमा मात्र कम्प्युटरसँग खेल्न थालेका हुन्। यस उमेरमा कम्प्युटर सिक्ने रौस कसरी जाग्यो त उनमा?
“लेखेका पाना अरूलाई टाइप गर्न दिंदा र टाइप गरेको सच्याउँदा थुप्रै समस्या भोगें, त्यही भएर ढिलै भए पनि प्रविधि सिकूँ भन्ने लाग्यो,” उनी भन्छन्।
केही वर्षअघिको कुरा हो, पोखरामा छोरीको घर गएका थिए। हजुरबाको लेखपढ गर्ने जोशजाँगर देखेर नातिनीले ल्यापटप किनेर दिइन्। नातिनीले ल्यापटप चलाउने, टाइपिङका आधारभूत कुरा र युनिकोड नेपाली पनि सिकाइन्।
घर फर्केपछि गौतमले जानीनजानी ल्यापटपको कीबोर्डमा हात चलाउन थाले। बिस्तारै टाइपिङ सिक्दै गए।
यो सिकाइ प्रक्रिया कति गाह्रो भयो त भन्ने जिज्ञासामा उनी भन्छन्, “एकचित्तले लागेपछि सिक्न कठिन भएन।”
ल्यापटप चलाउँदा र टाइपिङ गर्दा बीच बीचमा आउने प्राविधिक समस्याबारे भने उनी मेसो पाउँदैनन्। त्यस्तो अवस्थामा दुई नातिले समस्या सुल्झाइदिन्छन्। उनीहरू पेशाले इन्जिनीयर हुन्।
प्रविधिमा अभ्यस्त हुँदै गएपछि गौतमले पछिल्ला दुई वर्षमा आफैंले टाइप गरेर दुई वटा कृति तयार पारिसकेका छन्। कवितासंग्रह साहित्य मञ्जरी र आध्यात्मिक दर्शन सर्वधर्म परिचय प्रकाशोन्मुख छन्।
अहिले ८९ वर्षमा हिंडिरहेका गौतम आउँदो कात्तिक ६ गते ९० लाग्दै छन्। तर स्वाध्ययन र लेखनमा थाकेका छैनन्।
उनको प्रेरणादायी व्यक्तित्वबारे साहित्यकार मोदनाथ प्रश्रितले आत्म दर्शन कृतिमा लेखेका छन्, ‘उमेर, ठाउँ, समय, परिवेश चाहे जस्तोसुकै होऊन् मानिसले भित्री हृदयबाट आँट गरे जीवनमा धेरै क्षेत्रमा सफलता हासिल गर्न सक्दो रहेछ भन्ने जीवन्त प्रमाण मीन प्रसादजीका कविताले दिएका छन्।’
गौतमको नयाँ कुरा सिक्ने जिज्ञासु स्वभाव र अविरल सक्रियताबाट हामी सबैलाई प्रेरणा मिलोस्।