सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत हो : प्रधानमन्त्री दाहाल
जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनताको भलो नचिताउने गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्।
नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो,” दाहालले भने, “जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन/रहँदैन।”
उनले परिवर्तनका पक्षमा खुलेर लेख्न र बोल्न बुद्धिजीविलाई आग्रह गरेका छन्। “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ,” उनले भने, “बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुहोस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पर्दैन।”
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने उल्लेख गरे। “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ,” दाहालले भने, “हिजो विचार निर्माण र संगठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ।”
बुद्धिजीवीले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्नेमा दाहालले जोड दिए। “क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ,” उनले भने।