पाँच घण्टामै खरानी भयो डेल्टा मार्ट
बुटवलको मिलनचोकस्थित डेल्टा मार्टमा आगलागी हुँदा सरसामान जलेर नष्ट भएका छन्।
मार्टको चौथो तलबाट आगलागी शुरू भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत शर्ट भएर आगलागी भएको देखिएको छ।
बिहीबार बेलुकी साढे ५ बजे आगो लागेको थियो। आगोले चारतले भवनलाई पूर्ण रूपमा क्षति पुर्याएको छ।
भवनमा स्टेशनरी, विद्यालयका तयारी पोशाक, कपडा, खेलकूदका सामग्री, नेपाली जुत्ताको बिक्री भण्डार र खाद्यान्नका सामान थिए। यसमा बुटवलका ठूला व्यवसायी र निजी एवं सामुदायिक विद्यालयको प्रमुखको लगानी थियो।
आगलागी हुने बित्तिकै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले निभाउने कोशिश गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा पनि आगो निभाउन खटिएका थिए।
त्यस्तै, बुटवल उपमहानगर, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका गरी १५ वटा दमकल परिचालन गरिएका थिए।
सबै पक्षको प्रयासका बावजूद आगो नियन्त्रणमा लिन पाँच घण्टा लागेको डीएसपी पण्डितले बताए। त्यतिन्जेल भवनसँगै त्यसमा रहेका सबै सामान जलेर नष्ट भइसकेका थिए।
आगलागीबाट करोडौं रकम बराबरको क्षति भएको अनुमान गरिएको छ। यकीन विवरण आउन भने बाँकी रहेको डीएसपी पण्डितको भनाइ छ। मार्ट सञ्चालकले भने झन्डै ५० करोडको क्षति भएको जनाएका छन्।