‘सुपर एट’ मा भारतको विजयी शुरूआत
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ‘सुपर एट’ चरणमा भारतले विजयी शुरूआत गरेको छ।
गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनायो।
भारतका लागि ब्याटिङतर्फ सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय पारी खेले। यस्तै, हार्दिक पान्ड्याले ३२, विराट कोहलीले २४, ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम् दुवेले १० रन बनाए। अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ अफगानिस्तानका लागि राशिद खान र फजलहक फारूकीले समान तीन विकेट लिए भने नवीन उल हकले एक विकेट लिए।
अफगानिस्तानका लागि ब्याटिङतर्फ अजमातुल्लाह उमरजाईले सर्वाधिक २६ रन बनाए। यस्तै, नजिबुल्लाह जद्रानले १९, गुल्बदिन नाइबले १७, मोहम्मद नबीले १४, नूर अहमदले १२ तथा रहमानउल्लाह गुरबाजले ११ रन बनाए। अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अर्धशतकीय पारी खेलेका भारतका सूर्यकुमार यादव ‘प्लेयर अफ द म्याच’ चुनिए।
सुपर एट चरण अन्तर्गत भारतको दोस्रो खेल अब बाङ्लादेश विरुद्ध हुनेछ। यस्तै, अफगानिस्तानले अर्को खेल अस्ट्रेलिया विरुद्ध खेल्नेछ।