पश्चिम तराईमा गर्मीबाट जोगिनै मुश्किल
केही सातायता बढेको अत्यधिक गर्मीले पश्चिम तराईमा ज्यान जोगाउनै मुश्किल भएको स्थानीय बासिन्दा सुनाउँछन्।
बर्दियाबाट जेठ १७ मा बसमा आएका कैलालीको कैलारी गाउँपालिका-७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगर मसुरिया बजारमा उत्रिए। त्यसपछि से १ ख ८१० नम्बरको बस चढेर घरतिर लागे।
आमाबुबासँगै यात्रा गरिरहेका उनलाई गर्मीले छटपटी भयो। हसुलिया बसपार्क पुगेपछि आराम गर्न खोजे। रूखको शीतलमा एकछिन सुस्ताए। केही बेरमा ब्युँझाउन खोज्दा उठेनन्। “सुतेकै अवस्थामा मृत्यु भयो,” इलाका प्रहरी कार्यालय, हसुलियाका प्रहरी निरीक्षक लोकेन्द्र चन्द भन्छन्।
मसुरियादेखि हसुलियासम्मको दूरी १७ किलोमिटर मात्रै छ। मध्याह्नतिर मसुरियाबाट हसुलियातिर लागेका उनको गर्मीकै कारण स्वास्थ्य समस्या भएर ज्यान गएको हुन सक्ने प्रहरी निरीक्षक चन्दको भनाइ छ। जेठ लागेसँगै पश्चिम तराईमा अत्यधिक गर्मी बढेको छ।
त्यस्तै, असार ४ मा धनगढी उपमहानगरपालिका-१६ का ५३ वर्षीय बलराम मग्राती एक्कासि बेहोश भए। तत्कालै उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगियो। उपचारका क्रममै उनको ज्यान गयो।
गंगा दशहरा पर्वको अवसरमा असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा मेला लागिरहेको छ। मग्रातीले मेलामा राखिएको होटलको स्टलमा काम गर्दै आएका थिए। काम गर्दागर्दै उनी बेहोश भएको आफन्तजनले बताए।
सेती प्रादेशिक अस्पतालका प्रमुख डा. शेरबहादुर कमरले अत्यधिक गर्मीका कारण शरीरको तापक्रम बढेपछि मान्छे बेहोश हुने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता घटना अस्पतालमा आइरहेको बताउँछन्। “यस्ता समस्या देखिएको बिरामीको ज्यान पनि जान सक्छ,” डा. कमर भन्छन्।
हसुलियामा ज्यान गएका इन्द्रबहादुर राना मगर र धनगढीमा ज्यान गएका बलराम मग्रातीलाई पनि त्यस्तै समस्या आएको हुन सक्ने उनको भनाइ छ। गर्मीका कारण बेहोश हुने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने लगायत समस्या लिएर अस्पताल पुग्नेको संख्या बढेको डा. कमर बताउँछन्।
लामो समयदेखि पानी नपरेका कारण पश्चिम तराईमा गर्मी बढेको छ। पछिल्लो तीन सातादेखि तातो हावा र तातो लहर (लू) चलिरहेको छ। जसले गर्दा बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ। मध्याह्नतिर त जस्तापाता र टिनले छाएको घरमा बस्नै नसक्ने अवस्था आएको स्थानीय बासिन्दा बताउँछन्।
धनगढी-७, सिमल टोलकी ८५ वर्षीया सेठिया डगौरा असार ६ गते मध्याह्न छिमेकीको निर्माणाधीन घरमा बसिरहेकी थिइन्। जेठ लागेयता दिनभर घरकै छायामा बस्दै आएकी छन्। “हमार घर टिनले छाईल बा, तबे मारे महाजोर तातुल रहथ (हाम्रो घर टिनले छाएको छ। त्यसैले धेरै जोरले तात्छ,” डगौरा भन्छिन्।
जमीन तातेर घर सेलाउनै नपाउने गरेको उनी बताउँछन्। दिउँसो टिनको छानामुनि बस्नै नसकिने र पंखा चलाउँदा तातो हावा फाल्ने गरेको उनको भनाइ छ।
झमझम पानी पर्नुपर्ने असारमा पनि साह्रै गर्मी भएको उनी सुनाउँछिन्। “यी साल महा जोर घाम लागठ भगनुवा लैजाईत कि का, मोर टे भुरउर डल्बलाई हसक लागठ (यो वर्ष धेरै गर्मी छ भगवानले लैजान्छन् कि क्या हो, धेरै आपत् छ,” डगौरा भन्छिन्।
गर्मी बढेसँगै खानेपानीको पनि समस्या भएको छ। केही दिनदेखि नलमा पानी आउन छाडेको सिमल टोलका राजकुमार चौधरी सुनाउँछन्। “हाम्रो टोलका सातमध्ये पाँच वटा हातेनलमा पानी आउनै छोड्यो,” चौधरी भन्छन्, “खानेपानीका लागि छिमेकीको नलमा जान्छौं।”
अत्यधिक गर्मीका कारण पश्चिम तराईको दैनिकी नै बिथोलिएको छ। दिनभर बजार-व्यवसाय बन्द रहने गरेको छ। गर्मीका कारण पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा विद्यालय तीन सातादेखि बन्द छन्। असार पहिलो सातादेखि पढाइ शुरू गर्ने तयारी गरेका विद्यालयले फेरि बिदा थपेका छन्।
स्थानीय सरकारले सूचना जारी गरेर बिदा थपिरहेका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाले असार ५ मा सूचना जारी गरेर गर्मी बिदा थपिएको जनाएको छ। लम्कीचुहाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैसीका अनुसार असार ११ गतेसम्म बिदा दिइएको छ।
जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार पछिल्लो एक महीनामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको आसपास छ। “सन् १९९६ पछि पहिलो पटक सबैभन्दा धेरै तापक्रम मापन गरिएको छ,” फिल्ड कार्यालयका प्रमुख सिंगल चौधरी भन्छन्।
उनका अनुसार जेठ १७ मा सबैभन्दा बढी अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै, त्यो दिन न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस थियो।
त्यसयता पनि धेरै दिन अधिकतम तापक्रम ४४ डिग्री आसपास रहेको चौधरी बताउँछन्। असार ५ मा पनि अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको छ।
पूर्वी नेपालबाट यस वर्षको मनसुन भित्रिएको १० दिन बितिसक्दा पनि पश्चिम तराईमा भने पुगेको छैन। पश्चिमी वायु र भारतको बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण त्यस क्षेत्रमा मनसुनी वायु पुग्न सकेको छैन।
विभागका अनुसार असार ६ गतेसम्म मनसुनी प्रणाली कोशीबाट मधेश, गण्डकी र बागमती प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। कर्णाली र सुदूरपश्चिमसम्म पुग्न अझै केही दिन लाग्ने विभागको आकलन छ।
मनसुनी प्रणाली नपुग्दासम्म पश्चिमी तराईमा गर्मी यथावत् रहने विभागले जनाएको छ। विभागले अझै एक/दुई दिन तातो हावा तथा तातो लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
चिकित्सक पनि गर्मीका समयमा सतर्कता अपनाउनुपर्ने बताउँछन्। सेती प्रादेशिक अस्पतालका प्रमुख डा. कमर दिउँसो घर बाहिर ननिस्कन सल्लाह दिन्छन्। गर्मीबाट जोगिन चिसो स्थानमा बस्ने, पानी र झोल पदार्थ पर्याप्त मात्रामा पिउने, हल्का कपडा लगाउने र घाममा जान नहुने उनी सुझाउँछन्।