लरीसँग बस ठोक्किंदा तीन यात्रुको मृत्यु, सात घाइते
सर्लाहीको बागमती नगरपालिका-१ स्थित रायमाझी चोकमा रोकिराखेको लरीमा बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रकसँग ठोक्किएको हो। दुर्घटनामा बसमा सवार तीन यात्रुको ज्यान गएको छ।
दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए। दुर्घटनामा सात जना घाइते भएका छन्।
उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पुर्याएको छ। घाइतेको अवस्थामा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।