मण्डला थिएटरमा ‘म्याड फेस्ट’ हुँदै
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा तीनदिने नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ हुने भएको छ।
बुधबार मण्डलामा पत्रकार सम्मलेन गरेर ‘म्याड फेस्ट’ बारे जानकारी दिइएको छ। मण्डला थिएटरका पूर्व विद्यार्थी र मण्डलाकै संयुक्त प्रयासमा महोत्सव हुन लागेको निर्देशक अनुप न्यौपानेले बताए।
असार २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवमा मण्डलाकै विद्यार्थीबाट सिर्जना गरिएका ६ वटा नाटक प्रदर्शन गरिनेछन्। त्यस्तै, अन्य कला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, संगीत प्रस्तुति लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ।
महोत्सवका लागि ‘रेल्वे टु नोह्वेर,’ ‘मिरर,’ ‘सिल्पिनी,’ ‘नुग्धा,’ ‘आगम’ र ‘अंकुरण’ नाटक छनोट भएका छन्। सामाजिक समकालीन मुद्दा र प्रयोगात्मक एब्सर्ड नाटकलाई छनोट गरिएको महोत्सवका निर्देशक न्यौपानेले बताए।
उनका अनुसार १८ वटा कथाबाट आठ छनोट गरी १५ दिने प्रोडक्शन वर्कशप गरेर ६ वटा नाटकलाई अन्तिम चरणका लागि छानिएको हो। पहिलो संस्करण भएकाले अहिले मण्डलाकै टोली समावेश भए पनि आगामी संस्करणमा देशभरका थिएटर र कलाकारसँग पनि जोड्ने उनको भनाइ छ।
महोत्सवका लागि मण्डलाले टिकट बिक्री र अनलाइन मार्फत समेत बूकिङ खुला गरिसकेको छ।