‘के रे’ को गन्थन
नेपाली भाषा ध्वनि लहरको चढाइ-उत्राइका साथ बोलिने भाषा होइन, जसरी छिमेकी भाषा हिन्दी वा उर्दू बोलिन्छ।
यो लेख हिमालखबरमा २०८१ जेठ २४ मा प्रकाशित सरला गौतमको ‘के रे?’ लेख पढ्दा ‘के रे’ शब्दबारे मेरो मथिंगलमा रन्थनिएका कुराको गुजुल्टो हो, सरला गौतमको रचनामाथिको टीकाटिप्पणी होइन। उनले आफ्नो लेखमा ‘के रे’ले व्यक्त गर्न सक्ने अनेक भावार्थमध्येको एक विशेष भावार्थलाई समेटेर समीक्षा अधिकारीले गाएकी एक नेपाली गीतमा अभिव्यक्त नारीलाई हेर्ने समाजको आँखाप्रति स्त्रीपात्रको नामन्जुरी र आक्रोशको जीवन्त अभिव्यक्तिको विषय समेटेकी छिन्। उनी गीतको बारे लेख्छिन्-
“‘के रे’ अघि र पछिका शब्दहरूले उकाली-ओराली गर्छन्। यो आरोह-अवरोहलाई संगीतको धुनले पछ्याउँछ। ...जब उनीहरू एकै स्वरमा ‘के रे’ भन्दै कड्किन्छन्, आँखाहरू मोहनी होइन, आक्रोशको ज्वालाले तातिन्छन्, मथिंगल घुम्छ। आइमाईको माधुर्य र कोमलता मात्र स्वीकार्य मान्ने समाजलाई तिनको आक्रोशले तरंगित पार्छ।
... हाम्रो सामाजिक र पारिवारिक संस्कारमा सिकाइने विनयशीलता बलवान् छ। खासगरी छोरीमान्छेलाई ‘हस्’ र ‘हजुर’ को कोर्स नै गराइन्छ। ... ‘के रे’ अर्थात् प्रश्न, यो विमतिको संकेत हो। सहमतिमा टाउको मात्र हल्लाउने ‘हजुर’ शब्दको विपरीत धार हो, ‘के रे?’
...
तपाईं कहिले भन्ने ‘के रे?’
हो, ‘के रे’ नामन्जुरी जनाउने, विरोधजन्य भावको कडा अभिव्यक्ति पनि हो जुन भावको ओजपूर्ण अभिव्यक्तिका सम्बन्धमा सरला गौतमले गीतका गायिका र अभिनेत्रीका भावभङ्गिमाको मुक्तकण्ठले तारिफ गरिन्। तर के नेपाली शब्दकोशहरूले सरला गौतमले अर्थ्याएको “‘के रे’ अर्थात् प्रश्न, यो विमतिको संकेत हो” भन्ने अर्थ दिन्छ? र यसको व्याकरणिक कोटिका बारे कोशकारहरूको कस्तो मत छ?
नेपाली कोशहरूमा ‘के रे’
‘के रे’ का सम्बन्धमा बालकृष्ण पोखरेल निर्देशक रहेको नेपाली बृहत् शब्दकोशले अर्थ दिन्छ, ‘अव्य. [के+रे] कुराकानीमा आउने एक किसिमको थेगो’; डा. नरेन्द्र चापागाईंको नेपाली शब्दभण्डार भन्छ, ‘अव्य. कुराकानीमा आउने एक किसिमको थेगो’; हेमाङ्गराज अधिकारी प्रधान सम्पादक रहेको प्रयोगात्मक नेपाली शब्दकोशले लेख्छ, ‘नि. कुरा नबुझ्दा वा नसुन्दा प्रश्न वा आशङ्कामा प्रयोग हुने शब्द’; वसन्तकुमार शर्मा नेपालको शब्द सागर भन्छ, ‘[के+रे] अव्य. के हो? के अरे।
कुराकानीको सिलसिलामा विषय चर्चामा क्रम रोकिन जाँदा कुरा रोकिएको छैन भन्ने जताउने एक प्रकारको थेगो’; बालकृष्ण पोखरेलको पोखरेलको बृहत् नेपाली-अङ्ग्रेजी-नेपाली कोशले भन्छ, ‘वि.बो. के भन्या रे?’; श्रीधर लोहनी (समेत) को नेपाली-अङ्ग्रेजी शब्दकोश लेख्छ- अव्य. अरूको कुरा नसुन्दा वा नबुझ्दा प्रश्नवाचक रूपमा प्रयोग गरिने शब्द (अर्थ नेपालीमा अनुदित)।
रुथ लैला स्मित प्रमुख रहेको ए प्राक्टिकल डिक्सनेरी अफ मोर्डन नेपाली, सूर्यविक्रम ज्ञवाली प्रधान सम्पादक रहेको नेपाली संक्षिप्त शब्दकोश तथा गङ्गाप्रसाद उप्रेती प्रधान सम्पादक रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोशमा चाहिँ ‘के रे’ को प्रविष्टि छैन। प्रयोगात्मक नेपाली शब्दकोशले ‘के रे’ डिको छुट्याएर लेखेको छ भने बाँकी अरूले एकै डिकोमा लेखेका छन्। स्मरण रहोस्, सरला गौतमको लेखमा पनि डिको छुट्टिएको छ।
नेपाली कोश यति मात्र होइनन्, अरू पनि छन्। शुरू शुरूमा हर्षनाथ भट्टराई प्रभृति धेरै जनाले नेपाली शब्दकोश लेखेर योगदान दिएका थिए। ती शुरूआती चरणदेखि बालचन्द्र शर्मासम्मका कोशमा पनि ‘के रे’ का बारेमा माथि चर्चामा आएका कुराभन्दा बढी केही हुनुनपर्ने हो भन्ने मेरो ठनाइ छ, किनभने यदि बढी कुरा भएका भए पछि कोश लेख्ने कोशकारहरूले थपक्क टिपिसकेका हुन्थे।
कोशमा रहेका माथि चर्चित अर्थहरूबाट नेपाली कोशकारहरूको अर्थ लेखन शैली र गहिराइको मापन हुन्छ। खोइ, सरला गौतमले सङ्केत गरेको “के रे अर्थात् प्रश्न, यो विमतिको संकेत हो” भन्ने ‘नामन्जुरी र आक्रोशको जीवन्त अभिव्यक्ति’ जन्य अर्थ कुन कोशको अर्थको परिधिले समेट्छ? कोशहरूले बरु यसको व्याकरणिक कोटि फरक फरक लेखेका छन्।
‘के रे’ - १ : अस्पष्टता र स्पष्टताका लागि जिज्ञासा
मेरो विचारमा ‘के रे’ को पहिलो अर्थ वक्तालाई अरू कसैले भनेको कुरा अस्पष्ट हुनु र त्यसप्रति जिज्ञासा राख्नु हो। प्रयोगात्मक नेपाली शब्दकोश र नेपाली-अङ्ग्रेजी शब्दकोशले यस अर्थलाई समेटेका छन्। सरला गौतमले चर्चा गरेको ‘के रे’ को अर्थ यस वर्गमा पर्दैन।
कसैले केही भनेको कुरा आफूले राम्ररी नसुन्दा वा नबुझ्दा सो कुरा फेरि भनिमाग्न वा दोहर्याइमाग्न यसको प्रयोग हुन्छ, तर यो अनौपचारिक प्रयोग हो र यसमा सम्मान खासमा हुँदैन। त्यसैले औपचारिक तवरले सम्मान गर्नुपर्ने मानिससित यस्तो खाले प्रयोग सामान्यतः गरिंदैन। तर यस कुराको जनाउ यो अर्थ ध्वनित गर्ने शब्दकोशहरूले दिएका छैनन्। गम्भीर कोशहरूले यस्ता जनाउ दिनु आवश्यक हुन्छ।
यो पनि,
‘के’ शब्द प्रश्नवाचक भएको हुँदा यसले प्रश्नभावका लागि ध्वनिको चढाइ खोज्छ र ‘रे’ निपातको विशेषता अनुसार यहाँ ‘रे’ ले पूर्व वक्ता कसैले भनेको तर वाक्यमा लोप भएको खण्ड ध्वनित गर्नाका साथै फेरि ‘त्यो कुरा भन त’ भन्ने अनुरोध, आज्ञा-आदेश अथवा त्यो हो वा होइन भन्ने प्रश्नात्मक जनाउ पनि लुप्त राखेको हुने हुँदा लगभग वाक्य स्तरमै रही यसले भावाभिव्यक्तिको विविधता प्रस्तुत गर्छ।
यसै परिवेश र अर्थमा द्वितीय पुरुष वक्ताले तत्काल नभनेको तर उसलाई थाहा भएको र आफूलाई पनि अलि अलि थाहा भएको कुरा बेलिविस्तारका साथ सुन्ने इच्छाले पनि यसको प्रयोग हुन्छ, जस्तै- ‘के रे, अस्ति सीताले के भनेकी थिई रे/अरे?’ यहाँ ‘के रे’ अनिवार्य छैन, वाक्यान्तको ‘रे’ निपातले यसको काम गर्छ, तर रहँदा वक्ताको जानकारीप्रतिको हुटहुटीको तीव्रता जनिन्छ। ‘के रे’ - ५ को दरबारिया शैली यही प्रयोगको विस्तार हो।
‘के रे’ - २ : नामन्जुरी र प्रतिकार
यस वर्गको ‘के रे’ मा प्रश्नकर्तामा अस्पष्टता हुँदैन, वक्तामा कुरा नसुनेको, नबुझेको वा सुनेको कुरामा आशङ्काको स्थिति हुँदैन। बरु अघिल्लो वक्ताको कुरामा आफ्नो नामन्जुरी वा विमतिको जाहेरी हुन्छ। ‘के रे’ को वक्ताले आफूभन्दा अघिल्लो वक्ताले भनेको कुरा राम्ररी बुझेको हुन्छ, अझ चाहिनेभन्दा बढ्ता बुझेको हुन्छ। त्यसैले यस प्रश्नमा ‘के तैँले भन्न खोजेको कुरा त्यही हो, त्यही तेरो मनसाय हो’ भन्ने खालको आफू स्पष्ट हुनका लागि अघिल्लो वक्तासित स्पष्टीकरणका लागि धम्कीपूर्ण माग हुन्छ। त्यसैले त्यहाँ कड्काइ हुन्छ, साथै आक्रोशमय आँखा तराइ आदि भङ्गिमा।
सरला गौतमको रचनाले समेटेको ‘के रे’ ले यस वर्गको अर्थवहन गर्छ, यस अर्थलाई कुनै शब्दकोशले समेटेको छैन। ‘के रे’ को ‘के’ ले सदा प्रश्नको बोध गराउँछ। त्यसैले यसको उच्चारण गर्दा नेपाली र अन्य धेरै भाषाको स्वाभाविक प्रकृति अनुसार ध्वनि (स्वर) माथि चढ्छ वा चढाउनुपर्छ। यसरी ध्वनि चढ्दा सामान्यभन्दा बढी चर्को भएर कड्काइ बन्यो र आँखा तराइ, मुट्ठी कसाइ, अनुहारमा रक्तरञ्जन आदि हाउभाउ पनि देखियो भने त्यसमा विपक्षीको बोलीप्रति सख्त नामन्जुरी र कडा प्रतिकारको अर्थबोध हुन्छ।
‘के रे’- ३ प्रतिकारको शिथिलता र आफैप्रति आश्चर्य
तर ‘के रे’ मा सदा यस्तो ध्वनि (स्वर) चढाइ हुँदैन। अधिकांशतः व्यवहारमा स्वरको चढाइलाई सामान्य राखेरै पनि नामन्जुरीको प्रतिवाद हुन्छ। जस्तै- हामी कुनै छलफल वा सरसल्लाहमा जुटेका छौँ र उपस्थित कसैले भनेको कुरा आफूलाई चित्त बुझेन भने पनि भनिन्छ, ‘के रे’, यो ‘के रे’ मा ध्वनि खासै चर्को हुँदैन। विवाद चर्कंदा ध्वनि चर्कन पनि सक्छ, त्यो बेग्लै कुरा हो। मेरो भनाइ के हो भने, नामन्जुरी र प्रतिकार कमजोर वा मलिन हुँदै जाँदा कड्काइ क्रमशः मत्थर हुँदै जान्छ।
यो पनि,
नामन्जुरी र प्रतिकार अति शिथिल भएर ‘के रे’ कथ्यमा सामान्य प्रश्नवाचक वाक्यमा हुनुपर्ने जति पनि ध्वनिको चढाइ नहुन सक्छ। यस अवस्थामा पनि ‘के रे’ को वक्तासित दोस्रो व्यक्तिबाट सुन्नुपर्ने, जान्नुपर्ने अस्पष्टता हुँदैन, उसले सबै बुझेको हुन्छ। परन्तु त्यसप्रति आफ्नो नामन्जुरी हुँदाहुँदै पनि प्रतिकारको अति शिथिलताले गर्दा आफैभित्र सृजित अस्पष्टताको आफैप्रतिको आश्चर्य बोधको भावको लाचार अन्यमनस्क अभिव्यक्तिको रूपमा ‘के रे’ प्रयोग हुन्छ। यस अवस्थाको प्रश्नभाव दोस्रो व्यक्तिलाई भन्दा आफैप्रति लक्षित हुन्छ। यसमा स्वर पटक्क चढ्न सक्दैन। यही स्वआश्चर्य बोधको भाव विस्तारमा ‘के रे’ - ४ देखा पर्छ।
‘के रे’- ४ विस्मरण र स्मरणको प्रयत्न
यस स्तरको ‘के रे’ मा जिज्ञासा हुन्छ तर ‘के रे’ - १ मा जस्तो दोस्रो व्यक्तिसित होइन। वक्ताले कुरा बिर्सन्छ, मनको अन्तरकुन्तरमा त्यसको सम्झना हुन्छ, तर त्यो पूर्णतः सग्लो रूपमा सम्झन सक्दैन अनि भन्न थाल्छ, ‘के रे, के रे’। यहाँ प्रश्न छ, मूलतः आफैसित। त्यसैले प्रश्नवाचक ‘के’ को उपस्थिति नरहे सरह अरू कथ्यकै समरेखामा ‘के रे’ को उच्चारण हुन्छ। ‘के रे’ को यस अभिव्यक्तिमा विस्मृत कुरालाई सम्झने प्रयत्नको छटपटी हुन्छ, ‘के रे’- १ र २ को भन्दा बिल्कुल बेग्लै परिस्थिति। यसमा आफूसितको प्रश्न भनेको विस्मरणसितको प्रश्न हो ‘के’ ले जनाउने र ‘रे’ ले जनाउने चाहिँ विस्मृत अंश हो।
नेपाली भाषा ध्वनि लहरको चढाइ-उत्राइका साथ बोलिने भाषा होइन, जसरी छिमेकी भाषा हिन्दी वा उर्दू बोलिन्छ। त्यसैले तराई मूलका नेपालीले र पहाडिया नेपालीले बोल्दा नेपाली भाषामै पनि ध्वनि लहरको चढाइ-उत्राइको अन्तर छुटिन्छ। तैपनि नेपाली भाषामा यदाकदा यस्ता वाक्यांश, पदावली वा अभिव्यक्ति इत्यादि छन् जसमा ध्वनिको चढाइ-उत्राइ आवश्यक हुन्छ। त्यस्तै वर्गको अभिव्यक्ति हो ‘के रे’ जसको ध्वनिको चढाइ-उत्राइले अर्थमा किञ्चित् अन्तर झल्काउँछ। यो ‘के रे’ - ३ र ४ ‘के रे’ सँगै अभिव्यक्त अरू शब्दका ध्वनिको समरेखामा उच्चारण हुन्छ।
‘के रे’- ५ अभिजात दरबारिया अभिव्यक्ति पद्धति
यो वर्ग अर्थगत नयाँ रूपको ‘के रे’ होइन। यो ‘के रे’ - १ कै एक खाले अभिव्यक्तिको संस्कारगत विस्तार हो। दरबारिया उपल्ला जनले प्रायः तेस्रो व्यक्तिसित ठाडै कुरा गर्दैनन् वा गर्दैनथे। बाहिरिया बिचरो तेस्रो व्यक्तिले आफ्नो जे भन्नु छ गजधम्मेलाई हात माड्दै बिन्ती चढाउँछ। अनि जब गजधम्मेले जवाफ दिने वेला हुन्छ, उसको नजर त्यहीं उपस्थित आफ्ना अह्रोटे-पह्रोटे वा हजुरियाउपर फिर्छ र ‘मर्जी’ हुन्छ, ‘के रे, त्यो कुरा।’ अथवा ‘के रे’ हालेर यस्तै केही ‘मर्जी’ हुन्छ।
हजुरियाले जुँगा चल्यो कुरा बुझ्यो भने झैं ‘के रे’ को ‘रे’ भित्र लुप्त कुराको बेलिविस्तार तेस्रो बिचरोलाई सुनाउँछ। त्यही हो, गजधम्मेले तेस्रो व्यक्तिलाई दिएको जवाफ। यसमा आफूलाई चढाइएको बिन्तीसित सम्बन्धित केही कुरा पहिला कतै सुनेको वा सम्झना भएको तर पूर्णत: नसुनेको वा जानकारी नभएको हुँदा सो कुरा फेरि भन त भन्ने भाव हुन्छ।
भाषाविज्ञ भीमनारायण रेग्मीले विसं २०५९ मा “दरबारी नेपाली भाषिका वर्णनात्मक अध्ययन” किताब निकालेका थिए। तर त्यसमा पनि दरबारिया कथनको यो शैलीको चर्चा हुन सकेन, यो शब्द स्तरको नभई अभिव्यक्ति शैली संस्कृति स्तरको कुरा भएकाले। तर अब इतिहासको गर्भमा लोप हुँदै गरेका यस्ता कुरा सकेसम्म कतै सुरक्षित राखिदिनु हाम्रो कर्तव्य हो। यसरी ‘के रे’ आफ्नो अर्थ स्तरबाट उक्लेर एक वर्गको अभिव्यक्तिको शैली संस्कृति समेत बन्न पुगेको पाइन्छ।
पुछारको गन्थन
‘के रे’ वास्तवमा हो के? के ‘के रे’ भनेको ‘एक प्रकारको थेगो’ भनेर नेपाली शब्दकोशको धर्म निर्वाह हुन्छ माथि केही कोशले भने जस्तै? थेगो के हो भन्नेबारे नै लामो बहस हुन सक्ला, हाल बहस नगरी साधारणतः कोशबाट अर्थ बुझ्न खोज्दा बुझिन्छ- ‘थेगो भनेको कुरा गर्दा बारम्बार दोहर्याइने निरर्थक बोली, शब्द वा वाक्यांश, रहनी’ (नेपाली बृहत् शब्दकोश) हो। के त यस्तै निरर्थक दोहर्याइ हो ‘के रे’? त्यसो हो भने यस लेखमा माथि चर्चा गरिएका ‘के रे’ का त्यतिका अर्थभाव निरर्थक दोहर्याइ हुन्?
अथवा यो सरला गौतमले भने जस्तो “‘के रे’ नामन्जुरी जनाउने, विरोधजन्य भावको कडा अभिव्यक्ति” होइन, केवल ‘रहनी’ (गीत वा सङ्गीतको क्रमशः दोहरिरहने अंश, टेक, स्थायी (नेपाली बृहत् शब्दकोश) मात्र हो?
‘के रे’ अव्यय, विस्मयादिबोधक वा निपात के हो? अव्यय आफै तन्क्याइलो झोला हो जसमा नाम, विशेषण आदि स्पष्ट व्याकरणात्मक कोटि छुट्टिएका शब्द बाहेक जे पनि छिर्छ। यो कुरा छोडौं, ‘के रे’ निपात हो कि विस्मयादिबोधक? लौ, शब्द कोटिको कुरा पनि नगरौं, यसले साधारण पाठकलाई झर्को लगाउँछ।
‘के रे’ को डिको जोडिन्छ कि जोडिंदैन? पदयोग र पदवियोगका बारेमा नेपाली विषय विज्ञहरूमा निकै विवाद छ। तर ‘के रे’ को डिको जोडाइ र छुट्टाइ त्यस कोटिको विवाद हो जस्तो मलाइ लाग्दैन। डिको जोडिएर लेखिने बेग्लै ‘केरे’ शब्द नेपालीमा छ। त्यो निपात हो र ‘क्यारे’ को अर्को रूप हो, पश्चिमेली अर्थात् गण्डकी र त्यसभन्दा पश्चिममा प्रयोग हुने, बागमती र त्यसभन्दा पूर्व यसलाई ‘क्यार’ वा ‘क्यारे’ भन्न रुचाइन्छ। यो ‘केरे’ लाई कोशकारहरूले स्तरीय नेपाली उच्चारण मानेनन् केरे त्यसैले कोशहरूमा यसले स्थान पाएन।
हाम्रो सरोकारवाला ‘के रे’ प्रश्नवाचक ‘के’ र ‘अरे’ को पर्याय ‘रे’ निपातको लगभग वाक्य स्तरको अभिव्यक्ति संरचना हो भन्छु म, यो पदावलीभन्दा माथिल्लो स्तरको हो। ‘के’ प्रश्नवाचक पछि वाक्यलाई चाहिने अन्य संरचना ‘रे’ भित्र अन्तरनिहित छ र केही चाहिं लोप, यस लेखमा माथि पनि यसको सानो सङ्केत छ। यो शब्द स्तरको संरचना होइन। त्यसैले ए प्राक्टिकल डिक्सनेरी अफ मोर्डन नेपाली, नेपाली संक्षिप्त शब्दकोश र प्रज्ञा नेपाली बृहत् शब्दकोशले यसलाई प्रविष्ट नगरेको हुनुपर्छ भन्ने मेरो विचार छ। नत्र, नेपाल प्रज्ञा प्रतिष्ठानकै सूर्यविक्रम ज्ञवाली प्रधान सम्पादक रहेको नेपाली संक्षिप्त शब्दकोशले लौ सानो आकारको भएकोले ‘के रे’ लाई प्रविष्ट गराएन भनेर मान्न सकिए पनि उही संस्थाको बृहत् नेपाली शब्दकोशमा प्रविष्टि पाएको ‘केरे’ ले उही संस्थाको त्यो भन्दा ढड्डू प्रज्ञा नेपाली वृहत् शब्दकोशले किन पाएन?
यस्तो मेरो विचार हो, अथवा कुरो के हो? ‘के रे’ भनेको एक प्रकारको थेगो, अथवा कुराकानीको सिलसिलामा विषय चर्चामा क्रम रोकिन जाँदा कुरा रोकिएको छैन भन्ने जताउने एक प्रकारको थेगो अथवा के भन्या रे अथवा कुरा नबुझ्दा वा नसुन्दा प्रश्न वा आशङ्कामा प्रयोग हुने शब्द इत्यादि भने पुग्ने हो शब्दकोशहरूको अर्थ लेखाइले? के यो गीत, कविताको रहनी हो (कुनै गीतमा हुनु बेग्ले कुरा हो)? हामी शब्दकोशको अर्थ लेखनको कुन स्तरमा छौँ? शब्दकोशले कुनै पनि शब्दले व्यक्त गर्ने अनेकन् भावहरू स्पष्ट हुने गरी हरेक अर्थभावको छुट्टाछुट्टै अर्थ दिनुपर्ने हो वा होइन, यदि यो शब्द हो भने? मैले कुराहरू बुझिनँ, नेपाली भाषाका जानकार मातृभाषीहरूले यसबारे कुरो बुझाइदिए हामी जस्ता अज्ञानीले पनि थोरबहुत जान्ने अवसर पाउने थियौं।
यो पनि पढ्नुहोस् :