‘प्रधानमन्त्रीले बजेट पुनर्लेखन गर्न लगाउनुपर्छ’
बजेटको मूल मान्यतामै त्रुटि देखिएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनर्लेखन गर्नुपर्ने जनाएको छ।
बुधबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मान्यतामै त्रुटि रहेको बताएका हुन्। “बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो,” लेखकले भने।
मन्त्रीहरूले बजेटको अधिकांश हिस्सा आफ्नो क्षेत्रमा लैजाँदा शक्तिको दुरुपयोग भएको उनको भनाइ थियो। “मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो,” लेखकले भने, “यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो।”
बजेटका विषयमा प्रतिपक्षभन्दा पनि सत्तापक्षकै सांसदले विरोध गरिरहेको उनले उल्लेख गरे। त्यसैले बजेटको पुनर्लेखन हुनुपर्ने लेखकको भनाइ थियो। “प्रतिपक्ष त संयमित छ। सत्तापक्षको जुन स्थिति देखिएको छ, प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई पुनर्लेखन गर्न लगाउनुपर्छ,” उनले भने।
मन्त्रालयगत बजेट विनियोजन लज्जास्पद देखिएको उनको भनाइ थियो। “यो सिद्धान्ततः नै गलत विनियोजन भएको छ। यो सरकारका लागि उचित विषय होइन,” लेखकले भने, “प्रधानमन्त्री र अर्थमन्त्रीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ।”
केही मन्त्रीले आफ्नो क्षेत्रमा धेरै योजना र बजेट हालेको भन्दै सत्तापक्षकै सांसद आलोचना गरिरहेका छन्। सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै बजेट एकपक्षीय भएको बताएका थिए।
अहिले संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ। जसमा अधिकांश सांसद विरोध जनाइरहेका छन्।