फिलिपिन्स सोसाइटीद्वारा निःशुल्क स्वास्थ्य शिविर
नेपाल फिलिपिन्स सोसाइटीले दीक्षालय नेपाल फाउन्डेशनसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दीक्षालय नेपाल फाउन्डेशनको विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा ७०० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा अत्याधुनिक उपकरण सहित विभिन्न स्वास्थ्य विशेषज्ञ सहभागी थिए।
शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा दुखाइ सम्बन्धी, हृदयरोग तथा पल्मोनरी, रेडियोलोजी, पेथोलोजी, नेत्ररोग, छाला सम्बन्धी रोग, पिसाब तथा मिर्गौला सम्बन्धी रोग, नाक, कान, घाँटी सम्बन्धी रोग, बालरोग, दन्तरोग तथा फोक्सो सम्बन्धी रोगको परीक्षण गरिएको थियो।
सोसाइटीका अध्यक्ष भोलाबहादुर विष्टले आगामी दिनमा पनि यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए। दीक्षालय नेपाल फाउन्डेशनका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले स्वास्थ्य शिविर आयोजनाका लागि सोसाइटीलाई धन्यवाद दिए।