बीएन्डसीलाई सम्बन्धन दिने गरी फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन माग
डा. गोविन्द केसीले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने गरी फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन्।
मंगलबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा केसीले बीएन्डसीलाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाउँदै फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका हुन्। गत चैत १२ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसीलाई कलेज सञ्चालन गर्न दिन सरकारका नाममा आदेश दिएको थियो।
“यो मुद्दाको सन्दर्भमा न्यायिक पुनरावलोकनले मात्र हुँदैन, संसदीय प्रक्रियाबाट जवाफदेही बनाउनुपर्छ,” केसीले भने।
इजलासको वरिष्ठ न्यायाधीशको हैसियतमा न्याय सम्पादनको प्रक्रिया र अन्तर्वस्तुलाई नियन्त्रण गरी तथ्यहरूको गलत व्याख्या गर्दै मेडिकल व्यवसायीको पक्षमा फैसला गरेको भन्दै केसीले न्यायाधीश चुडाललक्ष्यित आरोप पनि लगाएका छन्। यस्तै, फैसलाका क्रममा न्यायिक विचलन भएको भन्दै सो इजलासका वरिष्ठतम न्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग्याई थप आवश्यक कारबाही अघि बढाउन पनि उनले न्याय परिषद्को ध्यानाकर्षण गराएका छन्।
यसअघि सर्वोच्चले बीएन्डसीलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएसमा भर्नाको अनुमति दिने गरी प्रक्रिया अघि बढाउन आदेश दिएपछि केसीले फैसला पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका थिए।
यस्तै, आफ्ना माग पूरा नभए यही असार १४ गतेदेखि पुनः सत्याग्रह शुरू गर्ने पनि उनले बताएका छन्।
पूर्ण पाठ