सात दशक पुरानो पुस्तकालयको पुनःस्थापना
२०७२ सालको भूकम्पमा भत्किएको दोलखाको भीमेश्वर नगरपालिका-३, स्वयम्भूस्थानमा अवस्थित भीम पुस्तकालयको नयाँ भवन निर्माणसम्पन्न भएको छ।
“जिल्लाको सबैभन्दा पुरानो भीम पुस्तकालय भवन दाताहरूको सहयोगले ठडिएको छ,” भीमेश्वर-३ का वडाध्यक्ष स्टालिन श्रेष्ठले भने, “अब व्यवस्थापन समिति बनाएर पुस्तकालय सञ्चालन गरिनेछ।”
भवन निर्माणका लागि दोलखाका आत्मकृष्ण श्रेष्ठले दिवंगत श्रीमती रूपा श्रेष्ठको स्मृतिमा स्थापित रूपा फाउन्डेशन मार्फत १५ लाख रुपैयाँ प्रदान गरेका थिए। “हाम्रा किसान बाउबाजेले पुस्तकालय चाहिन्छ भनेर २०१० सालमा त्रिपुरा पुस्तकालयको नाममा सो पुस्तकालय खोलेका रहेछन्,” श्रेष्ठले भने, “पछि भैरव पुस्तकालयको नाममा सञ्चालन भएको सो पुस्तकालय भीम उच्च माध्यमिक विद्यालयले सञ्चालन गरेपछि भीम पुस्तकालयको नाममा चिनियो।”
दुईतले पुस्तकालय भवनको दलिन भूकम्पअघि नै धमिराले खाइसकेको थियो। भूकम्पले भने कामै नलाग्ने गरी भत्कायो। त्यसयता भताभुंग अवस्थामा रहेको पुस्तकालय ब्युँताउन भनी स्थानीयवासी सक्रिय भएपछि गत वर्षदेखि नयाँ भवन निर्माणको काम शुरू भएको थियो।
भूकम्पअघि पनि २०२३ सालमा आगलागीमा परी पुस्तकालय ध्वस्त भएको थियो। यसपछि तत्कालीन भीम पब्लिक हाई स्कूलको एउटा कोठामा पुस्तकालय सञ्चालन गरिएको थियो। त्यति वेला विद्यालयका शिक्षक रामबहादुर श्रेष्ठ (कविताराम) र अमरकुमार प्रधानले विशेष पहल गरेका थिए। सोही वर्ष प्रधानपञ्च भरतबहादुर श्रेष्ठले भवन बनाई अहिलेको स्थानमा पुस्तकालय सारेका थिए।
पुस्तकालयको नयाँ भवन स्थानीय ज्ञानकृष्ण श्रेष्ठले प्रदान गरेको जग्गामा बनेको हो। पुस्तकालय भवनमा सिसा जडान गर्ने र किताब राख्ने दराज निर्माणको काम भने बाँकी रहेको वडाध्यक्ष श्रेष्ठ बताउँछन्।
दोलखाको सम्पदा बस्तीमा निर्माण मापदण्ड अनुसार शटर हाल्न नपाइने हुँदा भुइँतलामा काठको ठूलो खापा सहितको पसल कबल बनाइएको छ। भुइँतला पसललाई भाडामा दिइने र सो भाडाले पुस्तकालयको सञ्चालन खर्च जुटाउने योजना छ।
वडासँग बजेट नभएकाले पुस्तकालय सञ्चालनमा ल्याउन स्थानीय दाताहरूले पनि सहयोग गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन्। पुस्तकालयका लागि आवश्यक किताबका लागि विदेशमा बस्ने दोलखाली रोचक प्रधानले एक लाख रुपैयाँ बराबर सहयोग गरेका छन्। “अब पुस्तकालय सञ्चालन समिति बन्छ र समितिले एक जनालाई कर्मचारी नियुक्त गरेर निश्चित समयमा पुस्तकालय खोलिनेछ,” उनले भने।