जंगबहादुरकी तामाङ रानी
धाई आमाका रूपमा दरबार ल्याइएकी विवाहिता तामाङ चेलीलाई पतिबाट खोसेर जंगबहादुरले ४२औं रानी बनाएका थिए।
नेपाली राजनीतिका असाध्यै धूर्त खेलाडी मानिएका जंगबहादुर राणाका घोषित रानी ४२ जना थिए। उनको पहिलो बिहे सानै उमेरमा विसं १८८५ वैशाखमा भएको थियो, काजी प्रसादसिंह बस्न्यातकी अविवाहितातिरकी छोरी प्रसादलक्ष्मीसँग। यिनका तर्फबाट पहिलो सन्तानका रूपमा भीमजंगको जन्म भएको थियो। विसं १८९२ मंसीर-पुसतिर प्रसादलक्ष्मीको मृत्यु भयो (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त, २०६५ः१८९)।
जंगबहादुरका ससुरा प्रसादसिंह पृथ्वीनारायण शाहकालीन भारदार केहरसिंह बस्न्यातका नाति तथा काजी बख्तावरसिंहका छोरा हुन्। बख्तावरसिंहका चार भाइ छोरामध्ये प्रसादसिंह जेठा हुन् (हनुमानसिंह बस्न्यात र पूर्णमानसिंह बस्न्यात, श्रीपाली बस्न्यात-परिचय : इतिहास तथा वंशावली, २०५८ः१५९)। दाजु तत्कालीन मूलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्यापछि बख्तावरसिंहले रानी सुवर्णप्रभाको नायबी कालमा मूलकाजी (हालको प्रधानमन्त्री सरह) पदको जिम्मेवारी पाएका थिए।
रानी राजराजेश्वरी बनारसबाट नेपाल फर्केर शासनको बागडोर हातमा लिएपछि मूलकाजीको जिम्मेवारी दामोदर पाँडेले पाउँदा बख्तावरसिंह सामान्य काजी पदमा बहाल रहे। रणबहादुर शाहको प्रत्यागमन र भीमसेन थापाको कुटिल चालपछि बख्तावरसिंहको काजी पद पनि खोसियो (डा. विनोद थापा, नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान, २०७४ः१२२)। त्यसपछि बस्नेतहरू नेपालको मूल राजनीतिबाट ओझेल पर्न थाले।
पत्नी प्रसादलक्ष्मीको मृत्यु हुँदा जंगबहादुर स्वदेशमा थिएनन्। भीमसेन थापाको पतनपछि जंगबहादुरको परिवारमा दुःखका दिन आएका थिए। बुबा बालनरसिंह कुँवरसँगै उनी पनि जागीर खोसुवामा परेर बेरोजगार भएका थिए। यस्तो अवस्थामा जंगबहादुर जागीर खान भनी बनारसमा पण्डित अमरराज पाण्डेको आश्रयमा बसेका थिए। तर राम्ररी लेखपढ गर्न नसक्ने भएकाले भने जस्तो भएन। अनि नेपाल नै फर्किए। आफू आउँदा जेठी पत्नीको निधन भइसकेकाले उनी साली सिद्धिगजेन्द्रलक्ष्मीको हात माग्न गए। तब उनलाई ससुरा प्रसादसिंहले ‘कुनै बन्दव्यापार नगरेको, मान जागीर नभएको, लेखपढ केही नभएको’ भन्दै हप्काएर पठाएका थिए (जबरा, २०६५ः६)।
तर जंगबहादुर जब शक्तिमा आए, उनलाई रोक्ने कसले? जंगबहादुरले अर्कैसँग विवाह गरिसकेकी सिद्धिगजेन्द्रलक्ष्मीलाई जबर्जस्ती विवाह गरे। यो प्रसंगमा यस्तो घटना विवरण छ-
एक दिन जंगबहादुर हात्ती चढी सिद्धिगजेन्द्रलक्ष्मीको घरको झ्यालबाट भित्र पसी लोग्नेलाई थाममा बाँधिदिए। जंगबहादुर भित्र पसेको चाल पाएकी सिद्धिगजेन्द्रलक्ष्मी सुकुलभित्र बेरिई लुकिन्। तर जंगबहादुरले थाहा पाइहाले। उनले सिद्धिगजेन्द्रलक्ष्मीलाई तानेर थापाथलीस्थित दरबारमा पुर्याए। तत्कालीन कानून अनुसार उनले जारी समेत तिरेका थिए (जबरा, २०६५ः१९२)।
यसरी सिद्धिगजेन्द्रलक्ष्मी जंगबहादुरकी चौधौं रानी बनिन्।
जंगबहादुरका कतिपय विवाह राजनीतिक लाभ-हानिबाट पनि प्रेरित देखिन्छन्। जस्तो- उनले आफ्नो जात ‘बढुवा’ गरेपछि चौतरिया खलककी हिरण्यगर्भकुमारीलाई मागेरै विवाह गरे। कोतपर्वमा मारिने प्रधानमन्त्री फत्तेजंग शाहकी सहोदर बहिनी उनलाई बडामहारानी पद दिए। यस्तै, शक्ति आर्जनका लागि चलखेल गर्दा उनका लागि जासूसी गरी सघाउने सुसारे पुतली नानीलाई हनुमानढोका दरबारबाट थापाथली दरबारमा ल्याई ‘पुतली रानी’ बनाएका थिए।
जंगबहादुरका रानीहरूको सूचीमा बस्नेत, शाह, बाहुन, कार्की, विष्ट, नेवार आदि जात खुलेकाहरू छन् भने बाबुआमा थाहा नभएकाले जातथर थाहा नभएकाहरू पनि निकै छन् (जबरा, २०६५ः१८९-९८)। जातथरको पहिचान खुलेकामा दुई जना भारतीय र एक जना तामाङ पनि छन्।
एक विदेशी लेखकले त जंगबहादुरले एउटी मेचे कन्यालाई पनि रानी बनाएको उल्लेख गरेका छन्। जंगबहादुरको मृत्यु भएको १५ वर्षपछि एचएच रिस्लेको दी ट्राइब्स एन्ड कास्ट्स अफ बंगाल इथ्नोग्राफिक ग्लोसरीको दोस्रो भाग (सन् १८९२ः९०)मा उल्लेख भए अनुसार पहिले उच्च जातका भनिनेहरूले मेचेहरूले छोएको पानी चलाउँदैनथे। जंगबहादुर शिकार खेल्न तराई झर्दा मेचे कन्याको प्रेममा परे। ती धुलाबारीका उजिर सिंह जमदार (जमीनदार?)की छोरी हुन्। ती कन्यालाई पत्नी बनाएर जंगबहादुरले काठमाडौं लगे। त्यसपछि मेचेहरूको पानी चल्न थालेको रिस्लेले उल्लेख गरेका छन्।
जंगबहादुरले भारतीय राज्य तहका राजघरानाका कन्यासँग पनि विवाह गरेका थिए। जंगबहादुरका छोरा पद्मजंगले आफ्नो टिपोटमा तीमध्ये एकको नाम ‘कटक मैया’ भनी टिपेका छन्। उनी जंगबहादुरकी विवाहिता जातवाला रानी थिइन्। पद्मजंगको टिपोट अनुसार यी रानीको मृत्यु सन् १८६४ (विसं १९१२) मा भयो। (कमल दीक्षित, जंगगीता, २०४०ः१४०)।
प्रो. शिवराजको टिपोटमा पनि यी रानीको नाम उल्लेख छ। त्यहाँ यिनको नाम गंगादेवी (कुटुवाला) उल्लेख छ (दीक्षित, २०४०ः१४६)। कुटुवाला भनेको भारतका कटक राज्यका महाराजकी छोरी हुन्।
जबरा (२०६५ः१९०)ले कटक राज्यकी यी राजकन्यालाई जंगबहादुरले विसं १९१४ मा भारतमा भएको गदर (सैनिक विद्रोह) दमन गरेर बनारस आइपुगेपछि विवाह गरी ‘गंगा महारानी’ पद दिएको उल्लेख गरेका छन्। जबराको यो दलिल काटिने गरी जंगबहादुरले यी राजकन्यालाई सैनिक विद्रोह दमन गरेपछि नभई बेलायत भ्रमणबाट भारत हुँदै स्वदेश फर्कंदा विसं १९०७ मा विवाह गरी नेपाल ल्याएको भन्ने मत पनि देखिन्छ।
जंगबहादुरको बेलाइत यात्रा (कमल दीक्षितद्वारा सम्पादित, २०१४ः५७)मा कटककी राजकन्यासँगको उनको विवाहबारे यस्तो उल्लेख छ, “ताहादेषी १२ दीनमा कलकत्ता पुग्नुभयो। ताहाबाट लाठ साहेबसीत भेट-मुलाकात गरि ताहा १० दीन मुकाम् गरि चाहीन्या चीज-वस्तु अर्बी घोडा दसवार षरिद गरि मीञानाका डाकमा बनारस सहरतर्फ श्री मीनीष्टर साहेब सवारी भयो। बनारस सहरमा कुटुक महाराजकी मैञा बीबाह गरि श्री प्राइम् मीनीष्टर साहेबको सबारी नेपालतर्फ भयो।”
प्राचीन नेपाल, संख्या २७ (वैशाख २०३१ः४)मा पनि जंगबहादुरले बेलायत भ्रमण सकेर फर्कंदा बनारसमा वैवाहिक सम्बन्ध स्थापित गरेकी रानीको नाम गंगा छ। त्यहाँ लेखिएको छ, ‘बनारसको कुतक महाराजकी मैयां गंगारमारानीलाई विवाह गरी साथमा प्राइम्मिनिष्टर जंगबहादुर कुवर राणा नेपालतर्फ लागे।’
पद्मजंगको टिपोट अनुसार त भारतमा सैनिक विद्रोह हुनुभन्दा दुई वर्षअघि नै कटककी ती राजकन्याको निधन भइसकेको देखिन्छ। भारतको सैनिक विद्रोह दमन विसं १९१४ मा भएको थियो भने गंगा महारानीको निधन विसं १९१२ मा भएको थियो।
यस्तोमा जबरा (२०६५ः१९३)ले नै उल्लेख गरेकी, जंगबहादुरकी १७औं रानी ‘गोरखपुरे महारानी’ चाहिं भारतको सैनिक विद्रोह दमनपछि नेपाल ल्याइएकी हुन सक्छिन्। किनकि विसं १९१४ पुसमा सैनिक विद्रोह दमन गर्न जंगबहादुर विद्रोहीको कब्जामा रहेको गोरखपुरमा सक्रिय थिए (पद्मजंग राणा, जंगबहादुरको जीवनयात्रा, २०७४ः१९४-९५)। उनले त्यही क्रममा त्यहाँबाट पनि एक जनालाई विवाह गरी ल्याएका थिए।
‘धाई नानी भोटिनी’
राज्यबाट शोषण र उपेक्षामा परेको जाति हो, तामाङ। यो समुदायलाई राज्यले लामो समय भरिया बनाइराख्यो। मुलुकी ऐन १९१० ले यिनलाई ‘मासिन्या मतवाली’ जातिमा राखेको थियो। तर पनि तामाङ महिलाहरू दरबारमा धाई तथा सुसारेका रूपमा राखिन्थे। यसैगरी दरबार पसेकी खोटाङ, नारंगाकी दिलकुमारी ब्लोनलाई आफू श्री ३ महाराज भएपछि भीमशमशेरले रानी बनाए। उनी सीता बडामहारानी कहलाइन्। उनी बडामहारानी घोषित भएपछि हिजो ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरिने जातिलाई भीमशमशेरले एक इस्तिहार जारी गरी तामाङ लेख्न सहज तुल्याइदिएको इतिहास धेरै पटक पढिसकिएको छ।
तामाङ चेली विवाह गर्ने राणा प्रधानमन्त्रीमा भीमशमशेर पहिलो होइनन्। उनी अघि जंगबहादुरको दरबारमै एक तामाङ चेलीले रानी साहेबको दर्जा पाएकी थिइन्। तर यो ऐतिहासिक प्रसंग त्यति चर्चामा छैन।
जबरा (२०६५ः१९७)ले यी तामाङ केटी जंगबहादुरकी ४२औं रानी रहेको र यिनलाई ‘धाई नानी’ नाम दिइएको उल्लेख गरेका छन्। उनका अनुसार यिनी जंगबहादुरकी विवाहिता नभई ल्याइते हुन्। जबरा लेख्छन्, ‘यिनी भोटिनी हुन्। यिनी कुनै मैया साहेवकी धाई हुन्। यिनका बाबु आमाको नाम थाहा भएन र सन्तान भए/नभएको साथै जन्म मरणको बारेमा पनि जानकारी भएको छैन।’
धाई भनेको शिशुलाई दूध खुवाउने, स्याहार-सुसार गर्ने महिला हुन्। राणाका दरबारमा उनीहरूका रानीबाट जन्मेका शिशुका लागि धाईआमाहरू राखिएका हुन्थे। ‘धाई नानी भोटिनी’ भनिएकी ती तामाङ चेली पनि जंगबहादुरकी कुनै रानीबाट जन्मिएकी सन्तानलाई स्याहार्न दरबार पसेकी थिइन्।
जंगबहादुरका छोरा पद्मजंगले पनि आफ्नी आमा तथा सौतेनी आमाहरूको सूची भएको टिपोटमा एक जना भोटेनी भित्रिनी भएको उल्लेख गरेका छन्। टिपोटमा उनी वामा मैयाकी धाई भएको उल्लेख छ (कमल दीक्षित, २०४०ः१४३)। भोटुद्वारेले टिपाएको सूचीमा वामा मैया जंगबहादुरका श्रीमतीमध्ये एक मीना महारानीतिरकी छोरी भएको उल्लेख छ (दीक्षित, २०४०ः१४५)।
यसबाट ती तामाङ चेली मैया वामालाई स्याहार्न दरबार प्रवेश गरेको स्पष्ट हुन्छ जो विवाहिता थिइन्। जंगबहादुरले उनलाई पतिबाट खोसेर रानी बनाएका थिए।