कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहबाट एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्।
विश्वविद्यालयको कृषि, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान र वन विज्ञान अध्ययनरत स्नातकोत्तर र स्नातक तह पूरा गरेका र विद्यावारिधि उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो। कृषि संकाय अन्तर्गत ६ र वन विज्ञान संकायबाट एक जनाले विद्यावारिधि प्राप्त गरेका छन्।
सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले देशले दक्ष र सीपयुक्त जनशक्ति प्राप्त गरेकाले दीक्षित विद्यार्थीलाई समग्र कृषि, वन क्षेत्रको विकासमा योगदान दिन आग्रह गरे। विश्वविद्यालयमा सिकेको ज्ञान, सीप किसानसँग बाँड्नु अहिलेको आवश्यकता भएको दाहालको भनाइ थियो।
“उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै नयाँ रोजगारीका अवसर सिर्जना गर्न सरकारले यस वर्ष नीति, कार्यक्रम र बजेटमा कृषि र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री दाहालले भने, “नेपाल जस्तो देशका लागि प्रमुख अर्थतन्त्रको आधार कृषि नै हो, कृषिमा आधारित उद्योग स्थापना गर्नु, उत्पादन र उत्पादकत्व वृद्धिका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नु आधारभूत कुरा हुन्।”
समारोहका प्रमुख अतिथि सिक्किम स्किल युनिभर्सिटीका उपकुलपति प्रा.डा. अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याएको चर्चा गर्दै दीक्षित विद्यार्थीलाई कृषि क्षेत्रको विकास र विस्तारमा सरिक हुन अनुरोध गरे।
समारोहमा एएफयूका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले दीक्षित विद्यार्थीलाई बधाई दिंदै विश्वविद्यालयबाट हासिल गरेको ज्ञानलाई कृषि क्षेत्र र किसानका लागि समर्पित गर्न आग्रह गरे। विश्वविद्यालयका तीन संकायसँगै नौ आंगिक कलेज र सम्बन्धन प्राप्त क्याम्पसमा गरी करीब चार हजार विद्यार्थी अध्ययनरत छन्।