नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी बन्द गरिने
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी वितरण बन्द गरिने जनाएको छ।
मनसुनजन्य विपद्बाट आयोजनामा हुन सक्ने क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए। समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो।
बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको लामिछानेको भनाइ छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशमा मनसुन सक्रिय हुन केही समय लाग्नेछ।
ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरू भएमा त्यसको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक लामिछानेले बताए। “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरेका थियौँ, तर वर्षा शुरू नभएकाले बन्द गरेनौं,” उनले भने, “अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा पनि बन्द गर्नेछौं।”
उनका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। उपभोक्तालाई खानेपानीको अभाव भइरहेको वेला तत्काल खानेपानी वितरण बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ।
“हामीलाई परामर्शदाता र एशियाली विकास ब्यांकले मेलम्ची बन्द गर्नुपर्छ, नभए आयोजनालाई मनसुनी विपत्तिले क्षति गर्छ भन्दै आउनुभएको छ,” कार्यकारी निर्देशक लामिछानेले भने, “अब ठूलो वर्षा शुरू भएर मेलम्ची धमिलो हुन थालेपछि आयोजना जोगाउन पनि बन्द गर्नुपर्छ, आयोजना जुनसुकै वेला पनि बन्द गर्नका लागि तयारीमा छौं।”
ठूलो वर्षा नहुन्जेल आयोजनाको पानी उपभोक्तालाई वितरण गरिराख्ने उनले बताए। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा शुरू भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ। -रासस