सुन सहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता र भारतीय आधार कार्ड
काठमाडौंबाट ६ किलोग्राम सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता र भारतीय आधार कार्ड भेटिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २ गते सुन सहित शेरब ग्याल्मोलाई पक्राउ गरेको थियो। काठमाडौंको बौद्धबाट पक्राउ परेका ग्याल्मोले शुरूआतमा आफू चिनियाँ नागरिक भएको प्रहरीलाई बताएका थिए।
तर ग्याल्मोसँग चिनियाँ नागरिक भएको खुल्ने कागजात नभेटिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए। “ग्याल्मोको नेपाली नागरिकता मुस्ताङ जिल्लाबाट सोनाम गुरुङको नाममा जारी भएको पाइएको छ,” एसपी बोगटीले हिमालखबरसँग भने।
त्यस्तै, उनीसँग भारतीय आधार कार्ड पनि भेटिएको सीआईबीले जनाएको छ। ग्याल्मो भने आफूलाई चिनियाँ नागरिक बताउँदै आएका छन्।
२०८० साउन २ गते बरामद भएको ६० किलो सुन तस्करीको अनुसन्धान गर्ने क्रममा सीआईबीको टोली ग्याल्मोसम्म पुगेको हो। सीआईबीले अवैध रूपमा कारोबार भएको सुनको यूएडीटीबाट भुक्तानी गर्ने व्यक्तिलाई खोजिरहेको थियो। त्यसमा चिनियाँ नागरिक सेराप संलग्न रहेको अनुसन्धानमा देखिएको थियो।
सेरापलाई पक्राउ गर्न सीआईबीको टोली असार २ गते काठमाडौं-६, बौद्धस्थित तीनचुली चारघरे पुगेको थियो। सेरापको डेरामा पुग्दा ग्याल्मो भेटिएका हुन्।
सीआईबीको टोलीले उनको डेरामा खानतलासी गर्दा ६ किलो सुन र ४८ लाख रुपैयाँ नगद भेटिएको हो। यससँगै तीन थान मोबाइल पनि बरामद गरिएको सीआईबीले जनाएको छ।
ग्याल्मोलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपाली नागरिकता पनि भेटिएको हो। उनी क्रिप्टो र अवैध सुनको कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ।