खुम्बु सफा बनाउने ‘फोहोर घर’
ठाउँ ठाउँमा संकलन घर बनेपछि आरोही र पदयात्रीले जथाभावी फोहोर फाल्ने प्रवृत्ति घटेको छ भने पदमार्ग सफा देखिएको छ।
वैशाख तेस्रो साता सोलुखुम्बुको खुम्जुङ क्षेत्रमा सिमसिम पानी परिरहेको थियो। आङपासाङ शेर्पा र पेमफुटी शेर्पा रुझेरै खुन्देतिर जाँदै थिए। काँधमा थियो, फापरको पीठोको भारी। त्यो भारी पालैपालो बोक्थे उनीहरू। हिंड्दाहिंड्दै बाटोमा मदिरा र अन्य पेयपदार्थका बोतल देखिए।
आङपासाङलाई यो कुरा चित्त बुझेन। ‘यसरी पनि फाल्छन्’ भन्दै उनले ती बोतल टिपिन्। अनि फोहोरदानीमा लगेर फालिन्। आङपासाङका अनुसार गाउँमा फोहोर देखिए अरू गाउँलेले पनि यसै गर्छन्। भन्छिन्, “त्यसैले त गाउँ पहिलाभन्दा सफा भएको छ।”
यात्रुलाई आधारशिविर पुर्याएर फर्किंदै गरेका पथप्रदर्शक फू छत्र शेर्पा पनि तेङ्बोचे हुँदै नाम्चे झर्ने क्रममा पदमार्गछेउ फालिएका पेयपदार्थका बोतल, चकलेट तथा चाउचाउका खोल टिपेर फोहोरदानीमा राख्दै थिए। “सबैले फोहोर बिनमा राख्दैनन्, देखेपछि त्यसै छोड्न मन लाग्दैन,” उनी भन्छन्, “यहाँ आउनेहरूलाई बुझाउन बाँकी नै छ।”
सगरमाथा आरोहण र पदयात्राका निम्ति विख्यात खुम्बु क्षेत्रमा विश्वभरबाट पर्यटक आउँछन्। तिनले जथाभावी फाल्ने फोहोर यहाँ लामो समयदेखि चुनौतीको विषय बनिरहेछ। यद्यपि विगत समयका तुलनामा धेरै सुधार आइसकेको छ। त्यसैले नेपालका अन्य पदमार्ग समेत चहारिसकेकाहरूले खुम्बु तुलनात्मक रूपमा सफा रहेको बताउन थालेका छन्। काठमाडौंबाट आएका पदयात्री सरोज पोखरेल भन्छन्, “एबीसी (अन्नपूर्ण बेसक्याम्प), मर्दी हिमाल क्षेत्रभन्दा यहाँ सफा लाग्यो।”
यस्तो सफाइको कारण हो- आङपासाङ, पेमफुटी जस्ता खुम्बुवासीको सक्रियता अनि फू छत्र जस्ता पथप्रदर्शकको इमानदारी।
स्थानीय बासिन्दा फोहोर व्यवस्थापन समूह नै बनाएर काम गरिरहेछन्, उनीहरूलाई महिला समूह, आमा समूह आदिले पनि सघाएका छन्। पदयात्रीले जहाँ पायो त्यहीं फोहोर नफालून् भनेर पदमार्गका ठाउँ ठाउँमा ‘फोहोर संकलन घर’ बनाइएका छन्। गाउँमा पनि चोयाका फोहोरदानी राखिएका छन्।
खुम्बुका ‘डस्टबिन’
सगरमाथा क्षेत्रको पदयात्रा सोलुखुम्बुको लुक्लाबाट शुरू हुन्छ। पदमार्गमा एक-दुई किलोमिटरको अन्तरमा काठ वा ढुंगाले बनाइएका र टिनको छानो सहितका साना घर देखिन्छन्। तिनको माथिल्लो भागमा कुनैमा दुई त कुनैमा तीन वटा प्वाल छन् जसबाट फोहोर खसाल्न मिल्छ।
फोहोर संकलन कार्य दिगो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को सक्रियतामा यी घर बनाइएका हुन्। “हामीले सन् २०१३ देखि नै यो अभियान थालेका थियौं। केही वर्षमै तीव्रता पाएको छ र लगभग बेसक्याम्प नजीकसम्मै पुगिसकेका छौं,” एसपीसीसीकी कार्यक्रम विकास तथा सञ्चार अधिकृत याङ्जीडोमा शेर्पा भन्छिन्, “अहिलेसम्म १२५ वटा स्थायी संरचना सञ्चालनमा छन्।”
यीमध्ये आठ वटा विद्यालय क्षेत्रमा छन्। यस्तै, परीक्षणका रूपमा दुई वटा ‘फोहोर संकलन घर’ माटो भरिएका बोतलको गारो लगाएर बनाइएका छन्।
एसपीसीसीले खुम्बु क्षेत्रको फोहोर व्यवस्थापनमा तीन दशकभन्दा लामो समयदेखि काम गर्दै आएको छ। पहिले फोहोर संकलनका निम्ति प्लास्टिकका बाल्टी या बाँस-चोयाको भाँडो राख्ने गरिएको थियो। तर ती चाँडै जीर्ण हुने भएकाले फेरिरहनुपर्ने र फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्न सहज पनि नभएकाले स्थानीय स्रोत प्रयोग गरेर स्थायी घर बनाइएको समितिले जनाएको छ। “शुरूमा काठकै बार, काठकै छानो सहितको संरचना बनाएका थियौं,” सञ्चार अधिकृत शेर्पा भन्छिन्, “त्यसलाई थप परिष्कृत बनाएर मर्मत गर्यौं। नयाँ संरचना चाहिं ढुंगाको गारो लगाएर र टिनको छानो हालेरै बनायौं।”
एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार एउटा ‘फोहोर संकलन घर’ बनाउन डेढ लाख रुपैयाँसम्म लाग्छ। त्यसका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समिति, निजी तथा गैरसरकारी संघसंस्था एवम् स्थानीय सरकारसँग सहकार्य गरिएको छ। यस्ता घर बनेपछि पदमार्गमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा कमी आएको छ। संकलित फोहोरको व्यवस्थापन भने झन्झटिलो बनिरहेको छ।
कसरी भइरहेछ काम?
संकलन घरमा फोहोर भरिएपछि दुई किसिमले व्यवस्थापन गरिन्छ। कागज सहितका फोहोर सम्बन्धित क्षेत्रमै जलाइन्छ। “टिन, सिसा, क्यान तथा अरू प्लास्टिकयुक्त फोहोर भने लुक्लासम्म ल्याएर पुनः प्रयोगका लागि काठमाडौं पठाउने गरेका छौं,” सञ्चार अधिकृत शेर्पा भन्छिन्।
उनका अनुसार पदमार्गबाट वार्षिक औसत सात हजार किलोभन्दा बढी फोहोर संकलन हुन्छ। एउटा संकलन घरमा ३० किलोसम्म फोहोर जम्मा गर्न सकिन्छ। संकलित फोहोर व्यवस्थापनको काम तीन पटक हुन्छ- आरोहण तथा पदयात्रा सिजन शुरू हुनुअघि, बीचको समयमा तथा सिजन सकिएपछि।
संकलित फोहोरबाट शुरूमा पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्याई तिनलाई काठमाडौंको ‘ब्लू वेस्ट टू भ्यालू’ संस्थामा पठाइन्छ। यो संस्थाले फोहोरबाट पुनः प्रयोग गर्न सकिने सामग्रीको व्यवस्थापनमा काम गर्दै आएको छ।
एसपीसीसीका अनुसार काठमाडौं पठाउनुपर्ने फोहोर खुम्बुबाट भरिया, खच्चड या याकलाई बोकाएर नाम्चेसम्म लगिन्छ। यो काम खर्चिलो र झन्झटिलो छ। फोहोर ढुवानी सहज बनाउन एसपीसीसीले ‘सगरमाथा नेक्स्ट’ संस्था र स्थानीय पालिकाको सहकार्यमा ‘क्यारी मी ब्याक’ अभियान पनि चलाइरहेको छ।
यस अन्तर्गत पदयात्रीले नाम्चेबाट सक्ने जति फोहोर बोकेर लुक्लासम्म ल्याइदिन्छन्। बाँकी उसैगरी भरिया र खच्चडलाई बोकाइन्छ। लुक्ला विमानस्थलबाट तारा तथा सीता एअरले काठमाडौं लैजान सघाउँछन्। यिनले यात्रुको चाप कम भएका वेला फोहोर ओसार्छन्। यसरी काठमाडौं लगिने फोहोर पदमार्गको मात्र हो, गाउँतिरको होइन।
गाउँमा संकलन हुने फोहोरमध्ये कुहिने सामग्रीबाट गाउँलेले प्रांगारिक मल बनाउँछन्। नकुहिने फोहोर चाहिं स्थानीय स्तरमै जलाउने गरिएको छ।
प्लास्टिकजन्य फोहोर जथाभावी जलाउँदा डाइअक्सिन सहितका हानिकारक रासायनिक पदार्थ निस्कने र तिनले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने उनीहरूलाई थाहा नभएको होइन। “भौगोलिक रूपमा अप्ठ्यारो भएकाले सबै फोहोर तलसम्म ल्याउन सकिंदैन, त्यसैले बाध्य भएर कागज सहितका फोहोर जलाउने गरिएको छ,” सञ्चार अधिकृत शेर्पा भन्छिन्।
उनका अनुसार गाउँबाट संकलित फोहोर पनि पुनः प्रयोग गर्न सकिने सामग्री निर्माणमा खपत गर्नेबारे तयारी भइरहेको छ। शेर्पा भन्छिन्, “अब पदमार्गको मात्र नभएर गाउँबाट संकलन हुने फोहोर पनि पुनः प्रयोग वा पुनः चक्रणको प्रक्रिया लैजान्छौं, यसबारे पालिकासँग कुरा भइरहेको छ।”