विश्व ब्यांकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले डेभिड सिस्लेनलाई नेपालका लागि राष्ट्रिय निर्देशक नियुक्त गरेको छ।
डेभिडले काठमाडौंस्थित विश्व ब्यांकको उपक्षेत्रीय कार्यालय मार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन्।
अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारेबियन मुलुकका लागि विश्व ब्यांकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूनीकरण सम्बन्धी व्यवस्थापकका रूपमा कार्यरत थिए।
उनीसँग विश्व ब्यांकमा रहेर यूरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एशिया र एशिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापन सम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ।
उनले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन्। हाल विश्व ब्यांकले नेपालमा सञ्चालनमा रहेका २० र तीन पाइपलाइनका गरी २३ परियोजनामा लगानी गरेको छ।
डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन्। नेपालमा मंगलबारबाट विश्व ब्यांकको आईडीए-२१ बैठकको पूर्व सन्ध्यामा डेभिड नेपाल आएका हुन्।
फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व ब्यांकले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो। अमेरिकी नागरिक फारिस २०७३ असारमा ब्यांकको नेपाल निर्देशक नियुक्त भएका थिए। त्यसअघि फारिस नेपालका लागि विश्व ब्यांकका राष्ट्रिय प्रबन्धक थिए।
अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले एकैसाथ उनीहरूको स्वागत र बिदाइ गरे।
देशीय निर्देशकसँगै विश्व ब्यांकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ। लाडा स्ट्रेलकोवा कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रीति अरोरा आएकी छन्। बिदाइ कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व ब्यांकका दक्षिणएशिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी थिए।