काठमाडौंमा किन भइरहेछ उकुसमुकुस पार्ने गर्मी?
रूखबिरुवा नाशिएर कंक्रिटका संरचनाले ढाकेको काठमाडौं उपत्यकामा उखरमाउलो गर्मी नियमित प्रवृत्ति बन्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत शनिबार (असार १ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनले काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गर्यो। यो २५ वर्षयताकै उच्च थियो भने काठमाडौंमा हालसम्म रेकर्ड गरिएको तेस्रो उच्च तापमान थियो।
यसअघि २०५६ वैशाख १३ गते काठमाडौंमा ३५.६ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। काठमाडौंमा अहिलेसम्मकै उच्च तापमान भने २०४६ वैशाख २५ गते मापन गरिएको थियो। त्यस दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो।
“विगतमा चर्को घाम लागेर तापक्रम उकालो लागे पनि पानी पर्ने बित्तिकै तापक्रम घट्थ्यो। यस पटक हिउँददेखि नै पानी नपरेकाले तापक्रम पनि बढ्यो र पानी नपर्ने बादलले आकाश ढाकिएर आर्द्रता बढेका कारण गर्मी पनि अत्यधिक महसूस भएको हो,” जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर भन्छिन्।
काठमाडौंमा अत्यधिक गर्मी महसूस भएको शनिबार एक दिन मात्र थिएन। पछिल्लो समय काठमाडौंमा कैयौं दिन तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि रह्यो। जेठ २८ गते पनि काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।
अहिले देशका तराई तथा भित्री मधेश सहितका क्षेत्रमा पनि चर्को गर्मी छ। पश्चिम तराईमा त तापक्रम अत्यधिक भएर विभागले ११ पटक तातो लहर सम्बन्धी चेतावनी सहितको बुलेटिन निकालिसकेको छ।
बढिरहेछ तापमान
जल तथा मौसम विज्ञान विभागका अनुसार गत हिउँदमा सरदरको तुलनामा करीब २१ प्रतिशत मात्रै पानी पर्यो। सामान्यतः हिउँदको तीन महीनाको अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने हो, तर हिउँदे वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा गत हिउँदमा सरदर १२.५ मिलिमिटर मात्रै पानी परेको थियो।
यस्तै, प्रि-मनसुनको अवधिमा पनि पर्याप्त पानी परेन भने अहिले मनसुन शुरू भइसक्दा समेत देशको पूर्वी भाग बाहेकका क्षेत्रमा पानी पर्न सकेको छैन। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देल पानी नपरेकैले अत्यधिक गर्मी भएको बताउँछन्। “मनसुन सक्रिय हुन नसक्दा गर्मी बढेको हो। धेरै दिनसम्म तापक्रम उच्च रहेको र पानी परेर जमीनको सतह चिसिन नपाएकाले उखरमाउलो गर्मी भइरहेको छ,” सिग्देल भन्छन्।
अधिकतम र न्यूनतम तापक्रम दुवै उच्च भए बढी गर्मीको अनुभूति हुन्छ। काठमाडौंमा पछिल्लो समय अधिकतम मात्रै होइन, न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै छ। खासगरी राति जमीनको सतह चिसिन नपाउँदा न्यूनतम तापक्रम बढ्छ। राति जमीनले ताप छोड्छ। पानी पर्यो भने जमीनको सतह पनि चिसिने र हावाको तापक्रम पनि घट्ने हुन्छ। नत्र राति पनि उकुसमुकुस अनुभव हुने सहप्राध्यापक सिग्देल बताउँछन्।
विभागका अनुसार गत मार्चदेखि मेसम्मका तीन महीनामा काठमाडौंमा १८ दिन बाहेक अधिकांश दिन अधिकतम तापक्रम सरदरभन्दा उच्च छ। तथ्यांकले विगतको सरदरका तुलनामा यस अवधिमा अधिकतम तापक्रम ६ डिग्री सेल्सियससम्म माथि पुगेको देखाएको छ। यही अवधिमा सात दिन बाहेक काठमाडौंमा न्यूनतम तापक्रम समेत विगतको सरदरका तुलनामा अधिकांश दिन धेरै छ। यसले पनि काठमाडौंमा गर्मी बढेको संकेत गर्छ।
यसअघि सन् २०२३ चार दशकयताकै सर्वाधिक तातो वर्षमध्येको एक बन्न पुगेको थियो। त्यस वर्ष नेपालको वार्षिक औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस पुगेको थियो। नेपालका एक दर्जन स्थानमा उच्च तापमानको रेकर्ड भंग भएको थियो। विभागको तथ्यांक अनुसार सन् २०२३ मा नेपालको वार्षिक औसतभन्दा अधिकतम तापक्रम ०.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसले बढी मापन गरिएको थियो। त्यस वर्ष संसारभर उच्च तापक्रम मापन भएको थियो।
यसअघि नेपालमा सन् २०१६ मा सरदर अधिकतम तापक्रम २८.१ डिग्री सेल्सियस पुगेको थियो।
मानवसिर्जित गतिविधिका कारण जलवायुको प्रवृत्तिमा फेरबदल आइरहेको र खासगरी पृथ्वीको तापमान बढिरहेको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)ले १९औं शताब्दीको अन्त्यदेखि विश्वको औसत तापक्रम १.१ डिग्री सेल्सियसले बढिसकेको उल्लेख गरेको छ। संसारको कुल जनसंख्याको ३० प्रतिशत नागरिक वर्षभरिमा २० दिनभन्दा बढी तातो हावाको लहरको विपद्मा पर्ने गरेको यसले उल्लेख गरेको छ।
आर्द्रताको भूमिका
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल गर्मी बढी अनुभव हुनुमा हावामा हुने जलवाष्प अर्थात् आर्द्रताको पनि भूमिका हुने बताउँछन्। आकाशमा बादल बढी भएका वेला हावामा आर्द्रता बढी हुन्छ। तापक्रमसँगै जब हावामा आर्द्रता पनि बढ्छ, मानव शरीरमा पसिना ओभाउन पाउँदैन। आर्द्रता अझ बढेमा पसिना नै निस्किन पाउँदैन। जसले गर्दा तापक्रम धेरै नभए पनि अत्यधिक गर्मी अनुभूति हुन्छ।
काठमाडौंमा पछिल्ला दिनमा अत्यधिक गर्मी अनुभूति हुनुको कारण हावामा आर्द्रता बढ्नु पनि हो। मौसमविद् प्रतिभा मानन्धर पछिल्लो एक सातामा काठमाडौंको हावामा सापेक्षित आर्द्रता ८८ देखि ९३ को हाराहारीमा रहेको बताउँछिन्। उनका अनुसार काठमाडौंमा २५ वर्षयताकै उच्च तापक्रम रेकर्ड भएको असार १ मा सापेक्षित आर्द्रता ९३ पुगेको थियो।
वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठ काठमाडौंको तापक्रमको नयाँ प्रवृत्ति आफूले पनि अनुभूति गरेको बताउँछन्। एकाध दशकअघिसम्म गर्मी महीनामा घाम चर्किंदै गएपछि तापमान उकालो लाग्दै जाने र अपराह्नपछि तुरुन्तै घट्ने गरेकोमा अहिले भने तापमान उकालो लागेपछि घट्न नै लामो समय लाग्ने गरेको श्रेष्ठ बताउँछन्। “पहिले र अहिले तापक्रमको तथ्यांकमा खासै ठूलो फेरबदल देखिंदैन, तर पहिलेको तुलनामा गर्मी बेस्सरी बढेको छ,” श्रेष्ठ भन्छन्, “त्यसैले तापक्रम भन्नु र गर्मी भन्नु फरक कुरा हो।”
मौसमविद्हरूका अनुसार जमीनको सतहबाट दुई मिटरमाथिको हावाको तापक्रमको आधारमा तापमान निकालिन्छ। त्यसैले तापक्रमको आधारमा मात्रै गर्मीको अवस्था मूल्यांकन गर्न सकिंदैन। गर्मीको अनुभूतिलाई हावाको तापक्रम, हावामा जलवाष्पको मात्रा, हावाको गति आदिले निर्धारण गर्छन्। त्यसैकारण तत्कालको तापक्रम देखाउने यन्त्रहरूमा हावा मापनको आधारमा राखिएको तापक्रमसँगै अनुभूत हुने तापमानलाई पनि देखाइएको हुन्छ। गर्मी महीनाहरूमा हावामा रहेको तापक्रमभन्दा मानव शरीरले सामान्यतया तीन/चार डिग्रीसम्म बढी अनुभूत गर्न सक्छ। अर्थात् तापक्रमको अंकको तुलनामा मानव शरीरले अनुभूत गर्ने तापमान अझ बढी हुन सक्छ।
वनस्पतिविद् श्रेष्ठ काठमाडौंमा गर्मी बढेको संकेत वनस्पतिमा आएको फेरबदलबाट पनि बुझ्न सकिने बताउँछन्। उनका अनुसार एकाध दशकअघिसम्म काठमाडौंमा आँप, लिची जस्ता उष्णप्रदेशमा सप्रिने फलफूलका रूखमा दाना लागे पनि ती राम्ररी पाक्दैनथे। तर पछिल्ला वर्षहरूमा यी फलफूल मजाले पाक्न थालेका छन्। “जमीन र हावामा न्यानोपन लामो समयसम्म जमेर बस्न थालेपछि उष्ण प्रदेशमा हुने फलफूल मजाले फस्टाउन थालेका हुन्,” उनी भन्छन्।
काठमाडौंमा हरियाली नाशिंदै र कंक्रिटका संरचना फैलिंदै गएपछि गर्मी पनि बढ्दै गएको हो। कंक्रिटका संरचनाले दिनभरि घामको किरण सोसेर राख्छ, जुन सेलाउन समय लाग्छ। जसले गर्दा हावालाई लामो समयसम्म तातो बनाइरहन्छ। काठमाडौंमा रूखबिरुवा तथा खुला स्थान कम छन्। अधिकांश क्षेत्र कंक्रिटका भवन, संरचना तथा कालोपत्रे गरिएका सडकले भरिएको छ। जसले गर्दा हावा प्रदूषित मात्रै भएको छैन, सूर्यको प्रकाशलाई अवशोषण गर्दै गर्मीमा रूपान्तरण गरिरहेको छ।
रूखबिरुवा पर्याप्त भएका ठाउँमा भने स्थिति फरक हुन्छ। बिरुवाले आफ्नो जरा मार्फत जमीनबाट पानी सोस्छ र आफ्नो डाँठ र पातहरूमा पानी भण्डारण गरेको हुन्छ। पातमा हुने मसिना प्वालबाट जलवाष्पका रूपमा हावामा निस्किन्छ। यसकारण रूखबिरुवाले प्रकृतिको ‘एअर कन्डिसनर’ का रूपमा काम गरेको हुन्छ। जहाँ रूख तथा बोटबिरुवा कम हुन्छ, त्यहाँको हावा स्वाभाविक रूपमा तातो हुन्छ।
घना शहरी क्षेत्र खुला र कम विकास भएको क्षेत्रका तुलनामा बढी तातो हुन्छ। वातावरणविद्हरू यसलाई ‘अर्बन हिट आइल्यान्ड’ भन्ने गर्छन्। काठमाडौंमा पनि घना शहरी क्षेत्र र वरिपरिका क्षेत्रको तापमानमा ठूलो भिन्नता रहेको अनुसन्धानले देखाएको छ। ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिसिप्लिनरी स्टडीज संस्थाले भू-उपग्रहको तथ्यांकमा आधारित भएर गरेको अध्ययनले काठमाडौंको पातलो बस्ती भएको र खुला क्षेत्रका तुलनामा घना बस्ती भएको क्षेत्रमा तापक्रम सरदरमा तीन/चार डिग्री सेल्सियस उच्च रहेको देखाएको थियो।
संस्थाका निर्देशक उत्तमबाबु श्रेष्ठ भन्छन्, “हामीले लामो समयको तापक्रमको अध्ययनबाट के पत्ता लगायौं भने, जहाँ खुला स्थान र केही हदसम्म हरियाली छ तिनको तुलनामा घर नै घरले भरिएको ठाउँमा तापक्रम सरदरमा तीनदेखि चार डिग्री सेल्सियस बढी हुने रहेछ।”
ललितपुरको जावलाखेलका तुलनामा कुमारीपाटी क्षेत्र, काठमाडौंको खुलामञ्चका तुलनामा न्यूरोड क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका तुलनामा गोकर्णको जंगल आसपासका क्षेत्रमा तापक्रममा यस्तो भिन्नता देखिएको थियो। “यसले शहरमा तापक्रम बढाउन कंक्रिटका भवन र संरचनाहरूको भूमिका कति घातक छ भन्ने प्रस्ट पार्छ,” श्रेष्ठले भन्छन्।
कहाँ अलमलियो मनसुन?
जल तथा मौसम विज्ञान विभागले एक साताअघि नै विज्ञप्ति निकालेर यस वर्षको मनसुन नेपाल प्रवेश गरेको जानकारी दियो। जेठ २८ गते मनसुनी वायु नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको विभागले जनाएको थियो। सरदरमा नेपालमा १३ जूनमा मनसुन प्रवेश गर्ने मानिन्छ। यस वर्ष भने १० जून अर्थात् सरदरभन्दा तीन दिनअघि नै मनसुनी वायु प्रवेश गरेको विभागले जनायो।
तर पूर्वी नेपाल बाहेक अन्य भूभागमा पानी पर्न सकेको छैन। मौसमविद् मानन्धर पश्चिम नेपालमा मनसुन सक्रिय हुन केही दिन लाग्न सक्ने बताउँछिन्।
सामान्यतया नेपालमा पश्चिमबाट पूर्वतिर हावा बहन्छ। तर मनसुनका वेला ठीक विपरीत हावाको दिशा पूर्वबाट पश्चिमतिर हुन्छ। जसै पूर्वबाट मनसुनी वायु नेपाल प्रवेश गर्छ, यसले पश्चिमी वायुलाई क्रमशः कमजोर बनाउँदै धकेल्दै लैजान्छ र मुलुकभरि वर्षा हुन्छ। करीब तीन महीना मनसुनी वायु नेपालको आकाशमा कब्जा जमाएर बस्छ। तर यस वर्ष पश्चिमी वायुको प्रभाव अहिलेसम्म पनि कायम रहेको मौसमविद् सुदर्शन हुमागाईं बताउँछन्। उनी भन्छन्, “पश्चिमी वायुलाई मनसुनी वायुले धकेलेर कमजोर बनाउन सकेको छैन, जसले गर्दा पानी परिरहेको छैन।”
यस क्षेत्रमा हुने वर्षा प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिसँग पनि अन्तरसम्बन्धित हुन्छ। प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’ र ‘ला निना’ भनिने दुई मौसमी प्रक्रियाका कारण हावापानीमा ठूलो फेरबदल आउँछ। पूर्वी प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम सरदरभन्दा धेरै भएको अवस्थालाई एल निनो र तापक्रम सरदरभन्दा कम भएको अवस्थालाई ला निना भनिन्छ। मौसमविद् हुमागाईंका अनुसार गर्मीका महीनामा ला निना प्रणाली सक्रिय भएका वर्ष नेपालमा सामान्यतया सरदरभन्दा धेरै पानी परेको छ। हिउँदमा भने यो उल्टो हुन्छ।
यस वर्ष पनि प्रशान्त महासागरको मौसम एल निनोबाट ला निनामा जाँदै छ। तर त्यो क्रम अहिले ‘न्यूट्रल’ अर्थात् तटस्थ अवस्थामा पुगेको गुमागाईं बताउँछन्। उनका अनुसार ला निना प्रणाली विकसित हुँदै जाँदा जुलाई र अगस्ट महीनामा यस क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यसैकारण यस वर्षको मनसुनको अवधिमा देशका अधिकांश क्षेत्रमा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको बताएको छ। खासगरी जुलाई र अगस्टमा सरदरभन्दा बढी पानी पर्न सक्ने हुमागाईं बताउँछन्।