विश्वकपको अर्को चरणमा पुगेका आठ टोली
आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार बिहानको खेल सकिएसँगै ‘सुपर-८’ मा पुग्ने टोलीको टुंगो लागेको छ।
नेपाललाई पराजित गरेसँगै बाङ्लादेश अर्को चरणमा पुगेको छ। नेपाल रहेको समूह ‘डी’ को शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका यसअघि नै ‘सुपर-८’ मा पुगिसकेको छ।
त्यस्तै, समूह ‘ए’ बाट भारत र अमेरिका, समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्ड तथा समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज ‘सुपर-८’ मा पुगेका छन्।
यस पटक पाकिस्तान, न्यूजिल्यान्ड र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन्। नेपालसँगै एशोसिएट टोलीबाट अमेरिका अर्को चरणमा पुग्न सफल भएको छ।
‘सुपर-८’ मा पुगेका आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह-१ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बाङ्लादेश छन्। त्यस्तै समूह-२ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इङ्ल्यान्ड र अमेरिका छन्।
अब दुवै समूहका टोलीले आपसमा प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्षस्थानमा रहेका दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
असार ४ मा समूह चरणका खेल सकिनेछ। अन्तिम खेलमा वेस्ट इन्डिज र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छन्।
त्यसपछि असार ५ गतेदेखि ‘सुपर-८’का खेल शुरू हुनेछन्। पहिलो खेलमा बुधबार राति ८:१५ बजे दक्षिण अफ्रिका र अमेरिका भिड्नेछन्।
यता, १० वर्षपछि टी-२० विश्वकपमा पुगेको नेपालको यात्रा भने सुखद रहेन। नेपालले समूह चरणका चारमध्ये तीन खेलमा हार बेहोर्यो भने एक खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक-एक अंक बाँडेको थियो।