कलाकारलाई लोक-दोहोरी प्रतिष्ठानको अंकुश
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरीमा अपाच्य प्रस्तुति भएको भन्दै चेतावनी दिनेदेखि कारबाहीसम्मको कदम चालेको छ। कलाकारले भने यसलाई स्वतन्त्रतामा हस्तक्षेप भनेका छन्।
धादिङ गजुरी
भेट कहाँ हुन्छ र मौका नजुरी।
बीबी अनुरागीको शब्द/संगीतमा बाल गायकद्वय विराज गन्धर्व र मिलन गन्धर्वले गाएको र्यापमिश्रित यो लोकदोहोरी गीत २०७८ सालमा सार्वजनिक भएको थियो। यही गीति टुक्का र भाकामा विराज र नवीना सिलवालले गाएको ‘लाइभ’ दोहोरी एक महीनाअघि यूट्यूबमा राखियो। यसपछि पनि यही टुक्का लिएर विराजले रिया खड्का र बालचन्द्र बरालसँग छुट्टाछुट्टै दोहोरी ब्याटल गाए।
र्याप मिसिएका दोहोरी गीत एकपछि अर्को आउन थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले आपत्ति प्रकट गर्यो। लोकदोहोरीमा र्याप मिसाएको, अपाच्य र असभ्य शैली देखाएको भन्दै प्रतिष्ठानले स्पष्टीकरण माग्नेदेखि निलम्बन गर्नेसम्मका कारबाही गरेको छ।
प्रतिष्ठानले पहिलो पटक जेठ १३ गते ‘लाइभ दोहोरी’ को नाममा अश्लील र अपाच्य प्रस्तुति देखिएको भन्दै कलाकार, स्टुडियो र यूट्यूब च्यानललाई सचेत गराउँदै विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा त्यस्ता गीत गाउन नछाडे कलाकारलाई प्रतिष्ठानको साधारण सदस्यबाटै हटाउनेसम्मको चेतावनी दिइएको थियो। यसपछि प्रतिष्ठानका सदस्य रहेका गायक बालचन्द्र बराललाई निलम्बन गरियो।
प्रतिष्ठान यतिमै रोकिएन। यस्तो शैलीमा गीत नगाउन भन्दै जेठ २४ गते १२ जना कलाकारको नाम सहित विज्ञप्ति निकाल्यो। आइन्दा अपाच्य गीत नगाउने भन्दै लिखित प्रतिबद्धता सात दिनभित्र बुझाउन कलाकारहरू नवीना सिलवाल, रिया खड्का, तारा थापा, शर्मिला रायमाझी, नवराज काप्री, शंकर सुनार, सुशीला लामा, सागर बिसी, सीताराम परियार, सलिना नेपाली, विशाल सोनी र गोपाल नेपाललाई पत्र पठायो। यीमध्ये नवीना, रिया र गोपाल बाहेकले प्रतिष्ठानमा लिखित प्रतिबद्धता बुझाइसकेका छन्। केही कलाकार भने प्रतिष्ठानको कारबाहीको प्रतिवादमै उत्रेका छन्।
कारबाहीमा परेकी गायिका तथा मोडल रियाले प्रतिष्ठानमा भएका व्यक्तिहरू समेतको नाम नै किटान गरेर कारबाही गर्न चुनौती दिएकी छन्। उनले फेसबूकमा लेखेकी छन्, ‘खुमन अधिकारी, शिव हमाल, प्रकाश सपुत, प्रीति आले, पूर्णकला बिसी र बद्री पंगेनीलाई पनि कारबाही गरियोस्।’
विभिन्न समयमा आएका गीतमा यी कलाकारले लोकदोहोरीलाई ब्याटल शैलीमा प्रस्तुत गरेको, अश्लील शब्दको प्रयोग गरेको वा गीतको भिडिओ अपाच्य भएका कारण उनीहरूलाई पनि कारबाही गरिनुपर्ने उनको भनाइ छ। कार्यसमितिमा रहेका र आसेपासे व्यक्तिलाई कारबाही गर्न प्रतिष्ठानले आँट नगरेको भन्दै रियाले लेखेकी छिन्, ‘नजिकको गन्ध थाहा नपाउने तपाईंको कार्यसमितिले झन् टाढाको गन्ध नसुँघेकै राम्रो। पहिले आफ्नो घरको कसिंगर बढार्नुस्।’ कारबाही गर्न हाँक दिंदै उनले नाम लिएकी अधिकारी प्रतिष्ठानकी उपाध्यक्ष र हमाल महासचिव छन् भने पंगेनी पूर्व अध्यक्ष हुन्।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लोकदोहोरीको भावना विपरीत र प्रस्तुति अपाच्य भएकाले कलाकारहरूलाई कारबाही गरिएको तर्क गर्छिन्। “गीत गाउँदागाउँदै सारी तान्ने, हाहाहुहु गर्ने, हेल्मेट लगाएर गाउने, चिच्याउने, सुतेर गाउने गरेको देखियो,” उनी भन्छिन्, “परिवार एकसाथ बसेर हेर्न नसकिने र छाडा शब्दको प्रयोग भएकाले कारबाही गरेका हौं।”
छाडा र अपाच्य प्रस्तुति भनेर कलाकारलाई कारबाही गरे पनि प्रतिष्ठानसँग यसको मापन गर्ने आधार र विज्ञता भने छैन। प्रतिष्ठान लोक तथा दोहोरी कलाकारहरूले नै मिलेर खोलेको संस्था हो। प्रतिष्ठानकी अध्यक्ष थापा कुनै पनि गीतसंगीत कला या विकृति के हो भनेर छुट्याउने काम विज्ञभन्दा पनि समाजले गर्ने बताउँछिन्।
‘कलाकारलाई हस्तक्षेप’
लोक तथा दोहोरी गीत प्रतिष्ठानले विभिन्न समयमा गीत र भिडिओ अपाच्य र अश्लील भएको नाममा आपत्ति प्रकट गर्नुका साथै कलाकारलाई कारबाही गर्दै आएको छ। कलाकारहरू भने सिर्जनामा बन्देज लगाउनु या रोकटोक गर्नु संविधानले दिएको मौलिक हक विरुद्धको कार्य भएको तर्क गर्छन्।
गायिका तथा मोडल ज्योति मगर कलाकारको स्वतन्त्रता हनन गर्ने गरी प्रतिष्ठानले निर्देशन दिनु संविधान विपरीत भएको बताउँछिन्। समय अनुसार आएको परिवर्तन र नयाँ पुस्तालाई स्वीकार गर्न नसक्ने पुस्ताले कलाकारलाई कारबाही गरेको आरोप लगाउँछिन्।
गीत गाउँदा हेल्मेट लगाएको, र्याप मिसाएको, हाँसेको बहानामा प्रतिष्ठानले पत्र पठाउनु हास्यास्पद भएको उनको भनाइ छ। “कुनै संस्था संविधानभन्दा माथि हुँदैन, प्रतिष्ठानले यो गर, त्यो नगर भन्नु कलाकारमाथिको हस्तक्षेप हो,” उनी भन्छिन्, “पुराना सबै राम्रो, अहिलेका सबै गलत भन्ने परिपाटी बस्यो।”
उनले आठ वर्षअघि आफू अभिनीत ‘ढाडे बिरालो’ गीतको भिडिओ उच्छृंखल भएको भन्दै सञ्चारमाध्यममा नबजाउन प्रतिष्ठानले पत्र काटेको स्मरण गरिन्। विभिन्न समयमा कलाकारलाई दुःख दिने गरेकाले प्रतिष्ठानको हस्तक्षेप विरुद्ध आफू बोल्ने गरेको उनको भनाइ छ।
लोकगायक कुमार बस्नेत लोकदोहोरी तथा जुहारीमा केटा पक्षले लान्छु भन्ने र केटी पक्षले जान्नँ भन्ने ठट्यौली र रमाइलो पहिलादेखि नै रहेको भन्दै नयाँ शैलीलाई समाजका कतिपयले नपचाउने बताउँछन्। उनी नयाँपनको नाममा विकृति पनि आएको बताउँछन्। “के छाडा र के नछाडाभन्दा पनि पुरानो शैली नै हराएकोमा चिन्ता छ मलाई,” उनी भन्छन्, “लोकगीतमा ठेट शब्द र भाका नै हराएको छ।”
प्रतिष्ठानका महासचिव शिव हमाल र्याप विधालाई दोहोरी गीतमा मिसाउँदा मौलिक दोहोरी नै हराउने बताए। सिर्जना समाजकै ऐना भएको र समाजभन्दा बाहिर गएर सर्जकले सिर्जनाको नाममा विकृति ल्याउन नहुने उनको भनाइ छ।
विकृति ल्याउने सिर्जना र सर्जकलाई कानूनी कारबाही गर्ने अधिकार प्रतिष्ठानसँग नभएकाले नियमनका लागि गृह मन्त्रालय गुहारेको हमाल बताउँछन्। गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानका प्रतिनिधिहरूले लोकदोहोरीमा आएको छाडापन, अपाच्य शैली र असभ्य प्रस्तुति रोक्ने कानून बनाउन र जथाभावी गर्ने कलाकारलाई कानूनी दायरामा ल्याउन माग गरेका थिए। त्यस क्रममा मन्त्री लामिछानेले कला हो कि विकृति भनेर मापन गर्न गाह्रो हुने र यसको मापन कसले गर्ने भन्दै प्रश्न गरेका थिए।
नियन्त्रण कि स्वअनुशासन?
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख कृष्ण न्यौपाने लोकदोहोरीमा कस्ता शब्द प्रयोग गर्ने, कसरी प्रस्तुति दिने भन्ने कुनै मापदण्ड नहुने मत राख्छन्। उनका अनुसार यो मौखिक साहित्य हो र समाजकै वरिपरिका कुरा टिपेर गाइन्छ।
दोहोरी गीत व्यवसायमुखी बन्दै गएको र यस क्रममा अपाच्य शब्द प्रयोग गर्ने जस्ता विकृति आएकोमा भने उनी चिन्ता प्रकट गर्छन्। तर सिर्जनालाई नियन्त्रण गर्न नमिल्ने, कसरी प्रस्तुति दिने भनेर व्यक्तिको अनुशासनमा भर पर्ने उनको भनाइ छ।
“प्रतिष्ठानले आफ्नो विधान अनुसार सदस्यलाई कारबाही गर्न त मिल्ला, तर गीत गाउने कति छन् कति। ती सबैलाई प्रतिष्ठानले कारबाही गर्न मिल्दैन,” उनी भन्छन्, “कुन पाच्य, कुन अपाच्य भनेर छुट्याउन कसरी मापन गर्ने? कुन विज्ञ राखेर छुट्याइएको हो? यसमा सरकारी निकाय सक्रिय हुनुपर्छ।”
लोकगीतको वर्तमान अवस्थाबारे विश्वविद्यालयले भने खासै छलफल गर्न नसकेको उनको स्वीकारोक्ति छ।
लोकदोहोरीबारे अध्ययन गरेका त्रिवि अंग्रेजी विभागका प्राध्यापक राजकुमार गुरुङ कलाकारको इच्छाभन्दा पनि समाजको मागका कारण दोहोरी गीतमा परिवर्तन देखिएको बताउँछन्। कतिपय अपाच्य दोहोरी गीत आएको सन्दर्भमा उनी कतिसम्म जाने भनेर स्वयं कलाकारले नै सीमा कोर्नुपर्ने उनको धारणा छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई लोकदोहोरी पनि लोकसाहित्य भएको र हरेक साहित्यमा नयाँ भाषा र त्यसको प्रस्तुतिलाई स्विकार्नुपर्ने मत राख्छन्। तर गीतमा जनबोलीभन्दा पनि समाजले नपचाउने खालका शब्दको प्रयोग गरेर यूट्यूबमा भ्यूज बटुल्ने प्रवृत्ति झाँगिएको आरोप लगाउँछन्।
यद्यपि कुन गीत श्लील वा अश्लील भन्ने मापदण्ड राज्यका कुनै निकायले भन्दा पनि समाज आफैंले तय गर्नुपर्ने उनको भनाइ छ। “कला कस्तो पस्किने भन्ने स्वतन्त्रतासँगै नैतिक विषय भएकाले सर्जक या कलाकारले विचार गर्नुपर्छ,” उनी भन्छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको लोकसंगीत विभागकी प्रमुख टीका पुन यूट्यूबमा भ्यूज बटुल्न लाइभ दोहोरीमा छाडा शब्द प्रयोग गर्ने प्रवृत्ति देखिएको तर नियमन या सेन्सर गर्ने निकाय नहुँदा मापन गर्न सक्ने अवस्था नरहेको बताउँछिन्। लोकसंगीत विभागले लोकसंगीत, साहित्यको अभिलेख राख्ने र अनुसन्धान गर्ने काम मात्रै गर्ने भन्दै उनी लोकदोहोरी क्षेत्रलाई नियमन गर्ने छुट्टै अधिकारसम्पन्न सरकारी निकाय आवश्यक रहेकोमा जोड दिन्छिन्।
“चलचित्र क्षेत्र हेर्ने चलचित्र विकास बोर्ड भए जस्तै लोकदोहोरीमा अधिकारसम्पन्न संस्था आवश्यक छ,” उनी भन्छिन्, “यस सम्बन्धी कानून बनाउन हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाइसकेका छौं।”
लोकसाहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवस महिला-पुरुषबीच सवालजवाफ हुने लोकदोहोरीमा कहिलेकाहीं विषय, प्रसंग र परिस्थितिका आधारमा शब्दको प्रयोग हुनु स्वाभाविक भएको तर समाजमा स्वीकृत हुनेसम्मको गीत गाउनुपर्ने बताउँछन्। तर सिर्जनाको नियमन उचित नहुने उनको धारणा छ।
“सिर्जनालाई नियमन गर्ने होइन, समयसापेक्ष बनाउनुपर्छ,” उनी भन्छन्, “कानून निर्माण र परिपालना पनि मान्छेले नै गर्ने हुन्, त्यसैले व्यावहारिक पक्ष हेरेर व्यवस्थापन गर्नुपर्छ।”