कुवा सुकेपछि बसाइँ सर्दै गाउँले
सुर्खेत उपत्यकाको पश्चिमी किनारमा रहेको रेक्चा गाउँमा कुवा सुकेर पानीको अभाव भएपछि स्थानीय बासिन्दा बसाइँ सर्न थालेका छन्।
डोकामा गाग्री बोकेर पानी लिन जाने रेक्चा गाउँवासी गत जेठ ३१ मा भने कुवातिर गएनन्, उनीहरू चौकुने गाउँपालिकाको कार्यालय पुगे।
रेक्चाबाट चार किलोमिटर हिंडेर गाउँपालिका सदरमुकाम गुटु पुगेकी खगिसरा शाही पानी नहुँदा गुजारा चलाउनै समस्या भएको सुनाउँछिन्। “अरू वेला जसोतसो चल्छ, गर्मी लागेपछि त तिर्खा मेट्ने गरी पानी खानै पाइँदैन,” शाही भन्छिन्।
खानेकुराभन्दा पानीको प्रयोगमा ध्यान दिनुपरिरहेको उनी बताउँछिन्। गाउँमा पानीका मुहान सुकेपछि टाढा टाढा जानुपरेको उनको भनाइ छ। “उस्तै पनि पानी भर्न दिनभर लाग्थ्यो, अहिले त खडेरीले गर्दा कुवा सुकेको छ,” शाही भन्छिन्, “कति वेला घरको काम गर्ने, कति वेला खेतीपाती, बस्तुभाउलाई हेर्ने!”
दिनभर पालो कुर्दा पनि पानी नपाइने गरेको उनी बताउँछिन्। वर्षौंदेखि झेल्दै आएको समस्या जस्ताको तस्तै छ। “नेतालाई भन्दा पनि पानी आएन, केही सीप नलागेपछि हाम्रो पीडा सुनाउन हिंडेरै आएका हौं,” शाही भन्छिन्।
पानीको अभाव पुरानै समस्या भए पनि रेक्चा गाउँ सबैको आकर्षणको केन्द्रका रूपमा थियो। चौकुने गाउँपालिका-४ मा पर्ने यो गाउँ अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा छ। खेतीपाती पनि हुने, हावापानी पनि राम्रो भएकाले छरछिमेका गाउँले पनि लोभिन्थे।
तर केही वर्षयता पानीको चरम अभाव हुँदै गएपछि स्थानीय बासिन्दाले नै गाउँ छोड्न थालेको वडा सदस्य तपेन्द्र क्षेत्री बताउँछन्। उनकै नेतृत्वमा खानेपानी संघर्ष समिति गठन गरिएको छ। त्यही समितिको अगुवाइमा स्थानीय बासिन्दा डोकामा गाग्रो बोकेर सदरमुकाम पुगेका थिए। “गाउँ नै काकाकुल बनेको छ,” क्षेत्री भन्छन्।
उनका अनुसार केही देशकदेखि नै पानीको अभाव भइरहेको थियो। तैपनि गाउँमा रहेका ११ वटा कुवाले जसोतसो धानेका थिए। “अहिले सबै कुवा सुकेका छन्,” उनी भन्छन्, “कुवाको पिंधमा भल जस्तो मात्रै पानी छ, गाउँलेले कपडाले छानेर खाइरहेका छन्।”
पाँच वर्षअघिसम्म रेक्चा गाउँमा ११५ घरधुरीको बसोबास थियो। खानेपानी अभावकै कारण ३५ परिवार बसाइँ सरेको उनी बताउँछन्। अहिले रेग्चा गाउँमा ८० घरधुरी मात्र छन्।
यस गाउँमा खानेपानीको व्यवस्था गर्न सरकारले कहिल्यै ध्यान नदिएको स्थानीय बासिन्दा गुनासो गर्छन्। स्थानीय र प्रदेश सरकार बनेपछि भने बेवास्ता गरिएको स्थानीय खगिसरा शाही बताउँछिन्। “कुनै आयोजनाका लागि प्रदेश र केन्द्र सरकारले बजेट दिएका छैनन्,” उनी भन्छिन्।
चौकुने गाउँपालिकाले चार वर्षअघि कर्णाली नदीबाट लिफ्ट गरेर रेक्चामा खानेपानी ल्याउने योजना बनाएको थियो। त्यसका लागि एक करोड ७२ लाख रुपैयाँ बजेट पनि विनियोजन गरिएको थियो। तर काम अघि बढ्न सकेन। भौगोलिक विकटता तथा सडक र बिजुलीको अभावले आयोजना अघि बढ्न नसकेको जनाइएको छ।
गाउँपालिका अध्यक्ष खड्ग विक रेक्चामा खानेपानीको व्यवस्था गर्न स्थानीय सरकारको स्रोतले मात्र नभ्याउने बताउँछन्। “एकातिर, भौगोलिक विकटताको समस्या छ। अर्कातिर, पानीको स्रोत टाढा छ, जसका कारण पानी ल्याउन समस्या परेको हो,” अध्यक्ष विक भन्छन्, “स्थानीय सरकारको बलबुताले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकार नै लाग्नुपर्छ।”
यसका लागि प्रदेश र संघीय सरकारका मन्त्रीहरूसँग भेटघाट गरेको उनी सुनाउँछन्। यस विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि सकारात्मक रहेको उनको भनाइ छ। उनी भन्छन्, “यस गाउँको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न नयाँ तरीकाले सम्भाव्यता अध्ययन गर्नुपर्छ।”