पूर्वी पहाडमा बाढीपहिरो : पाँच जनाको मृत्यु, २५ परिवार विस्थापित
मनसुन भित्रिएसँगै केही दिनदेखि लगातार भइरहेको वर्षाले पूर्वी पहाडमा बाढी र पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं परिवार विस्थापित भएका छन्।
विशेषगरी ताप्लेजुङमा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। गए राति मिक्वाखोला गाउँपालिका-५, ताङखु गाउँमा पहिरोले सात परिवार प्रभावित बनेका छन्। पहिरोले २३ रोपनी अलैंची बगान बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए।
असार १ मा पहिरो जाँदा मिक्वाखोला-५, पापुङमा तीन परिवार विस्थापित भएका छन्। ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, तांखु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ।
त्यस्तै, सिरिजंघा गाउँपालिका-६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन्। मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवार विस्थापित भएका छन्।
मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू तथा आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ। पहिरोले घरमा क्षति पुग्दा उनीहरू विस्थापित भएका हुन्।
पहिरोले सिरिजंघा-७ मा नवराज लिम्बूको घर, भान्साघर र पशुचौपाया बगाएको छ। त्यसै ठाउँका शुक्रराज लिम्बूको घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने पशुचौपाया बगेका छन्।
यसैगरी, पहिरोले घरमा क्षति हुँदा सिरिजंघा-८, याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको छ। पहिरोले खानेपानीमा क्षति पुर्याउँदा मामांखेका करीब ३०० परिवार खानेपानीबाट वञ्चित छन्। याम्फुदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय सन्तोष राईले बताए।
पूर्वी पहाड भएर गत जेठ २८ मा मनसुन भित्रिएको थियो। त्यसयता कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। वर्षासँग आएको बाढी र पहिरोमा परी पाँच जनाको ज्यान गएको र ५५ पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ताप्लेजुङ, संखुवासभा लगायत जिल्लामा बाढीपहिरोले भौतिक संरचनामा क्षति पुगेको छ।
मनसुन देशभर फैलिन भने केही समय लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।