बागमतीको बजेट ६४ अर्ब ५४ करोड (पूर्ण पाठ)
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभाको बैठकमा आगामी आव २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन्। चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आवको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ।
प्रदेश सरकारले चालू आवको तुलनामा एक अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो। चालू आवमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो।
प्रदेश सरकारले व्यावसायिक उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमलाई निरन्तरता दिन एक अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। त्यस्तै, मन्त्री थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न सात अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेका छन्।
गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिएका छन्। बागमती सरकारले सडक, पुल र झोलुंगे पुलका लागि दुई अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ।
सत्तापक्ष र विपक्षी ११ गरी दलले भने हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रदेश सरकारको निर्णय विरुद्ध विरोध जनाएका थिए। सत्तारूढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा, राप्रपा नेपाल, नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले उक्त निर्णयप्रति विरोध गरेका थिए। सरकारले शुक्रबार अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गरेको थियो।
बजेटको पूर्ण पाठ: