ओल्गाको अँगालो विनाको अमेरिका
जेठ दोस्रो साता काठमाडौंबाट क्यालिफोर्निया पुगेकी निर्मला ज्ञवालीलाई यस पटकको अमेरिका यात्राले भने एक्लोपन महसूस गराइरह्यो।
अमेरिका यात्रा भन्ने बित्तिकै निर्मला ज्ञवाली उत्साहित र खुशी हुन्छिन्। साता दिनअघिदेखि नै छटपटी हुन्छ, प्रिय मान्छे भेट्न। तर यस पटकको अमेरिका यात्राले भावुक र गम्भीर बनायो।
६ वर्षपछि उनी जेठ दोस्रो साता काठमाडौंबाट अमेरिका पुगेकी थिइन्। यसअघि जस्तो अमेरिकामा मायाले अँगालो हाल्ने, अवसर खोजेर ल्याइदिने, जीवनमा उज्यालो र ज्यान भरिदिने ओल्गा मरे थिइनन्। गत फागुन ८ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा ओल्गाको निधन भएको थियो।
श्रद्धाञ्जली अर्पण गर्न निर्मला १२ हजार किलोमिटर हवाई यात्रा गरेर अमेरिकाको क्यालिफोर्निया उत्रिएकी थिइन्। निर्मलाका लागि ओल्गा तिनै प्रिय मान्छे हुन्, जसले तारतम्य मिलाएपछि २०४५ फागुन ५ मा गुल्मीको घरगाउँ छोडेर काठमाडौं पुगेकी थिइन्, पढ्नका लागि।
ओल्गाको निधन भएको साढे तीन महीनापछि नेपाल यूथ फाउन्डेशनले ‘सम्झना सेवा’ कार्यक्रम आयोजना गरेको थियो। उनी फाउन्डेशनकी संरक्षक थिइन्। त्यही कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी थिइन्, निर्मला। उनी कार्यक्रम अवधिभर भावुक देखिइन्। “ओल्गा ममी धर्तीमा हुनुहुन्न भन्ने कुरा पत्याउन मेरो मनले अझै मानिरहेको छैन,” उनी भन्छिन्।
गुल्मीको दुर्गम गुल्मी दरबार गाउँपालिकामा जन्मिएकी निर्मला जन्मजात दृष्टिविहीन हुन्। दिदी र दाजु पनि उस्तै दृष्टिविहीन। यस्तो अवस्थाबाट निर्मलालाई काठमाडौं ल्याएर पढाउने काम उनै ओल्गाले गरेकी थिइन्। नेपालमा परोपकारको बेग्लै छवि बनाएकी ओल्गाले पश्चिम नेपालका १२ हजारभन्दा बढी कमलरीलाई मुक्ति दिलाएर सम्मानपूर्ण जीवन बाँच्न सघाएकी थिइन्। उनको परोपकारी कर्मबाट ६० हजार असहाय प्रत्यक्ष लाभान्वित छन्।
ओल्गा ६० वर्षको उमेरमा पहिलो पटक २०४१ सालमा नेपाल पुगेकी थिइन्। त्यसपछिका हरेक वर्ष नेपाल आउजाउ गरिरहिन्, असहाय र सीमान्तीकृतलाई सघाउन। महिला शिक्षा, सशक्तीकरण एवं आत्मनिर्भरताको कुनै न कुनै सहयोगी सूत्र बोकेर उनी नेपाल पुग्थिन्। उनकै जोडबलमा त्यति वेलाका १४ वटै अञ्चल अस्पतालमा पोषण कार्यक्रम शुरू भएको थियो।
खगेन्द्र नवजीवन केन्द्रमा रहेकी निर्मलाकी दिदी सीतालाई ओल्गाले सहयोग गरिरहेकी थिइन्। त्यही क्रममा ३७ वर्षअघि निर्मलाले ओल्गालाई भेटेकी थिइन्। त्यही भेटले निर्मलाको पढाइको ढोका खुलेको थियो।
भर्खर बुबा टीकारामको निधन भएको थियो। निर्मला आफन्तसँगै काठमाडौं आएकी थिइन्। भेट्ने बित्तिकै ओल्गाले ‘गुड मर्निङ निर्मला’ भन्दा उनी अकमक्क परेको सम्झिन्छिन्। “म त अकमकाएँ। एक/एक अक्षर पढ्दै गुड मर्निङ भनेकी थिएँ,” उनी सुनाउँछिन्।
त्यसै ताका एक दिन निर्मला संकोचमा थिइन्। आफू महीनावारी भएको लुकाउन खोजिरहेकी थिइन्। तर ओल्गासँग कुराकानी भएपछि खुलेर बताइन्। “ओल्गा ममी त खुशी हुनुभयो, सेनिटरी प्याड दिनुभयो,” उनी भन्छिन्।
ओल्गासँगका कैयौं स्मृति छन्, निर्मलासित। त्यसमध्ये एक हो, दुई दशकअघिको अमेरिका यात्रा।
२०६१ सालतिर निर्मलाले अमेरिकाको प्रतिष्ठित फुलब्राइट छात्रवृत्तिको पार्टनरशिप लर्निङ अन्डरग्र्याजुएट स्टडीज कार्यक्रम अन्तर्गत पढ्ने अवसर पाइन्। उनी अमेरिकाको कोलोराडो राज्यको डेनभर पुगिन्। बस्नका लागि ओल्गाले नै आफ्ना साथीहरू न्यान्सी हेजलरिङ र लिन हैटरिचको घरमा प्रबन्ध मिलाइदिएकी थिइन्।
त्यसको केही समयपछि ओल्गा नेपालबाट अमेरिका फर्किइन्। निर्मलालाई क्यालिफोर्निया बोलाइन् र घरमै राखिन्। जति वेला ओल्गा ८०औं जन्मोत्सव मनाउँदै थिइन्। राति गफ गर्दागर्दै निर्मला ओल्गा सुत्ने बिछ्यौनामै निदाइन्। “रातको साढे २ बजे ब्युँझिंदा त ओल्गा ममी नेपालका असहाय बालबालिकालाई सहयोग जुटाउन साथीहरूलाई इमेल लेखिराख्नुभएको थियो,” निर्मला सम्झिन्छिन्।
ओल्गाको आवाज अझै पनि निर्मलाकाे कानमा गुन्जिरहेको छ। उनी भन्छिन्, “ओल्गा ममीसँग जोडिएका अनेक सम्झनाले मगज भरिएको छ। म शान्त र स्वाभाविक अवस्थामा फर्किने क्रममा छु।”
कुनै पनि किसिमको कठिनाइ र समस्यामा परेका मान्छेलाई आफ्नो गाँस काटेर मद्दत गर्थिन्, ओल्गा। उनलाई सम्झिंदा पनि ऊर्जा प्राप्त हुने गरेको निर्मला सुनाउँछिन्। “उहाँले नै म र म जस्ता कैयौंलाई उभिने र संसार बुझ्ने बनाइदिनुभएको हो,” उनी भन्छिन्।
अमेरिकाबाट फर्किंदै गर्दा पनि निर्मलाले ओल्गाकै पदचाप पछ्याउने बताइन्। “आफ्ना लागि त जो पनि बाँच्छ, अरूका लागि पनि बाँच्नुपर्छ भन्नुहुन्थ्यो,” निर्मला भन्छिन्, “उहाँको आवाजले कम्तीमा अवसरहरूको न्यायपूर्ण वितरणका पक्षमा लागिरहन झकझक्याइरहनेछ।”
यो पनि पढ्नुहोस् : परोपकारको मानक बनाएकी ओल्गा मरे