यूरोप यात्राको आत्मीय वृत्तान्त
बेलायतमा बसेर डुलिरहने लेखक कृष्ण बजगाईंले आफूसँगै नेपाली पाठकलाई पनि यूरोपको यात्रा गराएका छन्, ‘युङफ्राउ’ मार्फत।
भनिन्छ, यात्राले एउटा भ्रम निवारण गर्छ भने अर्को भय सिर्जना गर्छ। यही भ्रम र भयबीचमै रचना हुने नियात्रा साहित्य प्राचीन कालदेखि नै शुरूआत भएको मानिन्छ।
अझ यातायातको सुविधा नभएको समयमा पनि खोजकर्ताहरू एउटा भूगोलबाट अर्को भूगोलको यात्रा गर्थे। कोलम्बसको अमेरिका अविष्कार, भास्को डी गामाको भारतको आविष्कार यात्राकै उपलब्धि हुन्।
अहिले यातायात र सामाजिक सञ्जालले यात्रालाई सुगम बनाएका छन्। विभिन्न क्षेत्रका ज्ञानको आविष्कारले यात्रा सरल र सुगम भएको छ। यात्राले नै पर्यटनलाई लोकप्रिय बनाएको छ।
नेपाली साहित्यमा भने नियात्रा लेखन परम्परा त्यति लामो छैन। २००७ सालसम्म बाँकी विश्वका लागि नेपाल बन्द स्थान जस्तै थियो। प्रजातन्त्र आएपछि नेपाली पनि संसारका विभिन्न ठाउँ पुग्न थाले।
दोस्रो विश्वयुद्धमा बेलायती सैनिकमा भर्ना भएका नेपाली संसारका विभिन्न भागमा पुगे। बाह्य संसारबारे थाहा पाउन थाले। त्यही क्रममा घनश्याम राजकर्णिकारले बाह्य संसारबारे लेखे भने युवराज नयाँघरेले नेपालभित्रकै यात्रालाई लेखनमा उतारे।
पछिल्लो समय अर्का लेखक थपिएका छन्, कृष्ण बजगाईं। बेलायतको लन्डन निवासी बजगाईं संसारको सभ्यता, व्यक्ति र स्थानबारे कलम चलाउँछन्। आधा दर्जनभन्दा बढी किताबका लेखक बजगाईंको हालसालै अर्को कृति प्रकाशित भएको छ, युङफ्राउ।
जर्मन भाषामा ‘युङफ्राउ’ ले स्वीट्जरल्यान्डको हिमाललाई ‘कुमारी हिमाल’ का रूपमा अर्थ्याउँछ। यही युङफ्राउमा बजगाईंले ग्रीस, पोर्चुगल, बेलायतबारे लेखेका छन्। घटना र स्थानविशेषलाई आत्मीय रूपमा पस्केका छन्। ससाना यात्रा विवरणमा २७ वटा रचना अटाएका छन्।
सबैभन्दा धेरै उनले ग्रीक सभ्यता र इतिहासमाथि लेखेका छन्। यदि ग्रीसलाई हटाउने हो भने पश्चिमी संसार अपूरो रहन्छ। पाश्चात्य जगत्को ज्ञान, विज्ञान, साहित्य, संगीत ग्रीसमै अडेको छ। एक्रोपोलिस संसारका मानिसको आकर्षण भएको उल्लेख गर्दै उनी ग्रीक देवीदेवताको परिचय दिन्छन्। ग्रीक भाषामा एक्रोपोलिसको अर्थ उच्चतम तहमा पुगेको शहर मानिन्छ।
ग्रीसमा उनी वाइनका देवताको खोजी गर्छन्। सुकरातले विषपान गरेको जेल भवन र पहिलो रंगशालामा पाठकलाई भ्रमण गराउँछन। अरस्तुको लाइसिएममा एक चक्कर लगाउँछन्।
लेखक बजगाईंको रुचि इतिहास, धर्म र संस्कृतिमा छ। त्यसैले उनी ओलम्पिक खेलको जन्मस्थान पुग्छन् र त्यसको विवरण प्रस्तुत गर्छन्। स्वीट्जरल्यान्डमा कुमारी हिमालको दर्शन गर्दै हिउँसँग खेल्छन्। पोर्चुगलमा संसारको अन्तिम कुनो पुगेर भारतको आविष्कार गर्ने भास्को डी गामाको कर्मको चर्चा गर्छन्।
त्यस्तै, एक महान् चिन्तक जिन ज्याक रूसोको स्थान जेनेभामा एक बिहान बिताउँछन्। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको घरमा भ्रमण गर्छन् र यी महान् वैज्ञानिकको जीवनी र योगदानबारे चर्चा गर्छन्। आइन्स्टाइनलाई उनले समाजवादी भनेर नामकरण गरेका छन्।
बेलायतको क्यासल घुम्दै उनी पश्चिमी जगत्का एक मिथक रविन हुडसँग जम्काभेट गर्छन्। उनको विगत र प्रभावबारे पाठकलाई सुनाउँछन्। वेस्टमिनिस्टरमा काव्य कुनोबारे कविताको चर्चा गर्छन्। नेकोपोलिसमा एक साँझको विवरण दिंदै बिहानीको धरतीको चर्चा गर्छन्।
संसारबारे सुनाइरहेका नियात्रा लेखक बजगाईं समकालीन नेपाली पाठकमाझ प्रिय पनि छन्। उनको लेखनबारे विद्यावारिधि भएको छ। स्कूल र कलेजका पाठ्यक्रममा उनका नियात्रा समावेश गरिएका छन्।
लघुकथा र कवितामा पनि कलम चलाउने बजगाईं नियात्रा लेखनमा भने सरल तर प्रभावशाली देखिन्छन्। बजगाईंको यो किताब यूरोपकेन्द्रित छ। उनमा विश्वलाई जान्ने र बुझ्ने भोक छ। त्यही भोकले उनलाई नेपाली नियात्रा लेखनमा पठनीय बनाएको छ।
पुस्तक : युङफ्राउ, लेखक : कृष्ण बजगाईं, प्रकाशक : भुँडीपुराण प्रकाशन, मूल्य : ४९० रुपैयाँ, पृष्ठ : २४७