अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्।
जनकपुरधाममा शनिबार नेपाल प्रेस युनियन, धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीले विकास मात्रै नभएर राजनीतिक स्थायित्व पनि दिन नसक्ने बताए।
“राजनीतिक स्थायित्व विना विकास सम्भव छैन। अहिलेको निर्वाचन प्रणालीबाट कुनै एक दलको सरकार बन्ने सम्भावना छैन,” कोइरालाले भने, “त्यसैले निर्वाचन प्रणालीमा परिवर्तन गरेर अगाडि जानुपर्छ।”
अर्को प्रसंगमा नेता कोइरालाले राजनीतिमा अपराधीकरण बढिरहेको बताए। “राजनीतिकर्मी, कर्मचारितन्त्र र व्यवसायी एकै ठाउँमा उभिए भने राजनीतिमा अपराधीकरण हुन्छ, अहिले खतरनाक अवस्था सिर्जना भएको छ,” उनले भने।
त्यसको पछिल्लो उदाहरण सहकारी र मिटरब्याज पीडित भएको उनको भनाइ थियो। सहकारी र मिटरब्याजको समस्या देशैभर रहेको उनले उल्लेख गरे। यसबाट लाखौं जनता प्रभावित भएकाले समस्याको समाधान निकाल्नुपर्नेमा उनले जोड दिए।