देशभर फैलियो डेंगीको संक्रमण
डेंगी रोगको संक्रमण देशभर फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगी हाल ७१ जिल्लामा पुगेको छ। मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगीको संक्रमण बढेको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए।
गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको दाहालको भनाइ छ। “गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ। त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्छ। सफा पानीमा त्यहीं लार्भा बन्ने र मानिसलाई टोक्ने गर्छ,” उनले भने।
उनका अनुसार ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेंगी रोगको संक्रमण देखिएको थियो।
हाल कोशी प्रदेशमा २७२, मधेश प्रदेशमा ३०, बागमती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा संक्रमण देखिएको छ।
काठमाडौंमा ११४ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १८ जनामा संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा वयस्क भएपछि टोक्दा डेंगी रोग लाग्छ।
डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिंडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्छन्। लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।
यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।