फ्लोर क्रस गरेका गण्डकीका सांसद देवकोटा पदमुक्त
फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन्।
गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्। माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयलाई दिएका थिए।
त्यही पत्र सभामुख धितालले पढेर सुनाएका हुन्। प्रदेश सभा नियमावलीको नियम २०७ मा यस सम्बन्धी व्यवस्था छ। त्यसमा भनिएको छ, ‘दल त्याग सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सोको जानकारी सभाको बैठकलाई दिनुपर्नेछ र बैठक चालू नरहेको अवस्थामा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस्न लगाउनुपर्नेछ।’
प्रदेश सभाको बैठक चालू रहेकाले सभामुख धितालले पढेर सुनाएका हुन्। सभामुखले सभालाई जानकारी गराएसँगै सांसद देवकोटा पदमुक्त भएका छन्।
माओवादीले पठाएको पत्र अनुसार प्रदेश सभाको बैठकमा सभामुख धितालले भने, “२०७९ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ अन्तर्गत गण्डकी प्रदेश गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को एकल चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा तथा दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको दलका उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी निर्वाचनमा उम्मेदवार भई माननीय फणीन्द्र देवकोटा निर्वाचत भई नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको सदस्य रहेकोमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा गण्डकी प्रदेश सभा नियमावली, २०८० बमोजिम निज गण्डकी प्रदेश सभाका सदस्य माननीय श्री फणीन्द्र देवकोटालाई प्रदेश सभा सदस्य पदबाट निष्कासन गरी दल त्याग गरेको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकाले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम २०७ समेतको कानूनी व्यवस्था अनुसार सभा समक्ष जानकारी गराउँदछु।’
उनी अहिले गण्डकी प्रदेशको उर्जामन्त्री छन्। मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएपछि उनलाई मन्त्री नियुक्त गरेका हुन्।