प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा संसद्लाई जानकारी गराउन माग गरिएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका हुन्। “प्रधानमन्त्री यही जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो। पाँच दिन बितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन। उहाँको भ्रमणबारे सदन अनभिज्ञ हुनु राम्रो होइन,” लेखकले भने, “प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्रीज्यूलाई तपाईं सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो।”
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल जेठ २७ गते भारत भ्रमण गएका थिए। दाहाल जेठ २८ गते भारत भ्रमणबाट फर्किएका थिए।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेल पनि जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन स्वीट्जरल्यान्ड गएका छन्। कांग्रेसका प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताए।
“हामी संसदीय सार्वभौमिकताको कुरा गर्छौं। संसदीय स्वतन्त्रताको कुरा गर्छौं। प्रधानमन्त्री सदनमा देखिनुभएको छैन। के-कति कारणले उहाँ यहाँ नआउनुभएको हो?” लेखकले भने, “संसदीय परम्परा तोडिएको छ। मिचिएको छ। सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो।”
राष्ट्रप्रमुख र प्रधानमन्त्री मात्र होइन, सदन चलिरहेको अवस्थामा मन्त्रीहरूले समेत सदनलाई जानकारी गराएर विदेश भ्रमणमा जाने कतिपय देशमा अभ्यास रहेको प्रमुख सचेतक लेखकले स्मरण गराए। सभामुखले विशेष ढंगले रुलिङ गर्न जरूरी रहेको उनको भनाइ थियो।
संसद्को अर्को बैठक प्रारम्भ हुने बित्तिकै प्रधानमन्त्री दाहालको भारत भ्रमण र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे जानकारी गराउन प्रमुख सचेतक लेखकले माग गरे।