गन्तव्य छ, बाटो छैन!
बेहाल सडकमा मानिसहरू यति अभ्यस्त भइसकेका छन् कि कुनै ठाउँको सडकको अवस्था कस्तो छ भनेर सोध्दा ‘राम्रो छ, सवारीसाधन चल्न सक्छन्’ भन्ने जवाफ आउँछन्। तर राम्रो भनिएका त्यस्ता धेरै सडक सवारीसाधन चलाउन योग्य हुँदैनन्।
नेपालको सडकमा नवचालक हुँ म। तर यहाँका थुप्रै सडकखण्ड आंशिक या पूर्ण रूपमा जीर्ण रहेको पाटो मेरा लागि नयाँ हैन। वेलावेला घुमफिर या कामविशेषमा निस्किंदा सडकले धुरुक्क पारेको छ।
पछिल्लो पटक पनि घुम्न कहाँ जाने भनेर परिवार र आफन्तसँग सल्लाह भयो। ‘बाटो राम्रो रहेको’ जानकारीका आधारमा काठमाडौं नजिकैको गन्तव्य सुकुटे बिच (सिन्धुपाल्चोक) गइयो।
नेपालका धेरै ठाउँमा सडकको अवस्था खराब छ। कच्ची बाटोको कुरै छाडौं, पक्की सडकमा खाल्डाखुल्डी, मर्मत गर्न खनीखोस्री गरेर महीनौं या वर्षौंसम्म त्यत्तिकै छाड्ने, मर्मत गर्दा पनि नमिल्दो गरी टालटुल पार्ने प्रवृत्ति छ।
सडकको यस्तो दुरवस्था प्राय: मानिसलाई यति सामान्य लागिसकेको छ कि कुनै ठाउँको सडकको अवस्था कस्तो छ भनेर सोध्दा ‘राम्रो छ, सवारीसाधन चल्न सक्छन्’ भन्ने जवाफ आउँछन्। तर राम्रो भनिएका त्यस्ता धेरै सडक सवारीसाधन चलाउन योग्य हुँदैनन्। काठमाडौं-सुकुटे बिचको यात्राबारे पनि जिज्ञासुले त्यस्तै जवाफ पाएको थियो।
कोदारीबाट ४५ किमी वर, बूढानीलकण्ठबाट ७६ किमी पर र दोलालघाटबाट २० किमी पर सुनकोशीको तीरमा छ, आन्तरिक पर्यटकले धानेको सुकुटे बिच। यस क्षेत्रमा साना-ठूला झन्डै १७ वटा रिसोर्ट रहेछन्। तर यहाँ पुग्ने अरनिको राजमार्गको खण्ड खण्डमा देखिने र भोगिने समस्याले हत्तु पार्ने रहेछ।
नेपाल-चीन जोड्ने तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण यस राजमार्गको बेहाल नै छ। भक्तपुरसम्म व्यवस्थित सडक काभ्रेको साँगादेखि धुलिखेलसम्म असंख्य स्थानमा खुँदेर खण्डित गरिएको छ। यसका साथै, सडक चौडा पार्ने उद्देश्यले अनेक ठाउँमा भताभुंग गरिंदा आवागमनमा प्रत्यक्ष बाधा पुगेको छ। यसले एकातिर नागरिकको समय बर्बाद भइरहेको छ, अर्कातिर अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ।
अर्थतन्त्रमा पर्ने असर हेरौं। रुग्ण सडकमा दुई/चार मिनेटको दूरी पार गर्न पनि बीस मिनेट लाग्न सक्छ। यस क्रममा इन्धनको खपत बढी हुने भयो। यस्तै, खाल्डाखुल्डीमा सवारीसाधन गुडाउँदा चाँडै बिग्रिने भएकाले पार्टपुर्जामा खर्च हुन्छ। इन्धन र पार्टपुर्जा विदेशबाट आयात गर्दा राज्यकै रकम बाहिरिन्छ। अर्को संवेदनशील पाटो, जीर्ण सडकमा सवारीसाधन गुड्दा उड्ने धूलो-धूवाँका कारण आसपासका बासिन्दाले चर्को प्रदूषण भोग्दै आएका छन्। स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई पनि आर्थिक नोक्सानीमा जोड्दा सडकको दुरवस्थाले पार्ने क्षतिको आकार निकै ठूलो हुन पुग्छ।
धुलिखेलदेखि केराघारीसम्मको लगभग सात किलोमिटर सडक झनै जीर्ण छ। यो खण्डमा धूलो, हिलो र खाल्डाखुल्डी बाहेक केही छैन। केही ठाउँमा छेउतिर निर्माण कार्य त भइरहेको देखिन्छ, तर त्यस अगाडि र पछाडि समान ढंगले काम बढाउनेतर्फ ध्यान दिइएकै छैन।
आन्तरिक पर्यटनको गन्तव्यसँग जोडिने सडकको मर्मतसम्भार र निर्माणलाई प्राथमिकता दिंदै काम छिटो सकेर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले त्यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने हो। तर यस्तो छनक देखिंदैन। यसभन्दा महत्त्वपूर्ण त चीनसँग जोड्ने मैत्री तथा व्यापारिक राजमार्गको महत्ता मनन गरेको भए शायद यो अवस्था आउने थिएन कि?
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डको विस्तार तथा त्रिभुवन राजपथको नागढुंगा-नौबिसे खण्डको मर्मतमा ढिलाइ भइरहँदा सर्वसाधारणले सास्ती र आर्थिक नोक्सानी भोग्दै आएका छन्। तर ठेकेदार कम्पनीलाई द्रुत काम गराउन मूलत: संघीय सरकार अकर्मण्य बनिरहेको छ। यस सडकखण्डमा गत वर्ष काठमाडौंबाट सौराहा जाँदा र बुटवल, स्याङ्जा, पोखरा हुँदै फर्कने क्रममा सास्ती भोग्नुपरेपछि फेरि दोहोर्याएर यात्रा गर्ने आँट जुटेको छैन।
गत वर्ष नै भाडाको गाडीमा नगरकोटको यात्रा गर्दा पनि भक्तपुरको सैनिक इलाकापछि नगरकोटको रिसोर्टसम्म मुश्किलले केही किलोमिटर सडक मात्र स्तरीय देखें। बाँकी भागमा खाल्डाखुल्डी थिए। धूलो-धूवाँका कारण पहाडी क्षेत्रको स्वच्छ हावा धमिलिएको थियो।
मूल सडकको अवस्था त कष्टकर छँदै थियो, सडकबाट छुट्टिएर रिसोर्ट जोड्ने बाटो पनि दयनीय थियो। रिसोर्ट खोल्न करोडौं खर्च गर्न सक्ने तर पाहुना भित्र्याउने बाटो बिजोग अवस्थामा राख्नुको औचित्य बुझ्न सकिएन।
केही साताअघि एक मित्रसँग ललितपुरको लाँकुरीभन्ज्याङ जाने निधो गरियो। बाटोको अवस्था राम्रो छ भन्ने जानकारी पाएपछि हुइँकिएर गइयो। उकालो चढ्दै गइयो, हाम्रो गन्तव्य पुग्न लाग्दाको झन्डै तीन किमी बाटो सवारीसाधन चलाउन योग्य थिएन। त्यसमा पनि पानी पर्न थालेपछि रातो माटो भएको सडक चिप्लो भएर यात्रा खतरापूर्ण भएको अनुभव गरियो र निर्दिष्ट गन्तव्य नपुगी फर्किन बाध्य भइयो।
विभिन्न स्थानमा सडकका छेउछाउमा पर्यटक र धार्मिक स्थल स्थापना गरिएका देखिन्छन्। तर ती ठाउँसम्म जाने सडकको व्यवस्था राम्रो छैन। यस्तै, मूल सडकसँग जोडेर वा ग्रामीण भेगतिर डोजरले खोस्रेर रेखांकन मात्र गरिए जस्तो देखिन्छ, ती त खासमा सडक नै होइनन्। भोटका लागि स्थानीय नेता, मन्त्री र सांसदहरू यस्ता झिनामसिना कामलाई आफूले ल्याएको विकास भन्ने देखाएर अपूरो र कच्चा योजनामा पैसा सक्छन्। निर्माण व्यवसायी तथा स्थानीय सरकारको बेवास्ता र लापरवाहीका कारण ती रेखांकनले सडकको प्रमाणपत्र पाउनु अगावै त्यहाँ सवारीसाधन चलाइन्छ। जसका कारण दुर्घटना र मानवीय क्षति निम्तिन पुग्छ। तसर्थ सरकार तथा निर्माण व्यवसायीले सडकको निर्माण पूर्णतया नसकिंदासम्म सवारी आवागमन रोक्नुपर्छ।
माथि उल्लेख गरिएका विवरण प्रतिनिधि मात्रै हुन सक्छन्। देशभर दुरवस्थामा रहेका सडक अनगिन्ती होलान्। खुद्रे विकास, जसले पनि निर्माणको ठेक्का पाउने परिपाटी र मतदाता रिझाउन काम देखाउने नेताहरूको होडका कारण हुँदै आएका यस्ता अभ्यास तत्काल बन्द गरिनुपर्छ।