सीमाञ्चलका भन्नै पर्ने कथा भनिएकै छैन
सिमानाबारेका फरक दृष्टिकोण र सीमाञ्चलको संवेदनशीलता बुझ्न नसक्दा नेपाली मिडियाले लेख्नै पर्ने विषय छुटाइरहेका छन्।
२०५८ सालको वैशाख महीनामा खोज पत्रकारिता केन्द्रले सञ्चालन गरेको खोज पत्रकारिता सम्बन्धी तालीम सकेपछि एउटा स्टोरी गर्नुपर्ने थियो। कार्यक्षेत्र पनि भएकाले मैले वीरगन्ज नाकामा भइरहेको भन्सार छली सम्बन्धी स्टोरी गर्ने विचार गरें। तर भन्सारमा तस्करी हुन्छ भन्ने गरिए पनि त्यसको प्रवृत्ति र त्यसमा संलग्न मानिसबारे खोतल्न सहज थिएन।
मेरो विचारमा हरेक पत्रकारले आफूले कार्यक्षेत्र बनाएको समाज बुझेको हुनुपर्छ। समाज बुझ्ने क्रममा त्यहाँ भइरहेका परिवर्तन मसिनोसँग हेर्नुपर्छ। जस्तै- कस्ता कस्ता घर बनिरहेछन्? भोजभतेरको प्रवृत्तिमा कसरी परिवर्तन हुँदै छ? सामाजिक कार्यमा दानदातव्य दिने मानिस कस्ता छन्? नयाँ नयाँ गाडी किन्ने मानिस को हुन्? जीविकाका आधारमा के-कस्ता फेरबदल आइरहेछन्?
यस्ता परिदृश्यले समाज बुझ्न सघाउँछ भन्ने मेरो ठम्याइ छ।
मैले कार्यक्षेत्र बनाएको वीरगन्ज देशको प्रमुख नाका हो। यसलाई आर्थिक राजधानी पनि भनिन्छ। वीरगन्ज बुझ्न म केही विषयमा प्रस्ट हुन चाहन्थें। जस्तै- त्यहाँ औपचारिक र अनौपचारिक आर्थिक कारोबार कसरी भइरहेका छन्? त्यसमा संलग्न अनुहार कस्ता छन्? तिनलाई प्रोत्साहन गर्ने को को छन्? ती अनुहार हौसिंदै गएका छन् कि हतोत्साहित भइरहेछन्?
यिनै प्रश्नको जवाफ खोज्ने क्रममा ‘तस्करी : वीरगन्जको त्रासदी’ रिपोर्ट तयार भएको हो।
मैले वीरगन्जको भन्सार कार्यालयमा हुने तस्करीबारे खोज गरेको थिएँ। भन्सार कार्यालयका कर्मचारीको व्यवहारकै कारण मैले त्यहाँ केही गडबडी छ भन्ने अनुमान गरेको थिएँ। भन्सार प्रमुखलाई कर्मचारीहरू चाकरीको भाषामा ‘चीफ साहेब’ भन्थे। बढी मूल्यको सामानलाई कम मूल्यको बनाएर भन्सार घटाइदिने, कम परिमाणको देखाएर बढी परिमाणको सामान भित्र्याउने जस्ता काम भन्सारका कर्मचारी गर्छन् र त्यस बापत कमिशन लिन्छन् भन्ने सुनिन्थ्यो। कतिसम्म भने हरेक दिन उठेको राजस्वको १० प्रतिशत भन्सारका कर्मचारीको खल्तीमा जान्छ भनिन्थ्यो। यस्तो अभ्यासले देशको राजस्व प्रणालीमै असर पारिरहेको थियो।
तस्करीको यो जालो पुष्टि गर्न वीरगन्जमा तस्करी पहिला कसरी भइरहेको थियो र अहिले कसरी हुँदै छ भनेर हेर्नुपर्ने थियो। त्यो थाहा पाउन भन्सार कार्यालय र सीमावारिका बजारहरूमा गएर निरीक्षण गरें। सीमापारिका व्यापारीले त्यहाँबाट सामान लिएपछि कसरी भन्सार कटाइन्छ भन्ने सूचना दिए। सामान बोक्ने ट्रान्सपोर्टका मानिस र पुराना पत्रपत्रिकाबाट पनि केही सूचना संकलन गरें। भन्सार कार्यालयका कर्मचारी र व्यापारीहरूसँग कुराकानी गरेपछि त्यहाँको तस्करीको जालोबारे धेरै तथ्य थाहा पाइयो।
त्यस्तै, भन्सार कार्यालयकै तथ्यांकहरूले पनि प्रमाणको काम गरे। कति सामान कुन दरमा आए भन्ने सूची त्यहाँ थियो। त्यसरी उल्लिखित मूल्य बजार मूल्यसँग तुलना गर्न काम लाग्यो। एउटै सामग्री फरक फरक व्यापारीले मगाउँदा किन मूल्य फरक भयो भनेर खोज्न सकियो। त्यस्तै, बिहान र राति पोकोमा सामान बोक्नेहरूसँग कुराकानी गर्दा पनि धेरै सूचना जम्मा भए। उनीहरूले गर्ने कामलाई त्यति वेला ‘पोके तस्करी’ भनिन्थ्यो।
आफ्नो स्थलगत निरीक्षण र विभिन्न स्रोतसँगको कुराकानीपछि स्टोरीको खाका तयार पार्न थालें। यो स्टोरी पढेपछि पाठकले आफै बेथिति र अनियमितता भएको थाहा पाऊन् भन्ने तरीकाले काम गरेको थिएँ।
अन्ततः रिपोर्ट छापियो जसले वीरगन्जमा तस्करी कसरी हुन्छ, त्यसमा भन्सारका कर्मचारी, प्रहरी, पत्रकार र व्यापारीले कसरी काम गर्छन् भन्ने तथ्य प्रमाण सहित उजागर गरेको थियो।
यो रिपोर्ट छापिएपछि धेरै किसिमका प्रतिक्रिया आए। त्यसमध्ये एउटा अझै याद छ। भन्सार सेवा महासंघको अध्यक्ष काशीराज उपाध्याय हुनुहुन्थ्यो। उहाँकी श्रीमतीलाई म दिदी भन्थें। उहाँको घरमा आउजाउ हुन्थ्यो। त्यो विश्वासले गर्दा उपाध्यायले मलाई चुनौती दिनुभएको थियो, “मैले भनेको लेख्न सक्ने आँट छ? छाप्न सक्नुहुन्छ?”
त्यति वेला धेरै पत्रकारले सूचना लिए पनि नलेख्ने भएकाले उहाँले त्यस्तो चुनौती दिनुभएको थियो। बार्गेनिङ गर्ने पत्रकार धेरै थिए। मैले ‘छाप्न सक्छु’ भनेपछि उहाँले सूचना दिनुभएको थियो। तर स्टोरी छापिएपछि व्यापारी र भन्सारका कर्मचारीले उहाँलाई किन यस्तो बोलेको भनेर दबाब दिए। अध्यक्ष जस्तो मान्छेले त्यस्तो बोलेको भनेर उहाँलाई चौतर्फी दबाब आयो। उहाँकी श्रीमतीले त ‘भाइ बनेर धोका दिनुभयो’ भनेर आरोप लगाउनुभयो। उपाध्यायले समाचार खण्डन गर्न आग्रह गर्नुभएको थियो। तर मसँग उहाँले बोलेको प्रमाण थियो। आफूले सबै तथ्य-प्रमाण जुटाएर लेखेको समाचार झूट हो भन्नु ‘सुसाइड’ गरे जस्तो हुन्थ्यो। मैले ‘खण्डन गर्न सक्दिनँ’ भनें।
त्यस्तै, तस्करी गरेर पैसा कमाउने र त्यो पैसाको केही हिस्सा सामाजिक कार्यमा लगाउनेहरूबाट पनि दबाब आएको थियो। उनीहरूले ‘वीरगन्जको नाम खराब गर्नु भो’ भनेर स्टोरी खण्डन गर्न भनेका थिए। मैले ‘नाम खराब गर्न होइन, सुधार्न सहयोग गर्छ’ भनेको थिएँ। आखिर अवास्तविक त लेखिएको थिएन। त्यहाँ भइरहेको तस्करी र त्यसमा संलग्न उजागर गर्ने काम मात्रै मैले गरेको थिएँ। त्यसैले मलाई उनीहरूको दबाब र प्रतिक्रियाले खासै फरक परेन।
समाचार छापिइसकेपछि नीतिगत तहमा भने केही न केही प्रभाव पारे झैं लाग्छ। केन्द्रबाट भन्सार विभागका महानिर्देशकले भ्रमण गरेका थिए। त्यसपछिका वर्षहरूमा भन्सारका बिलिङ सिस्टम अत्याधुनिक बनाइए। जनशक्ति थपियो, तैपनि तस्करी भइरहेको गुनासो आइरहन्छ।
बिट बनाइनुपर्छ बोर्डरल्यान्ड
बोर्डरल्यान्ड रिपोर्टिङ भन्नासाथ वन्यजन्तु तस्करी, लागूऔषध तस्करी, संगठित अपराध र सीमा विवाद जस्ता विषय बढी आउँछन्। सीमाका विविध पाटोबारे समाचार आउँदैनन्। तर सीमामा यी बाहेक अन्य पनि विषय छन्।
भारत र नेपाल दुवैतिर सीमारक्षाका लागि तोकिएका सुरक्षा जनशक्ति परिचालन भएका छन्। सीमा व्यवस्थापन सम्बन्धी कानून फेरिएको छ। सीमा सम्बन्धी प्राथमिकता पनि फेरिइरहेछन्। साथै, सीमा क्षेत्रमा ‘कनेक्टिभिटी’ बढ्दै गएको छ। तर यस्ता विषयमा खासै समाचार आएका छैनन्।
भारत वा नेपाल सरकारले सीमालाई हेर्ने दृष्टिकोण, सीमा सम्बन्धी कानून, तिनको कार्यान्वयन, तिनले आममानिसलाई पारेको प्रभाव जस्ता विषयमा खासै समाचार लेखिएका छैनन्।
त्यस्तै, भारतसँगको सीमा सम्बन्ध पनि सबैतिर उस्तै छैन। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किम गरी भारतका पाँच प्रदेशमा नेपालको सीमा जोडिएको छ। यी पाँच प्रदेशमा नेपाल र भारतबीच आवागमन, पारस्परिक सम्बन्ध र आर्थिक दिनचर्या एकै खालको छैन।
नेपाल र भारतबीच खुला सीमाना छ भनिन्छ, तर आवागमन किन नियन्त्रित छ? भारतले तुइन काटेकैले किन नेपाली जनता अनाहकमा मारिनुपर्छ? दार्चुला र धार्चुलाबीचमा के-कस्ता फरक छन्? त्यसैगरी, नेपाल र भारतको बीचमा पासपोर्ट चाहिंदैन, तर काँकडभिट्टा नाका पार गर्न किन परिचयपत्र मागिन्छ? किन निश्चित समयमा मात्र आवतजावत गर्न पाइन्छ? यस्ता गतिविधिले दुवैतिरका जनतालाई के-कस्तो असर पारिरहेको छ? त्यस्तै, सीमा वारपारका मानिसहरूको धार्मिक र सांस्कृतिक सम्बन्धमा परिवर्तन छ कि छैन? छ भने कस्तो छ?
यस्ता धेरै विषयबारे रिपोर्टिङ नै भएको छैन। अर्कातर्फ, भारतसँग मात्र नभई चीनसँग पनि हाम्रो सीमा जोडिएको छ। उत्तरी सीमाको सम्बन्धमा पनि खासै रिपोर्टिङ भएको पाइँदैन।
सीमा सम्बन्धी लेख्नुपर्ने दर्जनौं विषय लेखिएका छैनन्। प्रकाशित समाचार पनि एकै खालका छन्। यसको मूल कारण नेपाली सञ्चारमाध्यमको सीमितता हो। धेरै सञ्चारगृहले सिमानामा रिपोर्टर नै राखेका छैनन्। सीमामा बसेर काम गर्ने रिपोर्टरले पनि सीमिततामा काम गरिरहेछन्। सीमा क्षेत्रमा भइरहेका गतिविधिमा हाम्रा पत्रकारहरूको पहुँच छैन।
सीमा सम्बन्धी यस्ता विषय समेट्न मिडियाले बोर्डरल्यान्ड बिट बनाउनुपर्छ। साथै, काठमाडौंका मिडिया आफ्ना रिपोर्टरले पठाएको समाचारलाई प्राथमिकता दिने विषयमा संवेदनशील हुन जरूरी छ। सीमित स्रोतसाधनका बावजूद काम गरिरहेका संवाददातालाई सञ्चारगृहले अवधारणागत रूपमा स्पष्ट बनाउन जरूरी छ। सञ्चारगृहले संवाददातालाई के-कसरी काम गर्न सकिन्छ भनेर ‘इस्यू’ दिने हो भने पनि धेरै सरोकार उजागर हुन सक्छन्।
अर्कातर्फ, सीमाबारे अहिले भइरहेको रिपोर्टिङ पनि स्थानीय किसिमको छ। तर बोर्डरल्यान्ड बिट बृहत् हुन्छ जसले सिमाना नजिकका बासिन्दाको समस्यासँगै राष्ट्रिय सुरक्षा, सीमाको कानून, सीमा अतिक्रमण, सीमा वारपारका बस्तीबीचको द्वन्द्व, सीमा क्षेत्रमा विभिन्न समूहले गरेको लगानी र त्यसको स्वार्थ आदि विषय समेट्छ। बोर्डरल्यान्ड रिपोर्टिङ भनेको दुई देशको पारस्परिकता, आबद्धता र भिन्नता पनि हो। त्यसैले यसलाई बिटकै रूपमा लैजाँदा राष्ट्रिय सुरक्षा, राष्ट्रिय अर्थतन्त्र, सामाजिक प्रभावकारिता लगायत पक्षलाई बलियो बनाउँछ।
त्यस्तै, हाम्रा सञ्चारमाध्यममा दक्षिणी सीमाका मात्र धेरै समाचार आउँछन्। उत्तरी सीमामा जनसंख्या थोरै भयो भन्दैमा त्यस क्षेत्रको समाचार नलेख्ने भन्ने हुँदैन। उत्तरतर्फको कुनै सीमानाका बन्द हुँदा कहाँ-कहाँ अप्ठ्यारो पर्छ भन्ने समेत लेखिएको छैन। हामी कतै एकोहोरिएका त छैनौं? उत्तरी सीमाबारे कम लेखेका त होइनौं? भौगोलिक अवस्था, रिपोर्टरको सीमितता अथवा भूराजनीतिक कारणले पो हामीले उत्तरतिरका सीमाको समाचार नलेखेका हौं कि!
मैले रिपोर्टिङ शुरू गर्दा यस्ता धेरै विषय उजागर भइसकेका थिएनन्। सीमाबारे संवेदनशीलता पनि धेरै थिएन। बोर्डरल्यान्ड बिटमा बृहत् ढंगले पत्रकारिता हुन्छ भन्ने सोचिएको थिएन। त्यो वेला बोर्डरल्यान्ड शब्दलाई नेपालीमा अभिव्यक्त गर्ने शब्दको खाँचो थियो। त्यसैले मैले ‘सीमाञ्चल’ भनेर ‘क्वाइन’ गरें। मैले लेख्न थालेपछि अरू मिडियाले पनि सीमाञ्चल शब्द प्रयोग गर्न थाले। सीमाञ्चल शब्दले सीमा वारपार लामो समयदेखि जनजीविका र परम्परागत सम्बन्धले एकै जस्तो भएर बसेको समुदायलाई जनाउँछ।
सीमाबारे फरक हुन्छ दृष्टिकोण
एक पटक मेरा एक मित्र आदित्यनारायण कसौधनले रुपन्देहीको मर्चवारको दक्षिणी सीमा मिचिएको विषय उठाउनुभयो। त्यहाँ छानबिन गर्न पुगेको संसदीय टोलीका एक सांसदले ‘नेपालको सिमाना यहाँबाट टुंगिन्छ’ भन्नुभयो। तर त्यहाँ हलो जोतिरहेका एक किसानले भन्नुभयो, “नेपालको सिमाना यहाँबाट टुंगिने होइन, शुरू हुन्छ।”
यो दृष्टिकोणको फरक हो। केन्द्र सरकार र स्थानीय बासिन्दाले सिमानालाई हेर्ने दृष्टिकोण फरक छ। सीमावारि र पारिको सम्बन्ध हेरेर राष्ट्रियता समाप्त पारियो भन्न मिल्दैन। देशबीचका सीमा राजनीतिक हुन्। सबैका लागि यी सीमाले एउटै अर्थ दिंदैनन्। राजनीतिक रूपमा सिमाना कोरिनुअघि पनि त्यहाँ मानिस बस्थे। अहिलेको सिमाना वारपार बस्ने मानिसबीच विगतमा सहज आवतजावत हुन्थ्यो। उनीहरूबीच पारिवारिक र सांस्कृतिक सम्बन्ध थियो।
वीरगन्जको मान्छे रक्सौल गइरहेको हुन्छ, भारत गइरहेको हुँदैन, किनकि त्यो जोडिएको बस्ती हो। तर आधुनिक राज्यमा दुई केन्द्रले सीमा वारपारको सम्बन्ध निर्धारण गरिरहेको हुन्छ। त्यसैले सिमानाबारे केन्द्र र स्थानीय जनताबीच फरक धारणा रहिरहन्छ। कहिलेकाहीं काठमाडौंमा बस्नेहरूले सिमानामा काँडेतार लगाउनुपर्छ भन्छन्। तर उनीहरूले आज कर्णाली पछाडि पर्नुको एउटा कारण उत्तरतिरको सहज आवागमन नियन्त्रण भएकाले पनि हो भन्ने बिर्सन्छन्।
सिमानाको सन्दर्भमा नेपाली मिडियाको बुझाइ अपुरो, अस्पष्ट छ भने धेरै हदसम्म भूराजनीतिक चेपुवामा पनि परेको छ।
सीमाको रिपोर्टिङ संवेदनशील हुन्छ। गम्भीरतापूर्वक रिपोर्टिङ भएन भने दुई देशबीचको सम्बन्ध बिग्रन सक्छ। दुई देशको सम्बन्धमा उतारचढाव आउँदा दुःख पाउने पनि सीमाञ्चलकै मानिस हुन्। स्थानीय मनोविज्ञान, परम्परा र सूचनालाई नजरअन्दाज गरेर लेखिएका समाचारले सीमा क्षेत्रका स्थानीयलाई समेत असर पार्ने गरेका छन्।
त्यसैले बोर्डरल्यान्ड रिपोर्टिङ आफैमा आर्थिक, राजनीतिक र कूटनीतिक रिपोर्टिङ हो। तर हाम्रो मिडियामा कन्टेन्टको प्रस्तुतिमा असन्तुलन छ। त्यो असन्तुलनको पछाडि भूराजनीति छ। नेपाली मिडियामा प्रकाशन हुने धेरैजसो समाचारमा सूचनाको प्राथमिकीकरण राष्ट्रवादको कोणबाट गर्ने गरिएको छ। यथार्थ के छ र हुनुपर्ने के हो भन्ने निकै कम लेखिन्छ।
सीमाञ्चलबारे निकै कम मानिस मात्र जानकार छन्। तर सीमामा नपुगेको/नबसेको मानिस सीमाविद् कहलिएको समेत देखिएको छ। उनीहरूलाई सीमाञ्चल क्षेत्रका बासिन्दाको मनोविज्ञान फेरिंदै गएको थाहा छैन। त्यसकारण बोर्डरल्यान्डलाई बिटका रूपमा विकास गराउनुपर्छ। यसो गरियो भने मात्रै सीमाञ्चल क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक र कूटनीतिक पाटोबारे मिहिन ढंगले समाचार आउँछ।
(पत्रकार चन्द्रकिशोरसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित। सम्पादन : लक्ष्मण श्रेष्ठ, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :